कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

८० वर्षीयको गाउँ बदल्ने धोको

वीरेन्द्र केसी

काठमाडौँ — अनुहारमा चाउरी प्रस्ट देखिन्छ । दाँत आधा झरिसके । अक्षर चिन्न चस्मा चाहिन्छ । घरमा नातिपनाति खेलाएर बस्ने उमेर । दाह्री, कपाल सेतै फुलेका ८० वर्षीय तोमलाल भुसाल लौरो टेक्दै दैनिक वडा कार्यालय पुग्छन् । गाउँ डुल्नु त सोख भइहाल्यो ।

८० वर्षीयको गाउँ बदल्ने धोको

छत्रदेव गाउँपालिका २ का वडासदस्य भुसाल विकास योजना अनुगमन गर्न र नयाँ योजना पार्न उत्तिकै सक्रिय छन् । उनीभन्दा आधा कम उमेरका राजेश पन्थी वडाध्यक्ष र लेखनाथ पोखरेल गाउँपालिकाका अध्यक्ष छन् । दुवैले तोमलाललाई ‘बुबा’ भनेर सम्बोधन गर्छन् ।

भारतीय सेनाबाट अवकाशप्राप्त उनी बिहानै गाउँ डुल्छन् । दिउँसो वडा कार्यालय । गाउँभरि ‘भुसाल बा’ भनेर चिनिने उनी जीवनको उत्तराद्र्धमा राम्रो काम गर्ने धोको रहेको बताउँछन् । सदस्यमा धेरै मत ल्याएर जितेपछि गाउँ परिवर्तनको जिम्मेवारी आइलागेको छ । ‘मेरो पूरै समय जनताका कुरा सुन्ने, काम गर्ने र सहयोग गर्नेमै बित्छ,’ उनले भने, ‘वडाको बजेट परेका योजना घुमेको छु । कतै रकम चुहावट हुन दिन्नँ । गाउँले दिएको जिम्मेवारी पूरा गर्छु ।’ गाउँलेको भरोसा उनीमाथि नै छ । युवा जोस भारतीय सेनामा बितेकाले अब बुढेसकालमा गाउँलेको सेवा गर्न उनी दत्तचित्तले जुटेका छन् । टोल छिमेकको विकास र व्यक्तिगत समस्याबारे गुनासो पोख्न गाउँले उनको घरै पुग्छन् । विकास योजना बटुल्न उनी टोलटोल डुल्छन् ।


वडाको बैठक, गाउँपालिकाको कार्यक्रम र अतिथिका रूपमा बोलाइएका कार्यक्रममा उनी समयमै पुग्छन् । ‘बूढो भएर के भो र ? विकास गर्न उमेरले छेक्दैन,’ उनले भने, ‘मेरो सोच, विचार, योजना र काम भनेको वडावासीलाई खुसी पार्नु हो ।’ गाउँलेले भुसाललाई सजिलै समस्या भनेर योजना माग्छन् । वडा बैठकमा गाउँलेले मागेको योजनाका कुरा कडाइपूर्वक राख्छन् । वडा २ मा रहेको बल्कोट गाउँमा खानेपानीको समस्या छ । खेतबारीको अन्न भित्र्याउन हेरालु बस्नुपर्ने समस्या छ ।

लिफ्ट प्रविधिबाट खोलाको पानी तान्न लौरो टेकेरै सर्वे गरे । मोटरबाटो मर्मत, आयआर्जनसहित वडाबाट विनियोजित बजेटको सबै योजना हेर्न पुगेको उनले बताए । बिहानै उठ्छन् । दाह्री काट्छन् । खाजा खान्छन् अनि कोट, पाइन्ट लगाएर घरबाट हिँड्छन् । अघिल्लो दिन बेलुकी भोलि कहाँ जाने र के गर्ने तय गरेका हुन्छन् । ‘धेरैले बा भनेर माया गर्छन्, यस्तो चाहियो भनेर माग्छन्, म यसैमा खुसी छु,’ उनले भने । टोलमा पुगेका मोटरबाटो व्यवस्थित, सबैका घरमा विद्युत् सेवा र विदेश जाने युवालाई गाउँमै रोजगार दिन पूर्वाधार बनाउने योजनामा उनी अहिले दत्तचित्त छन् ।

‘उहाँलाई बोलाएपछि लौरो टेकेर जहाँ पनि टुप्लुक्क आइहाल्नुहुन्छ, उहाँमा ढाँट्ने र जालझेल गर्ने बानी छैन,’ बल्कोटका बाबुराम पौडेलले भने । युवाको भन्दा जोस कम्ती छैन । ‘लौरो सहायताले पैदल हिँडेरै सबै योजना अनुगमन गर्नुभयो, जाँगरिलो हुनुहुन्छ,’ उनले भने, ‘उहाँको काम गराइप्रति हामी खुसी छौं ।’ वडाका सबै जनप्रतिनिधिका उनी अभिभावक हुन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र सांसद पनि उनको जाँगर देखेर दंग छन् । सबैसँग विकास योजना डटेरै माग्छन् ।

गाउँलेको समस्या सम्बन्धित ठाउँमा खुलेरै राख्ने भएकाले सबैको प्यारो बनेका छन् । दैनिक वडा कार्यालयमा आएर जनताका काममा वडाध्यक्षलाई सघाउँछन् । दैनिक हाजिर हुने भुसाललाई सेवाग्राहीले सजिलै काम अह्राउँछन् । ‘तोमलाल हाम्रो अभिभावक हुनुहुन्छ,’ वडाध्यक्ष पन्थीले भने, ‘योजना छनोट, छलफल, योजना अनुगमन सबैमा सक्रिय हुनुहुन्छ । राम्रो सहयोग भएको छ ।’

प्रकाशित : आश्विन १, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?