कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली युवाको दिल्लीमा बिचल्ली

सुरेशराज न्यौपाने

नयाँदिल्ली — वैदेशिक रोजगारको अवैध गिरोहको जालोमा परेर नेपाली युवाको बिचल्ली हुने क्रम जारी नै रहेको छ । आधिकारिक तथ्यांक नभए पनि पछिल्लो समय मौरिसस, माल्दिभ्स, न्यूजिल्यान्ड, माल्टा, दक्षिण कोरिया पठाइदिने भन्दै सयौं नेपाली युवायुवतीलाई भारतका नयाँदिल्लीलगायत सहरमा पुर्‍याउने र अलपत्र पार्ने क्रम बढेको देखिन्छ ।

नेपाली युवाको दिल्लीमा बिचल्ली

यसरी ल्याइएका युवाहरूलाई ती गिरोहले पासपोर्ट नियन्त्रणमा लिने र चाँडै उडाइने भन्दै महिनौं अलपत्र पार्ने गरेका छन् । यस्तै नियति भोगेका छन् पोखराका शौरभ छेत्री तथा गोर्खाका रमेश बराम, निरञ्जन गुरुङ र राजेन्द्र गुरुङले ।

माल्दिभ्सको एउटा रिसोर्टमा काम लगाइने र मासिक कम्तीमा पनि तीन सय अमेरिकी डलर पाइने प्रलोभनमा परेर डेढ लाख रुपैयाँका दरले दलाललाई रकम बुझाएको उनीहरूले बताए । तर, दुई महिनामा दिल्लीमा उनीहरूले पाएको मानसिक र शारीरिक पीडासामु त्यो रकम केही होइन भन्छन् उनीहरू । हुन पनि के भोगेनन् यिनीहरूले ? बस्दै आएको कोठामा अचानक घरबेटीको ताला, पासपोर्टलगायत महत्त्वपूर्ण कागजात र भएको लुगाफाटो सबै बन्द । पछिल्लो एक महिना त एकसरो लुगामै बित्यो यिनीहरूको दिन । ‘जीवनमा नचिताएको दु:ख पाइयो, न बस्ने ठाउँ छ न खानलाई पैसा,’ छेत्रीले भने ।

उनीहरूको पीडा शृंखला असारको दोस्रो साताबाट सुरु हुन्छ । बसबाट दिल्ली पुर्‍याइएका उनीहरू एजेन्टले भाडामा लिएको रोहिणीको राजीव गान्धी क्यान्सर अस्पताल नजिक सोमबजारको एउटा घरको कोठामा बस्न थाल्छन् । नेपालबाट क्यान्सर उपचारका लागि आउने अधिकांश बिरामी र तिनका आफन्तका लागि सोमबजार नौलो ठाउँ होइन ।

उनीहरूको बसाइको चाँजोपाँजो कुमार श्रेष्ठ नाम गरेका एजेन्टले मिलाएका थिए । पकाउने सरसामान पनि उनै उपलब्ध गराउँथे । खाना भने उनीहरू आफैंले बनाउनुपथ्र्यो । हिँडडुल गर्न कुनै बन्देज थिएन तर दिल्ली पुग्नासाथ भिसा प्रक्रियाका लागि भन्दै कुमारले नै आफ्नो पासपोर्ट लिएको उनीहरूले बताए ।

उनीहरूलाई दिल्ली पुगेको दुई दिनमै उडाइने आश्वासन दिइएको थियो तर सात दिनसम्म पनि विदेश पठाउने सुरसार नदेखेपछि उनीहरू कि चाँँडो उडाउनुपर्‍यो, नभए पैसा फिर्ता दिनुपर्‍यो भन्न थाले । उनीहरूले त्यसो भन्दा ती एजेन्ट अनेक बहाना बनाउँथे । ‘भोलि नै टिकट आउँछ, सबै मिलाउँदै छौं मात्र भन्थे,’ पोखराका छेत्रीले भने ।

यसरी महिना दिन बित्यो । उनीहरूलाई अलमल्याउन एक दिन दिल्लीकै एउटा ट्राभल एजेन्सीसमेत पुर्‍याइयो । ती एजेन्टसामु उक्त ट्राभल एजेन्सीका कर्मचारीले अब सबै प्रक्रिया पूरा भइसकेको छ, चाँडै उडाइने भन्दै आश्वासन दिए । त्यो सुनेर उनीहरूलाई अब चाहिँ हुने भयो भन्ने पर्‍यो तर त्यसको दुईचार दिनसम्म पनि उड्ने कुनै छनक नपाएपछि यी युवा आफैं त्यो ट्राभल एजेन्सीमा पुगे । त्यहाँ पुगेपछि भने उनीहरूलाई छाँगाबाट खसेजस्तो भयो । किनकि ट्राभल एजेन्सीमा पहिलेका आश्वासन दिएका कुनै पनि कर्मचारी थिएनन् । ‘जसले हामीलाई भोलि नै हुन्छ भनेको थियो तर त्यहाँ कहिलेकाहीँ आइरहने व्यक्ति मात्र रहेछन् । त्यो त हामीलाई झुक्याउनका लागि खेला गरिएको छ । यसो भन्दे भनेर दलालले नै सिकाएका रहेछन्,’ छेत्रीले बताए ।

रकमै डुब्ने चिन्ता भइरहेका बेला उनीहरूमाथि अर्को तनाव थपियो । घरसाहुले उनीहरूसँगै भाडा माग्न थाले । बुझदा कोठाभाडा मात्र भारु डेढ लाख नाघिसकेको रहेछ । कोठा भाडामा लिने कुमारले सुरुदेखिकै रकम बुझाएका रहेनछन् । तिनै कुमारले छेउछाउका अन्य घरमा पनि त्यसैगरी कोठा लिएर नेपाली युवालाई राखेका रहेछन् र ती सबै कोठाको भाडा हिसाब गर्दा डेढ लाखभन्दा बढी पुगेको रहेछ । ‘हामीलाई जस्तै मोरिसस, माल्टा, कोरिया, न्युजिल्यान्ड पठाउने भन्दै यहाँ ल्याएर राख्ने रहेछन्, पछि पो थाहा भयो,’ छेत्रीले भने ।

त्यति ठूलो रकम उनीहरूले तिर्न सम्भव थिएन । त्यसपछि ती घरसाहुले भाडा नतिरेसम्म सामान पनि फिर्ता नहुने भन्दै कोठामा ताल्चा लगाइदिए । त्यसपछि उनीहरूका सामु एकसरो लुगामा कहिले कता, कहिले कता भौतारिनुको विकल्प थिएन । केही उपाय नलागेपछि सहयोगका लागि दूतावासको सम्पर्कमा आएको उनीहरूको भनाइ छ । आफ्ना पासपोर्टलगायत सामान फिर्ता पाऊँ भनी उनीहरूले दिएको लिखित उजुरीका आधारमा दूतावासले कारबाही अगाडि बढायो ।

दूतावास र स्थानीय प्रहरीको समन्वयमा अन्तत: यी चार युवाले आफ्नो सामान फिर्ता पाएका छन् । फिर्ता पाएपछि छेत्रीले भने, ‘कसैले नपाउनु दु:ख पाइयो, अब एक दुई दिनमा घर जान्छु अनि दलालको परिवारलाई समातेर भए पनि पैसा फिर्ता लिन्छु ।’ एउटाले आफूहरूलाई गतिलो पाठ सिकाएको भन्दै उनले भने, ‘अब त सकभर विदेश जाने चक्करमा लाग्दिनँ । जाने नै भए पनि आफ्नै देशबाट जाने ।’

प्रकाशित : भाद्र ३०, २०७५ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?