२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप : सप्तरीको कञ्चनरुप नगरपालिका विपत् क्षेत्र घोषणा

विद्यालय तीनदिन बन्द
अवधेशकुमार झा

राजविराज — स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका क्षेत्रलाई शुक्रबारदेखि विपत् क्षेत्र घोषणा गरिएको छ । 

स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप : सप्तरीको कञ्चनरुप नगरपालिका विपत् क्षेत्र घोषणा

नगर कार्यपालिकाको बिहीबार बसेको आकस्मिक बैठकले प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि नगरपालिका क्षेत्रलाई विपत् क्षेत्र घोषणा गर्ने निर्णय गरेको नगर प्रमुख बसन्त मिश्रले बताए ।


पछिल्लो तीन हप्तादेखी कञ्चनरुप नगरपालिका क्षेत्रमा फैलिएको स्वाइन फ्लू र हङकङ फ्लूका कारण तीन बालकसहित चारजनाको मृत्यु भएको छ भने १७ सयभन्दा बढी बिरामी छन् । भारतको झारखण्डस्थित देवघर जिल्लामा रहेको प्रसिद्ध बाबाधामबाट तिर्थयात्रा गरेर फर्केकाहरुबाट फ्लू सरेर आएको विज्ञहरुले बताएका छन् ।


ज्वरो आउने, खोकी लागेर सुरुमा तीन बालबालिकाको मृत्यु भएको र पछि एक वृद्ध महिलाको समेत सोही लक्षणले मृत्यु भएपछि स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामी मध्ये १० जनाको र्‍याल परिक्षणका लागि केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको थियो । परिक्षणका क्रममा केही नमुनामा स्वाइन फ्लूको जिवााणु फेला परेपछि कञ्चनरुप नगरपालिका क्षेत्रका उच्च सर्तकता अपनाउँदै विपत् क्षेत्र घोषणा गरिएको हो ।

नगर कार्यपालिकाले आगामी मंगलबारसम्मका लागि नगरपालिका क्षेत्रमा रहेका सबै विद्यालय बन्द गर्न समेत निर्देशन दिएको छ । विद्यालयमा एकै स्थानमा बढी विद्यार्थीहरु जम्मा हुने भएको र त्यहाँ फ्लू सर्न सक्ने सम्भावना रहेकाले मंगलबारसम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख मिश्रले जानकारी दिए । उनका अनुसार अहिले हरेक वडामा ‘डोर टु डोर’ स्वास्थ्यकर्मी परिचालन गरी उपचार भइरहेको छ ।


यसैबीच बिहीबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले फ्लू प्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सक र औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने निर्णय गरेको समिति संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।


भारतबाट फ्लू सरेर आएको हुनाले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने शंकास्पद बिरामीहरुका बारेमा उच्च सर्तकता अपनाउने, कुनौली सीमामा हेल्थ डेस्क स्थापना गर्ने, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरी विशेषज्ञ, औषधी र मास्कको व्यवस्थापन गर्ने निर्णय समेत विपत् व्यवस्थापन समितिले गरेको छ । ग्रामिण क्षेत्रमा रहेको निजी स्वास्थ्य क्लिनकहरु र औषधि पसलहरुमा फ्लूको लक्षण देखिएका बिरामी आए तत्काल सुविधा समपन्न स्वास्थ्य संस्थामा रेफर गर्न समेत जिल्ला विपत् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

यस्तै सप्तकोसी नदीको बाढीबाट पीडित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा फैलिएको इन्फलुएन्जा नियन्त्रणमा रहेको उक्त नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सिअहेब रामदेव यादवले जानकारी दिए । उनका अनुसार नगरपालिकाको १२ नम्बर वडाका १ सय ३७ जना बिरामी छन् । त्यहाँका ६ जनाको र्‍याल परिक्षणका लागि केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको पाँचजनामा इन्फलुएन्जाको जिवाणु फेला परेको थियो ।


प्रकाशित : भाद्र २९, २०७५ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?