व्यवसायीद्वारा सुरक्षा माग

व्यापारी हत्या प्रकरण
९० हजार रुपैयाँका लागि हत्या
गौरीगन्जमा बढयो आपराधिक गतिविधि
अर्जुन राजवंशी

गौरीगन्ज, झापा — नेपाल–भारत सीमा क्षेत्रमा हत्या, अपहरण, लागूपदार्थ कारोबारलगायत आपराधिक गतिविधि बढेको भन्दै सीमावर्ती बजारका व्यवसायीले सुरक्षा व्यवस्था कडा गर्न माग गरेका छन् ।

व्यवसायीद्वारा सुरक्षा माग

जिल्लाको दक्षिण–पश्चिम गौरीगन्ज र खजुरगाछीका व्यवसायीले आपराधिक घटना वृद्धि भएकाले आफूहरू असुरक्षित भएको बताए । उनीहरूले सीमावर्ती बजार भएकाले विशेष सुरक्षा मागसमेत गरेका छन् ।


गौरीगन्ज गाउँपालिका ६ सीमा क्षेत्रनजिकै सोमबार साँझ दमक नगरपालिकाका कपडा व्यापारी खेमराज पौडेलको हत्या गरिएको थियो । व्यवसायीले खुला सीमा नाकाका कारण लागूऔषध प्रयोगकर्ताको खुलेआम आवतजावत र हत्या गरेर भारत पस्ने अवस्थाका कारण आफूहरू असुरक्षित भएको बताएका छन् ।


झापा उद्योग वाणिज्य संघ शाखा गौरीगन्जका अध्यक्ष मखना महतोले लगातारको आपराधिक क्रियाकलापले स्थानीयवासी र व्यापारी त्रसित बनेको बताए । उनले गौरीगन्जको सीमाक्षेत्र आपराधिक क्रियाकलापका लागि सुरक्षित स्थान बन्दै गएकामा चिन्ता व्यक्त गरे । गौरीगन्ज ३ का अध्यक्षसमेत रहेका महतोले स्थानीय प्रशासनले अन्य ग्रामीण हाटभन्दा विशेष खालको सुरक्षा रणनीति अपनाउन जरुरी रहेको बताए । गौरीगन्ज बजार क्षेत्रमा तीन साताअघि एक भारतीय युवकले एक बालकलाई बन्धक बनाएर हत्या प्रयास गरेका थिए ।


लागूपदार्थ प्रयोग गरेर आएका भारत विहार किसनगन्ज जिल्ला दिगलबैंक गाउँ पञ्चायतका २५ वर्षीय ओमप्रसाद सिंहले स्थानीय १० वर्षीय सुजन ताजपुरियालाई दिउँसै एक घरमा बन्धक बनाएर हत्या प्रयास गरेका हुन् । घाँटीमा चक्कु राखेर बन्धक बनाएका कारण बालकको घाँटी र हातका औंलामा चोट लागेको थियो । ३ वर्षअघि पनि गौरीगन्जस्थित सीमा क्षेत्रमै तत्कालीन जुरोपानी गाविसका भाइकाजी अधिकारीको हत्या गरेर शव फालिएको थियो ।


‘हत्याजन्य घटनाले यो क्षेत्र पूर्णरूपमा असुरक्षित रहेको आभास हुन थालेको छ,’ गौरीगन्जका कपडा व्यवसायी शोभाकान्त दासले भने, ‘यो अवस्था स्थानीय र व्यापारीका लागि निकै दु:खद् हो । पछिल्लो हत्याकाण्डले गौरीगन्जभन्दा बाहिरका व्यापारसँग प्रत्यक्ष असर परेको छ ।’


उनले दमकका व्यवसायी पौडेलको हत्या गौरीगन्जका व्यापारीले नै गरेकाले गौरीगन्जप्रतिको मानसिकता नकारात्मक बनेको उनले बताए । व्यवसायी गंगाप्रसाद राजवंशीले लागूपदार्थ प्रयोगकर्ताको नयाँ नाकाका रूपमा गौरीगन्ज विकास भएको जनाए । उनले धरान, विराटनगरलगायतका युवाले गौरीगन्जलाई लागूऔषध उपलब्ध हुने नाकाका रूपमा लिन थालेको बताए ।


गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले सम्बन्धित निकायले ध्यान नदिँदा गौरीगन्जको सुरक्षा व्यवस्था कमजोर बनेको टिप्पणी गरे । उनले आपराधिक गतिविधिका लागि गौरीगन्ज ‘ट्रान्जिट’ बन्नु दु:खद् भएको बताए । श्रेष्ठले पौडेलको हत्याले व्यवसायीमात्र नभई सबै त्रसित बनेको बताए । ‘खुलेआम अवस्थामा व्यवसायीको हत्या हुनुले सबैलाई त्रसिद बनाएको छ,’ उनले भने, ‘यसले हामी कति सुरक्षित छौं र यहाँको अवस्था कस्तो छ भन्ने स्पष्ट भयो छ ।’


उनले गौरीगन्ज खुला सिमानामा भएको सीमावर्ती बजार हुँदा सुरक्षा निकायले यहाँको सुरक्षा व्यवस्थामा विशेष ध्यान र रणनीति अपनाउन जरुरी रहेको बताए । गौरीगन्ज बजारदेखि भारतीय सीमाक्षेत्र ७ किलोमिटर र नजिकैको खजुरगाछीदेखि सीमाक्षेत्र ४ किलोमिटर दूरीमा छ । सशस्त्र प्रहरी बलको सीमा सुरक्षापोस्ट सीमा नाकादेखि ५ किलोमिटर उत्तर छ ।


९० हजारले ज्यान गयो
प्रहरी नियन्त्रणमा रहेका गौरीगन्ज गाउँपालिका ६ का २८ वर्षीय सद्दाम हुसेनले दमकका व्यवसायी खेमराजको हत्या गरेको स्विकारेका छन् । जिल्ला प्रहरीले सद्दामले हत्या स्विकारेको भन्दै उनलाई सार्वजनिक गरेको छ ।


जिल्ला प्रहरी प्रमुख भीमप्रसाद ढकालले हुसेनले पौडेललाई तिर्न बाँकी ९० हजार ५ सय रुपैयाँका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । कमल गाउँपालिका ६ मंगलबारे निवासी ३८ वर्षीय पौडेलले दमक ६ मा राजदीप इन्टरप्राइजेज फर्मबाट कपडाको होलसेल पसल सञ्चालन गरेका थिए ।


सद्दामले उनको पसलबाट बाँकीमा कपडा उठाएर गौरीगन्ज, गौरादह, खजुरगाछी क्षेत्रमा बेच्ने गरेका थिए । पछिल्लो समय हुसेनले बाँकी उठाएको एक लाखको कपडाको ९० हजार ५ सय रुपैयाँ तिर्न बाँकी थियो । साप्ताहिक ताकेता गर्ने क्रममा ३ महिनाअघि पैसा कम्ती दिएकाले पौडेलले हुसेनलाई बजारमा पसल थापेकै स्थानमा पैसा कम भयो भन्दै हप्काएका थिए । हुसेनले सार्वजनिक स्थानमा आफ्नो बेइज्जत गरेको रिसमा पौडेलको हत्या गरेको प्रहरीसितको बयानमा भनेका छन् ।


बजार बन्द
व्यवसायी पौडेलको हत्या विरोधमा गौरीगन्जका व्यवसायीले बिहीबार पसल बन्द गरे । हत्याको विरोध तथा श्रद्धाञ्जलीस्वरूप बजार बन्द गरेको वाणिज्य संघका अध्यक्ष महतोले बताए । संघको आह्वानमा गौरीगन्ज र खजुरगाछी बजारका करिब २ सय ५० पसल बन्द रहे । यस्तै पौडेलको हत्या विरोधमा दमकका व्यापारीले मौन जुलुस प्रदर्शन गरेका छन् ।

प्रकाशित : भाद्र २९, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?