किशोरी बलात्कार र हत्या प्रकरण : कञ्चनपुरमा फेरि आन्दोलन

भवानी भट्ट

कञ्चनपुर — निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा फेरि आन्दोलन सुरु भएको छ । घटना भएको ५२ दिनसम्म पनि अपराधी पत्ता लाग्न नसकेपछि स्थानीयले आन्दोलन थालेका हुन् ।

किशोरी बलात्कार र हत्या प्रकरण : कञ्चनपुरमा फेरि आन्दोलन

भदौ ७ र ८ गते चर्किएको आन्दोलन एसपीसहितका प्रहरी अधिकारी परिवर्तन गरिएसँगै मत्थर भएको थियो । घटना अनुसन्धानका लागि नयाँ टोली पठाउँदा पनि अनुसन्धानमा खासै प्रगति नदेखिएपछि स्थानीयवासी असन्तुष्ट बनेका छन् ।

डीएनए रिपोर्ट नमिलेको भन्दै दिलीप विष्टलाई रिहा गरिएपछि दबाबमूलक आन्दोलन सुरु गरेका स्थानीयले शनिबार शान्तिपूर्ण प्रदर्शन गरे । विभिन्न महिला अधिकारसम्बद्ध संघसंस्था, आमा समूह र महिलाले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका छन् ।

घटना भएकै दिनदेखि आन्दोलित उनीहरुले तीजका दिन कालो पहिरन लगाएर प्रदर्शन गरेका थिए भने दोस्रो दिन थाल र चम्चा ठटाएर प्रशासनको ध्यानाकर्षण गराए । ‘निर्मलाका हत्यारा चाँडोभन्दा चांँडो पत्ता लगाउनुपर्ने हाम्रो माग हो’, सुरुदेखि आन्दोलनमा संलग्न रहेकी हेलेन श्रेष्ठले भनिन्, ‘घटना भएको दुई महिना पुग्न लाग्दा पनि दोषी पत्ता लाग्न नसक्नु दु:खको कुरा हो ।’ उनले शान्तिपूर्ण आन्दोलन निरन्तर गरिरहने बताइन् । यसअघि दिलीप विष्टलाई सार्वजनिक गरेपछि सुरु भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र १५ जनाभन्दा बढी घाइते भएका थिए । जसमध्ये २ जना अहिले पनि अस्पतालमै छन् ।

आन्दोलनकै क्रममा शनिबार नेविसंघले कञ्चनपुर बन्द गरायो । ‘निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने हाम्रो माग हो’, नेविसंघका निवर्तमान उपाध्यक्ष केशव जोशीले भने, ‘अपराधी पत्ता नलागेसम्म आन्दोलन जारी रहन्छ ।’ आइतबारबाट आन्दोलन कार्यक्रम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

प्रकाशित : भाद्र ३०, २०७५ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?