३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

किशोरी बलात्कार र हत्या प्रकरण : डीआईजी धिरु बस्नेतको नेतृत्वमा नयाँ अनुसन्धान समिति

अनुसन्धानमा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाइयो

काठमाडौँ — सरकारले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको छानबिन गर्न यसअघि संलग्न प्रहरी अधिकृतहरूको भूमिकामाथि अनुसन्धान गर्न डीआईजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन गरेको छ ।

किशोरी बलात्कार र हत्या प्रकरण : डीआईजी धिरु बस्नेतको नेतृत्वमा नयाँ अनुसन्धान समिति

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार समितिमा एसएसपी निरजबहादुर शाही, एसपी उत्तम सुवेदी र छानबिनमा विज्ञ प्रहरी अधिकृत छन् ।


पन्तको बलात्कार र हत्याको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको गतिविधि र भूमिका ‘शंकास्पद’ देखिएका कारण उनीहरूमाथि छानबिन गर्न अधिकारसम्पन्न उच्चस्तरीय समिति गठन गरिएको जानकारी प्रहरी प्रधान कार्यालयले दिएको छ ।






‘निर्मला पन्तको बलात्कार र हत्याको घटनाको छानबिन गर्नका लागि नभई त्यसको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको भूमिका र गतिविधिको छानबिन गर्न समिति गठन भएको हो,’ प्रवक्ता क्षेत्रीले कान्तिपुरसित भने । उनका अनुसार उक्त समितिलाई म्याद नतोकी यथाशीघ्र छानबिन प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । पन्तको हत्या र बलात्कारको घटनाको छानबिन कञ्चनपुरमा गएका नयाँ प्रहरी अधिकारीहरूको टोलीले गरिरहेको जानकारीसमेत प्रहरी प्रधान कार्यालय स्रोतले दिएको छ ।

नेपाल प्रहरीले गत भदौ १४ मा एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा गठित समितिलाई डीआईजीको नेतृत्वमा रूपान्तरण गरिएको हो । गृह मन्त्रालयद्वारा सहसचिव हरि मैनालीको संयोजकत्वमा गठित छानबिन समितिले शनिवार गृहमन्त्री रामबहादुर थापालाई प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा यसअघि छानबिनमा संलग्न प्रहरी अधिकारीहरुको भूमिका शंकास्पद भएको औंल्याइएको छ । त्यसैकारण डिआइजीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको हो ।

कञ्चनपुरका तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट नेतृत्वको अनुसन्धानमा आशंका उत्पन्न भएपछि गृह मन्त्रालयले नयाँ एसपी पठाएको छ । एसपी बिष्टको अनुसन्धानमा कमजोरी देखिएकाले उनलाई काठमाडौंमा फिर्ता गरी भदौ ९ देखि नै निलम्बन गरिसकिएको छ । गृह मन्त्रालयले शनिबार दुई डीएसपीसहित पाँच जनालाई निलम्बन गरेको छ । निलम्बनमा परेकामा डीएसपीद्वय ज्ञानबहादुर सेटी र अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकीन्द्र खडका, प्रहरी सहायक निरीक्षक रामसिंह धामी छन् ।


अनुसन्धानमा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाइयो

गृह मन्त्रालयले निर्मला पन्तको घटनाको अनुसन्धान संलग्न सबै प्रहरी अधिकृतलाई जिम्मेवारीमुक्त गरी राजधानी फिर्ता बोलाएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूको भूमिकामाथि आशंका गरी अनुसन्धान सुरु गरिसकेको छ । घटनामा कसको के भूमिका रह्यो ? कसको के कमजोरी देखियो ? भन्ने विषयमा डीआईजी बस्नेतको समितिले अनुसन्धान गर्नेछ ।

‘नयाँ समितिले अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीको के कस्तो गल्ती रह्यो थप खुल्छ,’ समितिमा रहेका एक प्रहरी अधिकारीले भने ।

प्रकाशित : भाद्र ३१, २०७५ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?