जनकपुर-पटना बस सेवा सुरु

श्यामसुन्दर शशि

जनकपुर — प्रदेश २ को राजधानी जनकपुरधामलाई भारत विहार प्रदेशको राजधानी पटनासम्म जोड्ने नेपाल-भारत मैत्री बस सेवा आइतबारदेखि सुरु भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह तथा विहार राजपथ परिवहन निगमका एसएन झाले हरियो झण्डा देखाएर बसलाई रवाना गरे ।

जनकपुर-पटना बस सेवा सुरु

जनकपुर बस स्टेण्डस्थित स्थानीय एक होटलमा एक कार्यक्रम आयोजना गरी बस सेवा सञ्चालनलाई औपचारिकता प्रदान गरिए पनि चार दिन अघि अर्थात बिहीबार नै विहारका मुख्यमन्त्री नितिशकुमारले पटना-जनकपुरधाम बस सेवालाई हरियो झण्डा देखाई आरम्भ गरेका थिए ।


करिब २ सय २५ किलोमीटर लामो सीधा बस सेवा सञ्चालन भएपछि जनकपुरको शिक्षा, स्वास्थ्य तथा धार्मिक-सांस्कृतिक पर्यटनमा टेवा पुग्ने विश्वास मुख्यमन्त्री राउतले व्यक्त गरे । उनले भने, 'खुला सीमाको सदुपयोग गर्दै दुवै देशका हजारौँ नागरिक दैनिक आवागमन गर्छन् । सीधा बस सेवाले उनीहरुलाई सुविधा हुन्छ ।'


गत बैशाख १८ गते भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमण पश्चात पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको जानकारी गराउँदै मुख्यमन्त्री राउतले दुई देशीय मैत्री बस सेवा सञ्चालनले दुवै देशका नागरिकलाई सुविधा हुने बताए ।


विहार राजपथ परिवहन निगमका एसएन झाले भारतबाट नेपाल आउने बसलाई नेपाली भन्सारमा शुल्क तिर्नु परेको गुनासो बारे मुख्यमन्त्री राउतले मञ्चमै बसेका प्रमुख जिल्ला अधिकारी तथा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षकसँग यस समस्याको समाधान गर्न आग्रह गरेका थिए ।


नेपालको स्वम्भु-मञ्जश्री यातायात प्रालिका चार तथा विहार राजपथ परिवहन निगमको ४ थान बसबाट दुई देशीय मैत्री बस सेवा प्रारम्भ भए पनि यात्रीहरुको माग अनुसार बसको संख्यामा वृद्धि गर्दै लाने जनकपुर बस व्यावसायी संघका अध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिए ।


चौधरीका अनुसार करिब २ सय २५ किलोमीटर दूरीको बसको भाडा २ सय ७५ भारतीय रुपैयाँ निर्धारण गरिएको छ । हाललाई बिहान साढे १० बजे तथा राती साढे ८ बजे बस सञ्चालन हुनेछ । बस पूर्णत: वातानुकीत भएको अध्यक्ष चौधरीले जानकारी दिए ।


सन् २०१४ मा नेपाल-भारतबीच सम्पन्न पारवहन समझौता अनुसार दुवै देशका धार्मिक,पर्यटकीय सहरबीच मैत्री बस सेवा सञ्चालन गर्ने सहमति भएको थियो । सहमति अनुसार काठमाण्डौं-दिल्ली,काठमाडौं-पटना-बोधगया, पोखरा-दिल्ली, नेपालगञ्ज-पिथौरागढ लगायतका रुटमा बस सेवा सञ्चालन भइसकेको छ भने आइतबार जनकपुरधाम-पटना बस सेवा पनि सञ्चालनमा आइसकेको छ ।


वर्षेनी हजारौं नेपाली स्वास्थ्य उपचार, अध्ययन,व्यावसाय तथा धार्मिक-सांस्कृतिक पर्यटनका लागी भारतका विभिन्न सहर जाने गरेका छन् । यसैगरी हजारौँ भारतीय पनि धार्मिक सांस्कृतिक पर्यटन तथा जनकपुर तथा लाहानस्थित आँखा अस्पतालमा उपचार गराउन नेपाल आउने गरेका छन् ।


विहार प्रदेशको राजधानी पटना तथा प्रदेश २ को राजधानी जनकपुर रेल,बस तथा हवाईमार्गबाट समेत जोडिएकोले जनकपुर-पटनाको बससेवा यात्रुहरुका लागि लाभदायक हुने विश्वास स्थानीयवासीको छ । यसअघि पटना पुग्न जनकपुरबाट नेपाली नाका भिठामोरसम्म तथा भीठामोरबाट भारतको सीतामढी-मुजफ्फरपुर हुँदै पटना पुग्नु पर्थ्यो । पटक पटक बस,रिक्सा,टेम्पो परिवर्तन गर्न यात्रीहरुलाई असुविधा हुने गरेको थियो । भारतीय सीमासुरक्षा बल(एसएसबी)को सास्ती समेत बेहोर्नु परेको थियो ।


जनकपुर बस व्यावसायी संघका अध्यक्ष चौधरीका अनुसार-जनकपुरधाम-पटना मैत्री बस सेवाका यात्रीहरुलाई नेपाली सीमामा नेपाल प्रहरीले तथा भारतीय सीमामा भारतीय सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्ने सहमति भएको छ ।


जनकपुरधाम-अयोध्या बससेवा अझै अन्यौल

प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैशाख १८ गते जानकी मन्दिर प्राङगणमा हरियो झण्डा देखाएर प्रारम्भ गरेको जनकपुरधाम-अयोध्या बससेवा भने अझै पनि नियमित सञ्चालन हुन सकेको छैन ।


तयारी विना नै भाडामा बस लिएर सञ्चालन गरिएको उक्त बस सेवा नियमित सञ्चालन हुन अझै केही समय लाग्ने जनकपुर अञ्चल बस व्यावसायी संघका अध्यक्ष मनोजकुमार चौधरी बताउँछन् ।


प्राप्त जानकारी अनुसार दुई देशीय उक्त बससेवा सञ्चालनका लागी अनुमति(रोडपर्मिट) भने हालसम्म प्राप्त हुन सकेको छैन ।


'जनकपुरधाम-अयोध्या बस सेवा सञ्चालनका लागी इच्छुक बस व्यावसायीहरुलाई सार्वजनिक सूचना मार्फत प्रस्ताव आह्वान गर्दै छौँ । सक्षम व्यावसायीलाई बस सञ्चालनको अनुमति दिईने छ ।' अध्यक्ष चौधरीले कान्तिपुरसँग भने ।

प्रकाशित : भाद्र ३१, २०७५ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?