२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

किशोरी हत्या प्रकरण : अनुसन्धान जहाँको त्यहीँ, तीन टोली खटिए पनि प्रगति देखिएन

भवानी भट्ट

कञ्चनपुर — निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा खटिएको प्रहरी टोली अझै अलमलमै देखिन्छ । तत्कालीन एसपी डिल्ली विष्टसहितका अधिकारीलाई काठमाडौं झिकाएपछि आएका नयाँ एसपी कुबेर कडायतको टोलीले पनि अनुसन्धानमा खासै प्रगति गर्न सकेको छैन । 

किशोरी हत्या प्रकरण : अनुसन्धान जहाँको त्यहीँ, तीन टोली खटिए पनि प्रगति देखिएन

जिल्लामा हाजिर भएको दोस्रो दिन प्रारम्भिक चरणबाटै अनुसन्धान सुरु गरेको जानकारी दिएका एसपी कडायतले अनुसन्धानमा खासै प्रगति हुन नसकेको बताए । भदौ ८ गते जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षीय छलफलमा उनले ‘अनुसन्धान गर्ने माहोल बनाइदिए प्रहरीले काम गरेर देखाउने’ बताएका थिए तर उनले भनेजस्तो प्रगति नदेखिएको नागरिक समाजका अगुवा बताउँछन् ।


‘दुई जनाको रगतको नमुना डीएनए परीक्षणका लागि पठाएका छौं,’ उनले भने, ‘हामी अनुसन्धानमै छौं, देखिने उपलब्धि भएको छैन ।’ कडायतका अनुसार तत्कालीन एसपी विष्टका छोरा किरण र आयुष विष्टको डीएनए परीक्षणका लागि नमुना पठाइएको हो । ‘उनीहरूलाई हामीले निगरानीमा राखेका छौं,’ उनले भने, ‘थप कोही शंकास्पद देखिए उनीहरूको पनि नमुना संकलन गरिनेछ ।’ उनीहरूसँगै तत्कालीन एसपी विष्टको पनि डीएनए परीक्षणका लागि नमुना लिइएको छ ।


घटना अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयको टोलीसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रहरी हेडक्वार्टरको टोलीसमेत खटिएको छ । सीआईबीको टोली दुई सातादेखि यहीँ छ । हेडक्वार्टरको टोली भर्खरै आएको हो । ‘जति टोली आए पनि अनुसन्धान जिल्ला प्रहरी कार्यालयले नै गर्ने हो,’ कडायतले भने, ‘अन्य टोली हामीलाई सघाउन आएका हुन् ।’


प्रहरीले अहिले पनि शंकास्पद व्यक्तिहरूलाई सोधपुछ गर्ने र सूचना संकलनकै काम गरिरहेको छ । करिब डेढ सय बढीसँग आवश्यक सोधपुछ गरिसकिएको एसपी कडायतले जानकारी दिए । प्रहरीले यसअघि सार्वजनिक गरिएका दिलीप विष्टलाई दुई दिनअघि डीएनए रिपोर्ट मेल नभएर छाडेपछि अनुसन्धान साँघुरिँदै गएको बताए पनि अपराधी नजिक भने पुग्न नसकेको स्रोतले जनाएको छ । नयाँ एसपी र डीएसपी आएको २३ दिन भइसक्यो तर अनुसन्धानमा प्रगति देखिएको छैन ।


नागरिक समाजको बैठकले बिहीबार घटना अनुसन्धानका लागि दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । ज्ञापनपत्र दिने, छलफल तथा अन्तक्रिया गर्ने र भेटघाट गरेर दबाब दिनेलगायत कार्यक्रम गरेको छ । यसैगरी घटना भएकै दिनदेखि आन्दोलनमा उत्रिएका महिला पुन: आन्दोलित बनेका छन् । उनीहरूले तीजका दिनदेखि आन्दोलन सुरु गरेका हुन् ।


बिहीबारदेखि नै नेविसंघले पनि घटना अनुसन्धान माग गर्दै आन्दोलन सुरु गरेको छ । शुक्रबार जिल्लाका सरकारी कार्यालय बन्द गराउने क्रममा प्रहरीको कुटाइबाट ४ जना घाइते भएका छन् जसमध्ये लोकेन्द्र भण्डारी गम्भीर घाइते छन् । टाउकामा चोट लागेका उनको महेन्द्रनगरमा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको संघका निवर्तमान उपाध्यक्ष केशव जोशीले बताए । उनका अनुसार विक्रम बुढा, सरोज रोकाया र नरेन्द्र साउद पनि घाइते भएका छन् ।


प्रकाशित : भाद्र २९, २०७५ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?