२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

उडान थालेको २१ दिनमै निगमको वाइडबडी विमान 'ग्राउन्डेड'

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमको एयरबस ३३० वाइडबडी विमानमा डेन्ट (कुच्चिएको) भेटिएपछि ग्राउन्डेड भएको छ । व्यवसायिक उडान सुरु गरेको २१ औं दिनमै विमान ग्राउन्डेड भएको हो । वाइडबडी ग्राउन्डेड भएको यो पहिलो घटना हो । नेपाली नाम मकालु दिइएको यस विमानको कार्गो राखिने ढोकामा डेन्ट भेटिएपछि जहाज ग्राउन्डेड भएको निगमका एक उच्च अधिकारीले कान्तिपुरलाई बताए । 

उडान थालेको २१ दिनमै निगमको वाइडबडी विमान 'ग्राउन्डेड'

बिहीबार बिहान दिल्लीबाट काठमाडौं आइपुगेको विमानमा इन्जिनियरहरुले निरीक्षण (पोष्ट ल्याण्डिङ चेकअप) गर्दा कार्गोको ढोकामा डेन्ट देखेका थिए । ‘कार्गोको ढोका कुच्चिएको छ,’ स्रोतले भन्यो, ‘काठमाडौंमा भएको हो वा दिल्लीमा छानविन हुँदै छ । पत्ता लागेको छैन ।’ यो निगमसँग भएका वाइडबडी मध्येको दोस्रो विमान हो । निगमको कमर्सियल विभागका एक अधिकारीका अनुसार यस्तो अवस्थामा निगमले विमान मर्मत गरेर उडाउन मिल्दैन । ‘एयरबससँग इमेलमार्फत संवाद भइरहेको छ,' ती अधिकारीले भने, ‘मर्मत निर्देशिकाको नियमले निर्देश गरे अनुसार कार्गोको ढोकामा कुच्चिएको भाग मर्मत गरेर मात्रै उडाउने छौं ।’


शुक्रबार निगमले दिल्लीका लागि आइतबार र बुधबारमा जस्तै बिहान र बेलुकी गरी दुईटा उडान गर्दै आएको छ । यस वाइडबडीको विमानको शुक्रबार बिहान काठमाडौंबाट दिल्लीकालागि आरए २०५ नम्बरको उडान थियो । तर, निगमले यो विमान ग्राउन्डेड भएकाले बोइङ ७५७ मा एयरबसका यात्रु राखेर उडायो । त्यसैगरी बेलुकीको आरए २१७ नम्बरको उडान पनि यसले गर्न नसक्ने भएपछि निगमले बैंककबाट फर्किँदै गरेको अर्को वाइडबडी विमानबाट गराउने तालिका राखिएको छ ।


‘अर्को जहाज बैंककबाट ६ बजे हाराहारी काठमाडौं अवतरण गर्ने समयतालिका छ । यता अवतरण भएको दुई घन्टापछि दिल्लीका लागि चेक–इन गरिएका यात्रुलाई पठाउदै छौं,’ विमानस्थलस्थित निगम स्रोतले भन्यो । शुक्रबार बेलुकी ५ बजे दिल्लीका लागि हुनुपर्ने उडानमा जहाज अभाव भएपछि निगमले आफ्ना यात्रुहरुलाई रेष्टुरेन्टमा राखेको छ । ‘दुई घन्टाभन्दा बढी समय डिले हुने भएपछि यात्रुहरुलाई खाजा खुवाउनुपर्ने नियम भएकाले रेष्टुरेन्टमा पठाउदै छौं,’स्रोतले भन्यो ।

पहिलो कमर्सियल उडान भदौं ८ गते काठमाडौंबाट बैंकक गरेको यो विमान निगमले फ्रान्सको टुलुजबाट साउन १० गते काठमाडौं ल्याइएको थियो । बिहीबार दिल्लीको उडानमा पाइलटहरू यार कमल, महेश्वरमान डंगोल र अमूल्यरत्न शाक्य थिए । निगमको पहिलो वाइडबडी एयरबस अन्नपूर्ण असार १४ गते काठमाडौंमा आइपुगेको थियो । निगमसँग एयरबसका दुईटा न्यरोबडी ३२० जहाज पनि छन् । तर, यीमध्ये सगरमाथा नाम दिइएको जहाजमा चरा ठोक्किएपछि ८ दिनदेखि ग्राउन्डेड छ ।


दुईटा जेट विमान ग्राउन्डेड भएपछि तीनवटा विमानमार्फत निगमले उडान गर्दै आएका ८ वटा गन्तव्यको उडान मिलाउन व्यवस्थापनलाई चुनौती भएको छ । ‘जहाज नभएपछि शुक्रबार रातिको दुबई उडान शनिबार दिउँसोका लागि डिले गरेका छौं,’ सम्बद्ध स्रोतले कान्तिपुरलाई भन्यो । दुबईको उडान डिले हुने भएपछि कतिपय यात्रुहरुलाई खबर गरिएको तर, विमानस्थलमा चेक–इन हुने यात्रुलाई निगमले काठमाडौं र दुबईमा शनिबारसम्म होटलमा राख्नुपर्ने छ ।

प्रकाशित : भाद्र २९, २०७५ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?