१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पदमार्ग असुरक्षित, आरोहीलाई हेलिकप्टरकै भर

जिल्ला प्रशासनद्वारा भदौ २७ देखि असोज १८ सम्म ५० फ्लाइट उडान अनुमति
हरिराम उप्रेती

गोरखा — लगातारको वर्षासँगै आएको बाढीपहिरोले पदमार्ग असुरक्षित भएपछि मनास्लु हिमाल आरोहणका लागि आउने पर्यटकले हवाईमार्ग प्रयोग गरिरहेका छन् । मौसम सफा भएको दिन उक्त क्षेत्रमा दैनिक सरदर ५ हेलिकप्टरले पर्यटक ओसार्ने गरेका छन् ।

पदमार्ग असुरक्षित, आरोहीलाई हेलिकप्टरकै भर

सेप्टेम्बर र अक्टोबरलाई मनास्लु हिमाल आरोहणका लागि उपयुक्त सिजन मानिन्छ । आरोहणका लागि यसपटक ९ समूहमा आएका पर्यटक हेलिकप्टरबाट सामागाउँ पुगिसकेका छन् । २ समूह भने लमजुङको बेंसीसहर र मनाङको धारापानी, लार्केपास हुँदै सामागाउँ पुगेको मनास्लु संरक्षण क्षेत्र (एम–क्याप) ले जनाएको छ । ‘एक गु्रपमा १२ देखि १५ जना छन्,’ एमक्यापका कर्मचारी सरोज केसीले भने, ‘लार्केपास हुँदै आएका शेर्पाहरूले हामी आयांै भनेर जानकारी गराउनुभएको छ, इन्ट्री गरिसक्नुभएको छैन ।’ आगामी मंगलबार एक समूह आउने जानकारी प्राप्त भएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयको सिफारिसमा गृह मन्त्रालयअन्तर्गतको अध्यागमन तथा सीमा प्रशासन शाखाले हेलिकप्टरलाई उक्त क्षेत्रमा उडान अनुमति दिन्छ । जिल्ला प्रशासन कार्यालयले भदौ २७ देखि असोज १८ सम्म ५० फ्लाइट उडानका लागि सिफारिस दिइसकेको छ । एभरेस्ट एयरलई काठमाडौँ–सामागाउँ पर्यटक ओसार्न १५ र सोही समयमा आर्खेत–सामागाउँ सामान ओसार्न ३५ उडानको सिफारिस दिइएको प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।

३६ पर्वतारोहीले मनास्लु हिमालय आरोहणका लागि सामान ओसार्न र त्यहाँसम्म पुग्न हेलिकप्टर चार्टर गर्न सिफारिस मागेका हुन् । नेदरल्यान्ड, ब्राजिल, स्पेन, अर्जेन्टिना, जोर्डन, फिनल्यान्ड, उरुग्वे, पोल्यान्ड, जापान, चीन, टर्की, अमेरिका र दक्षिण अफ्रिकाका पर्यटक मनास्लु हिमाल आरोहणमा आउनले भएका हुन् । अल्टिच्युट, सिम्रिक, फिस्टेल र एभरेस्ट लगायतका एयरलाइन्सलाई हेलिकप्टर उडानका लागि जिल्ला प्रशासनले सिफारिस गरेको छ ।

आयरल्यान्ड र अस्ट्रेलियाका पर्यटक आरोहणका लागि सामागाउँ आएका छन् । मनास्लु पदमार्गअन्तर्गत लापुभीर, माछाखोला र तातोपानी क्षेत्रको ठाउँ–ठाउँमा पहिरो गएर जोखिम बढेपछि पर्यटकले हवाईमार्गको प्रयोग गरेका हुन् । ‘पदमार्ग भएर हिंडेर पनि फाट्टफुट्ट पर्यटक आउने गरेका छन्,’ चुमनुव्री गाउँपालिका ३ सिर्दिबासका वडाध्यक्ष रामकुमार गुरुङले भने, ‘बर्खाका बेला माथिबाट ढुंगा झरिरहन्छ, यो पहिलैदेखिको समस्या हो ।’

एक्लेभट्टीमा भासिएको पदमार्ग भने मर्मत भइसकेको उनले बताए । ‘२३ मिटर बाटो ब्लक भएको थियो । त्यो हामीले खोलिसक्यौं,’ उनले भने, ‘तल्लो क्षेत्रको ठाउँ–ठाउँमा पहिरो गएको भन्ने सूचना पाएका छौं ।’ पदमार्ग असुरक्षित भएर पैदलमार्गमा पर्यटक घटे व्यापार व्यवसाय सुक्ने भन्दै स्थानीयले भने चिन्ता जनाउँदै आएका छन् ।

८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु चढ्न साहसिक आरोहीलाई प्राथमिकता दिइन्छ । मौसम उपयुक्त रहे २०/२२ दिनमै उक्त हिमालको आरोहण गर्न सकिने एमक्यापले जनाएको छ । पदमार्ग असुरक्षित बनेपछि कतिपय गाउँलेले हेलिकप्टरकै माध्यमबाट दैनिक उपभोग्य सामग्री ढुवानी पनि गर्ने गरेका छन् । सडक सञ्जालले नछोएको चुमनुव्री गाउँपालिकाअन्तर्गतको संरक्षित क्षेत्रमा हेलिकप्टरबाहेक सामान ढुवानीको अर्को साधन खच्चड हो । बाटो बिग्रिँदा खच्चड पनि हिंड्न सक्दैनन् । चुमनुव्रीमा वडाहरूमा कोही बिरामी परे महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गरी उपचारका लागि काठमाडौं लैजाने गरिएको छ ।

१९५६ को जुलाई ९ मा जापानी नागरिक टोसी इमानोसीले पहिलोपल्ट मनास्लु आरोहण गरेपछि त्यसयताको हरेक वर्ष आरोहणमा आउनेको संख्या बढेको हो । उत्तरी क्षेत्रको भौगोलिक अवस्थिति, हिमशृंखला, सांस्कृतिक मठ मन्दिर र गुम्बा अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

पहिरोमा २ को मृत्यु
हुम्ला (कास)– चंखेली गाउँपालिका–५, नेप्कमा पहिरो जाँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् । नेप्क गाउँकी १७ वर्षीया वसन्ती तामाङ र ८ वर्षीया अनिता तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय युवराज तामाङ, विनीता तामाङ, हेमन्त तामाङ र अनिता तामाङ पहिरोमा परी घाइते भएका छन् । घाइते चारै जनालाई हेलिकप्टरमार्फत जिल्ला अस्पतालमा ल्याइएको थियो । गम्भीर अवस्थाका तीन जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । सामान्य घाइते अनिता तामाङको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

घटनास्थल सदरमुकाम सिमकोटबाट तीन दिनको पैदल दूरीमा पर्छ । घटनास्थल विकट स्थानमा भएको र टेलिफोन सम्पर्क नहुने भएकाले विस्तृत विवरण आउन नसकेको प्रहरीले जनाएको छ । सिमकोट विमानस्थलमा भारतीय तीर्थयात्रीका लागि हेलिकप्टर तयारी अवस्थामा हुने भएकाले घाइतेको उद्धारमा सहज भएको हो ।

प्रकाशित : भाद्र ३१, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?