२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्रदेश २ सरकारले संविधान दिवस मनाउने

अजित तिवारी

जनकपुर — राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान दिवसको बिरोध गर्न मन्त्रीहरु नै खटाउने निर्णय गरेका बेला संघीय समाजवादी फोरम र राजपा गठबन्धनको प्रदेश २ सरकारले संविधान दिवस मनाउने तयारी गरेको छ । दिवसका दिन गरिने कार्यक्रम भने टुंगो लगाउन बाँकी छ ।

प्रदेश २ सरकारले संविधान दिवस मनाउने

प्रदेश सरकारका मन्त्रालयहरु रहेको जनकपुर चुरोट कारखाना परिसरमा संविधान दिवसका दिन बृक्षारोपण गर्ने सरकारको तयारी छ । ‘संविधान दिवसका दिन बृक्षारोपण गर्ने कार्यक्रम मात्र तय भएको छ,’ प्रदेश २ का प्रमुख सचिव राजेन्द्रमान सिंहले कान्तिपुरसंग भने, ‘अरु थप कार्यक्रमका लागि छलफल भइरहेको छ ।’


दुवै मधेसवादी दलले यसअघि संविधान दिवसलाई कालो दिवस भनेर मनाउँथे । प्रदेश २ मा आफ्नै सरकार र संघीय सरकारलाई समर्थन गरेकाले असोज ३ गते संविधान दिवसलाई हर्षोल्लासपूर्वक मनाउने कि बिरोध गर्ने ? दुवै दल धर्मसंकटमा फसेका छन् ।


संघीय सरकारले असोज ३ गते संविधान दिवस मनाउन प्रदेश सरकारलाई पत्राचार गरेको छ । त्यही पत्रको आधारमा प्रदेश २ को सरकार मूल समारोह समिति गठन गरेर संविधान दिवस मनाउने तयारीमा छ । ‘संविधान दिवस मनाउनका लागि समारोह समिति गठन हुन बाँकी छ,’ प्रमुख सचिव सिंहले भने, ‘संविधान दिवसको दिन कुन–कुन कार्यक्रम गर्ने त्यही समितिले टुंगो लगाउने छ ।’ उनले प्रदेश सरकार पनि संविधानकै प्रावधान अनुसार बनेकोले संविधान दिवस मनाउनैपर्ने बताए ।


प्रदेश सरकारको गठबन्धन दल राजपाले भने संविधान दिवसको दिन मधेसमा बिरोध प्रदर्शन गर्ने निर्णय गरिसकेको छ । अर्को मधेसवादी दल फोरम भने मौन छ । तर, यी दुवै दलको सरकारले भने संविधान दिवस मनाउने तयारी थालेको छ । राजपाले प्रदेश २ का मन्त्री र राज्यमन्त्रीलाई संविधान दिवसको दिन आयोजना हुने बिरोध सभालाई सम्बोधन नै गर्न खटाएको छ ।

राजपाको अध्यक्ष मण्डलको भदौ २५ देखि २८ गतेसम्म काठमाडौंमा बसेको अध्यक्ष मण्डलको बैठकले संविधान दिवसको बिरोधमा प्रदेश २ का मन्त्रीलाई खटाएको छ ।

पढ्नुहाेस् : संविधान दिवसको विरोध गर्न राजपाको केन्द्रीय सकूर्लर

बैठकको निर्णयअनुसार संविधान दिवसका दिन भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललाई सप्तरी, उद्योग, पर्यटन, बन तथा वातारण मन्त्री रामनरेश रायलाई सिरहा, सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई धनुषा, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झालाई महोत्तरी, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई सर्लाही र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई रौतहट खटाएको छ ।


संविधान दिवसको दिन राजपाले गर्ने बिरोध सभालाई यी मन्त्रीहरुले सम्बोधन गर्ने राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा हस्ताक्षरित पार्टीको पत्रमा उल्लेख छ ।

यस्तै, संविधान दिवसको दिन राजपाले आयोजना गर्ने बिरोधसभालाई त्यो दलको शीर्ष नेताले पनि सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ । कार्यक्रमअनुसार नेता ठाकुर त्यो दिन प्रदेश २ को पर्सा र बारा, राजेन्द्र महतो प्रदेश ५ को बाके र बर्दिया, अनिलकुमार झा प्रदेश ७ को कैलाली र कञ्चनपुर, महेन्द्रराय यादव प्रदेश ५ कै नवलपरासी, रुपन्देही र कपिलबस्तु, शरदसिंह भण्डारी प्रदेश १ को झापा र राजकिशोर यादव प्रदेश १ कै मोरङ र सुनसरीमा खटिएका छन् ।

प्रकाशित : भाद्र ३१, २०७५ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?