कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

घरभाडामै आधा करोड, घर भएका जनप्रतिनिधिले समेत लिन्छन् आवास खर्च

भीमबहादुर सिंह

जाजरकोट — जिल्ला सदरमुकामसमेत रहेको भेरी नगरपालिकाले मासिक एक लाख २७ हजार रुपैयाँ घरभाडा तिर्छ । योमध्ये ५० हजार प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको आवासमा खर्च हुन्छ । त्यस्तै, पूर्वी क्षेत्रको नलगाड नगरपालिकाले पनि घरभाडामा मासिक ७५ हजार रुपैयाँ खर्च गरिरहेको छ ।

घरभाडामै आधा करोड, घर भएका जनप्रतिनिधिले समेत लिन्छन् आवास खर्च

यी मात्र होइनन्, जिल्लाका सातवटै स्थानीय तहले घरभाडामा लाखौं रुपैयाँ खर्च गरिरहेका छन् । तथ्यांकअनुसार गत आवमा यहाँका सात स्थानीय तहले ५० लाख रुपैयाँ घरभाडामा भुक्तानी गरेका थिए । जिसस उपप्रमुख ज्ञानीप्रसाद शर्मा ठूलो रकम घरभाडामा जाँदा विकासकार्य प्रभावित भएको बताउँछन् ।


‘स्थानीय तहमा पुराना संरचना नभएका र नयाँ भवन बनिनसकेकाले भाडामा लाखौं रुपैयाँ खर्च भइरहेको छ,’ उनले भने, ‘यसले विकास निर्माणमा जानुपर्ने रकम भाडामा खर्च गरिएको छ ।’ जाजरकोटमा स्थानीय तहले सरकारी संरचनामा सञ्चालन गरेका कार्यालय ५ प्रतिशत पनि नभएको उनले बताए ।


कतिपयले सम्बन्धित केन्द्रका साथै जिल्ला सदरमुकाममा समेत सम्पर्क कार्यालय सञ्चालन गरेका छन् । यसले गर्दा भाडा रकम झन् बढेको छ । शिवालय गाउँपालिकाले घरभाडाबापत मासिक ५५ हजार रुपैयाँ तिर्छ । त्योमध्ये १० हजार खलंगास्थित सम्पर्क कार्यालयका लागि हो । शिवालयले गाउँपालिका केन्द्र रहेको भवनका लागि भने मासिक १४ हजार ५ सय तिर्ने गरेको छ ।


अध्यक्ष नरेन्द्रकुमार शाहीको आवासका लागि ६ हजार ५ सय रुपैयाँ तिर्ने गरिएको छ । केन्द्र रहेको ठाउँबाट उनको घर जान करिब दुई घण्टा लाग्ने भएकाले भाडाको घरमा बस्नुपरेको लेखापाल दीपबहादुर बुढाले बताए । ‘अहिले दुईवटा वडाका मात्र आफ्नै भवन छन्,’ उनले भने, ‘भवन बनिरहेका छन्, त्यसपछि भने यस्तो अवस्था नआउला ।’


भेरी नगरपालिकाले खलंगाको थाप्लेचौरस्थित भेरी ज्ञानोदय क्याम्पस भवनमा नगर कार्यालय सञ्चालन गरेको छ । उक्त भवनको मासिक भाडा ३५ हजार रुपैयाँ छ । नगरपालिकाले नगर प्रमुख चन्द्रप्रकाश घर्तीका लागि रानागाउँमा २० हजार रुपैयाँमा घर भाडा लिएको छ ।


नगरपालिकाको वडा ६ भेरेका घर्तीको रानागाउँमा समेत आफ्नै घर छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेका लागि २५ हजार रुपैयाँ र उपप्रमुख भावना भण्डारीका लागि पाँच हजार रुपैयाँ मासिक भाडा तिर्ने गरिएको छ । लेखापाल डम्बर विष्टले नगरपालिकाका १३ वडा कार्यालयका लागि मासिक ४ हजारदेखि ६ हजारका दरले घरभाडा तिर्ने गरिएको बताए । उनका अनुसार गत आवमा घरभाडाबापत १४ लाख १० हजार रुपैयाँ तिरिएको थियो ।


स्थानीय तहले एउटै घरको २ हजारदेखि ३५ हजार रुपैयाँसम्म मासिक भाडा तिर्छन् । स्थानीय तहले प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका लागि आवास तथा कार्यालयका घर भाडामा लगेका छन् । बारेकोट गाउँपालिकाले ४२ हजार, कुशे गाउँपालिकाले ४० हजार, जुनिचाँदे गाउँपालिकाले ३६ हजार र छेडागाड नगरपालिकाले ३३ हजार रुपैयाँ मासिक घरभाडा तिर्छन् । यहाँका ७ स्थानीय तहले गत आवमा ५० लाख रुपैयाँ घरभाडामा खर्चेको तथ्यांक देखिन्छ ।


प्रकाशित : भाद्र २९, २०७५ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?