कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खानीगाउँका ४० घर विस्थापित

हरिराम उप्रेती

गोरखा — धार्चे गाउँपालिका ७, लापुको खानीगाउँमा पहिरो त्रासले ४० घरधुरी विस्थापित भएका छन् । लगातारको वर्षासँगै बस्तीको माथिबाट पहिरो चल्नुका साथै जमिन चिरा पर्न थालेपछि गाउँले डराएर सुरक्षित ठाउँमा सरेका हुन् ।

खानीगाउँका ४० घर विस्थापित

‘तीन साता भयो, नजिकैको चौरमा पाल टाँगेर सुत्न थालेका छौं,’ स्थानीय सचिन गुरुङले भने । गाउँ नजिकैको दुङसुङ खोलामा आएको बाढीले बस्ती क्षेत्र कटान गर्न थालेको उनले बताए । ४० घरमध्ये १९ घर भने भासिन सुरु भएको स्थानीय चन्द्रमान गुरुङले बताए । ‘माटो माथि आउँछ, ढुंगाहरू तल दबिन थालेको छ,’ उनले भने, ‘दबिएका घरको जस्ता झिकेका छौं । माटोको घरको काठपात झिक्न सजिलो छ, सिमेन्ट घरको त त्यही काठपात पनि झिक्न सकेका छैनौं ।’

सिमेन्ट जोडाइका घर भत्काएर काठपात झिक्न अप्ठ्यारो परेको उनले बताए । ‘माटो दबिँदै गएको छ, पक्की घरभित्र छिर्न पनि डर भयो,’ उनले भने । वैकल्पिक स्थानमा बसोबासका लागि सरकारले व्यवस्था गरिदिए पुरानो घरका काठपात प्रयोग गर्न मिल्ने भन्दै सुरक्षित राखिएको स्थानीय बताउँछन् ।

बस्ती माथिको जंगल डाँडामा ठाउँ–ठाउँमा पहिरो गएपछि स्थानीय त्रसित भएका हुन् । ‘धेरै ठाउँ भासिएको छ,’ गुरुङले भने, ‘कतिखेर पहिरो जान्छ थाहा हुँदैन । त्यही भएर स्कुल नजिकैको सम्म ठाउँमा पाल टाँगेर बसेका हौं ।’ उक्त गाउँमा ८३ घर छन् । विस्थापित भएका केही भने आफन्तका दलीन, गोठ र डेमो हाउसमा दैनिकी कटाइरहेका छन् । घरमा भएका अन्नपात र लत्ताकपडा भने सुरक्षित ठाउँमा सारिसकेको उनले बताए ।

अविरल वर्षापछि साउन पहिलो साताबाट खानीगाउँमा पहिरो जान थालेको स्थानीय बताउँछन् । बाढीसँगै दुङसुङ खोला बढेपछि करिब १० रोपनीमा लगाइएको अलैंची खेती बगाएको गुरुङले बताए । ‘गाउँभन्दा माथिको करिब २ रोपनी अलैंची पहिरोले पुर्‍यो, गाउँभन्दा यताको अलैंची पनि बगायो,’ उनले भने । अविरल वर्षाले स्थानीयलाई मकै भण्डारणमा पनि समस्या परेको छ । ‘घर छाडेर हिँड्नुपर्‍यो, राख्ने ठाउँ नभएर मकै भाँचेर बारीमा छाड्यौं । अहिले ओस लागेर बिग्रन थालेको छ,’ उनले भने । वर्षभरि खाने मकै सुरक्षित राख्न नसक्दा गाउँले चिन्तित भएको उनले बताए ।

खानीगाउँबाट डेढ घण्टा पैदल दूरीको लापुस्थित कालरात्रि माविमा पढ्न ४० विद्यार्थी जाने गरेका छन् । पहिरोले मूलबाटो भासिएपछि विद्यार्थीलाई स्कुल आउजाउमा पनि समस्या भएको छ । केहीलाई अभिभावकले डेरा खोजेर उतै राखेका छन्, केहीले डेरा नपाएपछि कक्षा छुटेको छ । लाप्राक, गुम्दा र यमगाउँ जाने पैदलमार्गको ठाउँ–ठाउँमा पहिरो गएपछि गाउँले आत्तिएका छन् ।

प्रकाशित : भाद्र २९, २०७५ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?