कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आन्तरिक विवादले नेकपा एकता प्रक्रिया लम्बियो

काठमाडौँ — आन्तरिक विवादका कारण नेकपामा तल्लो कमिटी र जनवर्गीय संगठनहरूको एकता प्रक्रिया लम्बिएको छ । जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रले पार्टी एकता गरे पनि जिल्ला, प्रदेश र जनवर्गीय संगठन मिलाउन सकिएको छैन । भदौ पहिलो साताभित्र सबै एकीकरण टुंग्याउने भनिएकामा यससम्बन्धी प्रस्ताव नै भद्रगोल भएपछि प्रक्रिया लम्बिएको हो ।

आन्तरिक विवादले नेकपा एकता प्रक्रिया लम्बियो

जिल्ला, प्रदेश र जनवर्गीय संगठन सबैको प्रस्ताव तयार गर्न एमाले र माओवादी केन्द्रका नेताहरू सम्मिलित छुट्टाछुट्टै कार्यदल बनाइएको थियो । तर एकीकरणपछि बन्ने कमिटीको नेतृत्वलाई लिएर अहिल्यैदेखि तीव्र विवाद छ ।


कार्यदलले विवाद मिलाउन नसकेपछि भद्रगोल अवस्थाकै प्रतिवेदन केन्द्रमा पठाइएका छन् । ती प्रतिवेदन मिलाएर यसै साता एकता टुंग्याउने भनिएको थियो । तर नेकपाको सचिवालय बैठकमा समेत सहमति जुट्न सकेन । गत बुधबार र बिहीबार बसेको सचिवालय बैठकले तत्काल सबै प्रतिवेदन टुंग्याएर एकीकरण गर्न नसकिने निष्कर्ष निकालेको छ ।


प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिवचाहिँ तत्काल तोक्नुपर्ने प्रस्ताव बैठकमा आएको थियो । सहमति जुट्न नसकेपछि यो विषय टुंगो लगाउने जिम्मेवारी अध्यक्षहरू केपी ओली र पुष्पकमल दाहाललाई दिइएको थियो । अध्यक्षहरूले बैठक बसेर कम्तीमा प्रदेश अध्यक्ष, इन्चार्ज र सचिवको टुंग्याउने भनिएको थियो । तर शुक्रबार दुई अध्यक्षबीच छलफल नै भएन । ‘अध्यक्षहरूलाई टुंगो लगाउने जिम्मेवारी दिइएको हो, उहाँहरूले नै क–कसलाई जिम्मेवारी दिने निर्णय गर्नुहुन्छ,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।


एकता प्रक्रिया अब कम्तीमा असोज दोस्रो सातासम्म धकेलिनेछ । यो बीचमा प्रमुख नेताहरू लगातार स्वदेशमा हुने छैनन् । प्रवक्ता श्रेष्ठ शुक्रबारै पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गइसकेका छन् । शनिबार अध्यक्ष पुष्पकमल दाहाल पनि राजनीतिक भेटघाटका लागि चीन नै जाँदैछन् । उनी पाँच दिनपछि फर्किनेछन् । दाहाल फर्केलगत्तै असोज ६ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदैछन् । उनी फर्केपछि मात्र एकताको काम अघि बढ्ने स्थिति छ । ‘नेताहरूको व्यस्तताका कारण एकताको सबै काम टुंगो लाग्न अझै केही समय लाग्नेछ’ प्रवक्ता श्रेष्ठले भने ।

प्रकाशित : भाद्र २९, २०७५ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?