दुई सय ऋणले एक वर्ष जेल

श्यामसुन्दर शशि

जनकपुर — मुलुकमा नयाँ अपराध संहिता आएपछि लेन–देन मुद्दामा सजिलो हुने विश्वास गरिएको बेला धनुषाका एक दलितले महाजनलाई दुई सय ऋण चुकाउन नसक्दा आइतबार एक वर्षको लागि जेल चलान गरिएका छन् । 

दुई सय ऋणले एक वर्ष जेल

जनकपुर उपमहानगरपालिका–१८, कुवा रामपुरका ६० वर्षीय राधाकृष्ण खंग (खत्वे) आइतबार स्वयं जिल्ला अदालत धनुषामा हाजिर भई जेल चलान गरी दिन आग्रह गरेका थिए ।

‘सुरुमा अदालतका कर्मचारीहरुले पक्राउ पूर्जी दिन आनाकानी गरेका थिए । पछि नागरिकता प्रमाणपत्र देखाए पछि, बल्ल जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखे,’ खंगसंगै अदालत पुगेका सोही गाउँका कुशेश्वर मेस्तरले जानकारी दिए ।

मेस्तरका अनुसार– खंगलाई जिल्ला अदालत पुर्‍याउन गाउँका सातजना दलितसँगै आएका थिए । ‘हामी स्नान र पुजा गरी गाउँको शिवमन्दिरमा भेला भयौं । भगवान शिवलाई साक्षी राखी सीधा जिल्ला अदालत पुगेर खंगलाई आत्मसमर्पण गरायौं,’ उनले भने ।

पत्रकार महासंघ धनुषाको विद्यापति चौकस्थित कार्यालयमा शनिबार पत्रकार सम्मेलन आयोजन गरी खंगले आफू आत्मसमर्पण गर्न लागेको जानकारी गराएका थिए । ‘प्रहरी पटक–पटक घरमा जान्छ । परिवारका महिला, पुरुषलाई धम्काउँछ । घर परिवारका सदस्यहरुलाई दु:ख दिनुको सट्टा जेलमै बस्छु,’ उनले भनेका थिए ।

पत्रकार सम्मेलनमा सहभागी हुन नेपाल पत्रकार महासंघ धनुषा शाखा कार्यालय जादै राधाकृष्ण खंग तथा निजका गाउँलेहरु । तस्बिर : श्यामसुन्दर शशि/कान्तिपुर


प्राप्त जानकारी अनुसार राधाकृष्ण खंगले गाउँकै बिक्रु भन्ने विक्रम यादवसँग २०४६ साल श्रावण १५ गते घर खर्चको लागि १ हजार ऋण लिएका थिए । स्थानीय चलन अनुसार महाजन यादवले उनीसँग मूलधनको तीन गुणा (३ हजार) को कपाली तमसुक बनाए । ऋण लिएको ९ महिना पछि २०४७ साल जेठ ९ गते उनले ८ सय बिक्रु महाजनलाई फर्काए ।

खंगका अनुसार बाँकी रहेको २ सय मूलधन तथा २ सय ७० रुपैयाँ ब्याजको गरी कुल ४ सय ७० रुपैयाँको सावा र ब्याज गरी २०४९ साल भदौ १५ गते २९ हजार मुलधन राखी अर्को कपाली तमसुक बनाइयो । २०६३ साल पुसमा जिल्ला अदालत धनुषाले उक्त रकमको सावा व्याज गरी १ लाख ६५ हजार बिगो भराउने फैसला सुनाएको थियो । झण्डै १० वर्षसम्म फैसला कार्यान्वयन हुननसके पनि उक्त मुद्दामा खंग आइतबार जेल चलान भएका हुन् । प्राप्त जानकारी अनुसार हाल उनले ३ लाख अधिक भुक्तान गर्नुपर्ने भएको छ ।

राधाकृष्ण खंगका अनुसार लेनदेन मुद्दा छिनोफानो गर्न गाउँमा पटक–पटक पञ्चायती बसे पनि महाजन विक्रम यादवले समझौता गर्न मानेनन् ।

‘गाउँका भद्र–भलादमीहरुले ९० हजार लिएर लेनदेन मुद्दा मिलापत्र गर्न फैसला सुनाएका थिए । मैले आफ्नो चार थान भैंसी र १० धूर जग्गा बिक्री गरेर पैसाको जोहो गरें । तर विक्रम यादव मानेनन्,’ खंग पत्रकार सम्मेलनमा भनेका थिए ।

रिक्सा चलाएर जीवनयापन गर्ने खंगको परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी छन् । विवाह पछि दुवै छोरी ससुरालमा छन् । दुवै छोरा अ–आफ्ना परिवारसहित छुट्टै बस्छन् । ‘म गरीब जेल गए पछि, मेरी बिमारी श्रीमतिको हेरचाह कसले गर्ने ?’ भावुक हुँदै खंगले भनेका थिए ।

यता महाजन विक्रम यादवका छोरा विकास यादवले राधाकृष्ण खंगले झुठो बोलेको आरोप लगाएका छन् । खंग खेत किन्न भनि निजको बुबासँग ३ हजार ऋण लिएको तथा कहिल्यै पनि रकम नफर्काएको प्रतिक्रृया दिए ।

उनले भने, ‘दुई सय रुपैयाँको १ लाख ६५ हजार कसैले, कसरी लिन्छ ? राधाकृष्ण झूठो आरोप लगाउँदै छ ।’ खंगले नै ग्रामीण पञ्चायतीलाई नमानेको आरोप विकासको छ ।


प्रकाशित : आश्विन १, २०७५ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?