कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कामदार किन्ने बजार

होम कार्की

यूएई — सरकारले खाडीमा घरेलु कामदार पठाउन रोके पनि भारत हुँदै अवैध बाटो जाने नेपाली महिलाको कमी छैन तर यसरी जानेहरू तस्करको जालोमा परेर त्यहाँका बजारमा बस्तुभाउ जसरी बेचिन्छन् । यूएई पुगेका महिला त्यहाँबाट इराक र सिरियासम्म पनि घरेलु कामदारका रूपमा बेचिएका हुन्छन् । मालिकले भनेअनुसार तलब नदिने र घर पनि फर्कन नमिलेपछि उनीहरू भागेर दूतावासको शरणमा पुग्छन् ।

कामदार किन्ने बजार

अजमानको लिवारास्थित शेख अब्दुुलाहविन हमाद सडकको १५ र १९ नम्बरको बीचमा एउटा बजार छ । यसलाई नेपाली कामदारहरू ‘नेपाली युवती किन्न पाइने स्थल’का रूपमा चिन्छन् । अरबीहरूचाहिँ खद्मा (घरेलु कामदार) पाइने ठाउँका रूपमा बुझ्छन् । यहाँ साँझ बढी चहलपहल हुन्छ । महँगामहँगा गाडी लिएर हाउसमेड ‘किन्न’ आउनेको ताँती नै लाग्छ ।


स्ट्रिट नम्बर १५ र १९ नम्बरमा म्यानपावर कार्यालय छन् । यी कार्यालय घरेलु कामदार आपूर्ति गर्ने पसलका रूपमा चिनिन्छन् । यस क्षेत्रमा सयभन्दा बढी म्यानपावर छन् । भदौ ११ गते साँझ ७ बजे त्यहाँ पुग्दा हरेक पसलमा घरेलु कामदारका रूपमा ल्याइएका नेपालीसहित विभिन्न देशका महिला भरिभराउ थिए । सबैभन्दा बढी अल मुटामैज, मनरा, अल वादी, अल मायस्, क्युतुवा, अल दारमा देखिन्थे । कार्यालयमा नअटेर बाहिरसमेत राखिएको थियो । केहीले बुर्का लगाएका थिए त कोही कुर्तासुरुवाल र टिसर्ट पाइन्टमा देखिन्थे ।
म्यानपावरको कार्यालयभित्र देशैपिच्छेका टेबल छन् । श्रीलंका, भारत, फिलिपिन्स, नेपाल, इथोपियाबाट घरेलु कामदार ल्याउने एजेन्टका आआफ्नै टेबल । म्यानपावर कम्पनी स्थानीय नागरिकका नाममा छ । अरबीहरू जुन देशको कामदार मन पर्छ, त्यही टेबलमा गएर डिल गरिरहेका थिए । एजेन्टसँग कुरा मिले उनीहरू सम्बन्धित महिलाको अन्तर्वार्ता लिन्छन् अनि पैसा तिरेर आफूसँगै लिएर जान्छन् ।

यूएईको अजमानस्थित म्यानपावरमा घरेलु कामदारहरू । तस्बिर : होम


अजमान ट्रान्जिट
अजमान संयुक्त अरब इमिरेट्स (यूएई) भित्रको एउटा राज्य हो । यहाँका धेरैजसो नियमकानुन आफ्नै छन् । दुबई, सारजहाँ, आबुधावी, अलएन राज्य मात्र होइन, ओमनदेखि समेत मानिसहरू घरेलु कामदार किन्न अजमान आउँछन् ।


यी म्यानपावरसम्म कसरी नेपाली महिला पुग्छन् त ? तीन महिनादेखि आबुधावीस्थित नेपाली दूतावासको सेल्टरमा बसिरहेकी झुमा परियार अजमानकै अल मायस् म्यानपावरबाट बेचिएकी थिइन् । नेपाली दलालले उनलाई दिल्ली हुँदै अजमान पुर्‍याएका थिए । ‘दिल्लीसम्म नेपाली एजेन्टले पुर्‍याएको हो । मेरो पैसा लागेन । दिल्लीको चिडियाखानापछाडिको एउटा घरमा दुई हप्तासम्म राख्यो । त्यहाँ २० जना नेपाली दिदीबहिनी थिए । दिल्लीको म्यानपावरको अजमानको म्यानपावरसँग सम्पर्क हँुदोरहेछ । उनीहरूले मेरो राहदानी र फोटो पठाएपछि म्यानपावरको स्पोन्सरमा भिसा निकाले,’ परियारले भनिन्, ‘भिसा निस्केपछि हामी सात जना मायस म्यानपावरमा गयौं । त्यहाँबाट अरबीले नै किनेर आफ्नो घर लग्यो ।’
उनलाई सारजहामा बस्ने इमाराती (स्थानीय नागरिक) ले ९ हजार दिराम (करिब २ लाख ७० हजार रुपैयाँ) मा म्यानपावरलाई बुझाएर लगेको थियो । ‘६ महिनासम्म मैले काम गर्न सके अरबीले तिरेको पैसा पच्दोरहेछ,’ उनले भनिन् । त्यो घरमा १३ जनाको परिवार थियो । तलब ९ सय दिराम तोकिएको थियो । दैनिक १८ घण्टा काम गर्नुपथ्र्यो । ‘मलाई टिक्नै गाह्रो भयो । म्यानपावरलाई अर्को घरमा पठाइदिन अनुरोध गरेँ । इमारातीलाई पैसा फिर्ता दिनुपर्छ भनेर आउनै दिएनन् । त्यसैले भागेर दूतावास आएँ,’ उनले भनिन्, ‘मेरो राहदानी इमारातीसँगै छ ।’


तस्करहरूको जालोमा परेर जति महिला अजमान आइपुग्छन्, सबैले यूएईभित्रै काम गर्छन् भन्ने छैन । यहाँबाट इराक र सिरिया पनि पठाइन्छ । त्यहाँ पठाउँदा बढी मूल्य पाइन्छ । ‘यूएईभित्र पठाउँदा १५ हजार दिरामसम्म हुन्छ तर इराक र सिरिया पठाउँदा कम्तीमा १० हजार डलर पाइन्छ,’ एक नेपाली एजेन्टले भने, ‘भिसा र टिकट हुनुपर्‍यो । महिला राजी भए सजिलै पठाउन सकिन्छ ।’


ओमनस्थित नेपाली दूतावासको सेल्टरमा भेटिएकी विष्णु परियारलाई अजमानबाटै ओमनीले किनेर लगेका थिए । ‘दुबईमा काम गर्ने भनेर एजेन्टले पठाएको हो । अजमानको अफिसमा बस्दा ओमनीले मन पराए । म ओमान जान्नँ, बरु नेपाल जान्छु भनेँ । अफिसले नजाने भए १० हजार दिराम दिनुपर्छ भनेर थर्काउन थाल्यो,’ उनले भनिन्, ‘मैले त्यत्रो रकम कहाँबाट ल्याउने ? ओमनीसँग नै पछि लागेर जानुपर्‍यो ।’


ओमनको घरेलु कामदार सप्लाई गर्ने म्यानपावरले पनि अजमानबाटै किनेर लैजान्छ । मस्कट र सलालाहसम्म पुग्दा कामदारको मूल्य बढदै जान्छ । ‘मालिक तिमीहरूलाई किन्ने पैसाले त गाडी आउँछ भन्छन्,’ परियारले भनिन्, ‘अनि हाम्रो श्रम गरेको ज्याला दिन मान्दैन । म्यानपावरलाई दिएको पैसा नै हाम्रो ज्याला हो भन्ठान्छन् ।’


उद्धार माग्दै ओमनस्थित नेपाली दूतावास पुग्ने सबै घरेलु कामदार अजमानबाट लगिएकाहरू छन् । दूतावासको सेल्टरमा अहिले २२ घरेलु कामदार छन् । ‘जति आउँछन्, सबै यूएईबाट ल्याइएका छन्,’ ओमनका श्रम सहचारी कृष्णकुमारी गौलीले भनिन्, ‘धेरै पैसा तिरेर ल्याउने हुँदा मालिकहरू सकभर छिटो नेपाल पठाउन इच्छुक हँुदैनन् । बरु घरबाट भागेमा दूतावासमा छ कि भनेर बुझ्न आइपुग्छन् ।’


अनुभवी नै तस्करीको जालोमा
इलामकी पुष्पा राई पहिलोपटक सन् २००७ मा घरेलु कामदारका रूपमा साउदी अरब पुगेकी थिइन् । सोझै जान प्रतिबन्ध रहेकाले दलालले दिल्ली हुँदै पठाएको थियो । दुई वर्ष काम गरेर फर्किंदा पनि आर्थिक अवस्था नसुध्रेपछि उनी ओमन पुगिन् । त्यहाँ दुई वर्ष काम गरिन् । सारजहाँ र रसलखेमा पनि दुईदुई वर्ष काम गरिन् । उनी चार वर्षदेखि दुबईमा छिन् ।


सारजहाँबाट भागेर दुबई आएकी हुन् । ‘अहिले मेरो भिसा छैन । जहाँ बढी काम पाइन्छ, त्यहीँ गर्छु,’ उनले भनिन्, ‘यूएई सरकारले आममाफी दिएको छ । वैधानिक हैसियत बनाएर यहीं काम गर्ने प्रक्रियामा छु ।’


दूतावासका अनुसार पछिल्लो समय खाडीमै काम गरिरहेका महिला बढीजसो तस्करीमा पर्न थालेका छन् । ‘नेपालमै श्रमस्वीकृति दिने कानुन हुन्थ्यो त हामी भारतको बाटो आउनुपर्ने थिएन,’ कपिलवस्तुकी ४३ वर्षीया हरिकुमारी खनालले भनिन्, ‘भारतको बाटो भएर आउँदा हामी बिक्री हुनुपरेको छ ।’


हरिकुमारीले खाडीमा काम गर्न थालेको १६ वर्ष भइसक्यो । लेवनान, साउदी, यूएई र कुवेत सबैतिर पुगिसकेकी छन् । ‘म अरबी भाषा जान्दछु, यहाँको संस्कृति थाहा छ,’ उनले भनिन्, ‘मेरा लागि लेवनान नै राम्रो थियो । सरकारले पुन: श्रमस्वीकृति दिए पहिलाकै घरमा जान्थें । त्यसो नहुँदा दलालको भर पर्नुपरेको छ । दलालले सेटिङ गरेर जता पठाइदिन्छ, त्यतै पुग्छौं ।’


सिन्धुपाल्चोककी चरी तामाङ कुवेतमा काम गर्थिन् । १ सय २० दिनार (४५ हजार रुपैयाँ) तलब थियो । ‘चार वर्ष त्यहाँ बसेर नेपाल आएँ । फर्किने टिकट पनि थियो । मालिकले तलब बढाइदिन्छु भनेका थिए । काम पनि सजिलै थियो,’ उनले भनिन्, ‘बिदा सकेर फर्किन पाइनँ । सरकारले बन्द गरेको रहेछ ।’ त्यसपछि उनी पनि दलालमार्फत यूएई पुगिन् । यहाँ काम पाएको घर कुवेतको जस्तो सजिलो थिएन । ‘फर्केर घर जाउँm त भूकम्पले भत्काइदिएको थियो । श्रीमानको मृत्यु भएको एक वर्षपछि मात्रै थाहा पाएँ,’ उनले भनिन्, ‘दुई बच्चा आफन्तका घरमा छन् । ऋण लागेका कारण फर्किनँ । भागेर काम गर्दै आइरहेको छु ।’


यूएईका लागि कार्यवाहक राजदूत सागर फुयाँल समस्यामा परेर आउने घरेलु कामदारको पृष्ठभूमि अध्ययन गर्दा सबैजसो पहिले खाडीमै काम गरिसकेका महिलाहरू हुने गरको बताउँछन् । ‘दूतावासको सेल्टरमा १०/१२ जना कहिल्यै घटदैनन् । उनीहरू खाडीका कुनै न कुनै देशमा काम गरेर आएको स्थिति छ,’ उनले भने, ‘नयाँभन्दा पनि अनुभवी घरेलु कामदार नै अवसरका लागि देश फेरबदल गर्दै हिँडेका छन् ।’


घरेलु कामदारसम्बन्धी सरकारी नीति अस्थिर छ, कहिले बन्द गर्ने, कहिले खोल्ने । पछिल्लोपटक संसदीय समितिले २०७३ चैतमा श्रम सम्झौता नभएका देशमा घरेलु कामदार पठाउन बन्द गरेको छ । यसले गर्दा बिदामा आएका कामदारसमेत सम्बन्धित देश फर्कन पाएका छैनन् । ‘हाम्रो खुसी हाम्रै सरकारले लुटेको छ । रहरले कोही विदेशमा भाँडा माझ्न जाँदैन । बच्चालाई भोकै कसरी राख्न सकिन्छ ? पढाउनैपर्‍यो,’ बुटवलकी रीता दनुवारले भनिन्, ‘हामीलाई नियमसंगत हिसाबले जाने व्यवस्था गरिदिए हुन्थ्यो ।’

प्रकाशित : भाद्र ३०, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?