कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

‘अपराधी खोज’भन्दा लट्ठी बर्साइयो

भवानी भट्ट

काठमाडौँ — भीमदत्त नगरपालिका १८, निम्बुखेडाकी ३३ वर्षीया मञ्जु गिरी घरमै किराना पसल राखेर परिवारको गुजारा चलाइरहेकी छन् । पसलको सामान पनि आफैं किनेर ल्याउँछिन् । बिहान सामान ल्याउने र दिनभरि पसल कुरेर बस्ने । यसरी नै उनको दैनिकी चलिरहेको थियो ।

‘अपराधी खोज’भन्दा लट्ठी बर्साइयो

साउन ११ मा निर्मलाको शव भेटिएदेखि नै उनी पनि अपराधी पत्ता लगाउनुपर्छ भन्दै आन्दोलनमा लागिन् । घरपरिवारलाई थाहै नदिई ससाना बालबालिका छडेर उनी करिब एक महिना आन्दोलनमा होमिइन् । भदौ ४ गते प्रहरीले दिलीप विष्टलाई अपराधीका रूपमा सार्वजनिक गरेको दोस्रो दिन आन्दोलन चर्कियो ।

उक्त दिन पनि मञ्जु सदाझैं बिहानै महेन्द्रनगर बजार पुगिन् । बजारमा आन्दोलन चर्किसकेको थियो । केही अधिकारकर्मी जिल्ला प्रशासनअगाडि रिले अनशनमा थिए । दिनभरि आन्दोलनमै रहेकी उनलाई साँझ जिल्ला प्रशासनअगाडि प्रहरीले निर्घात कुटपिट गर्‍यो । सादा पोसाकमा आन्दोलनमा घुसेका प्रहरीले नै ढुंगा हानेर आन्दोलन भडकाउन खोजेर प्रहरीले लाठी चार्ज गरेको उनी बताउँछिन् । ‘प्रहरीले आन्दोलन उग्र भएको भन्दै लाठी चार्ज र अश्रुग्यास प्रहार हुने भन्यो, त्यही बेलादेखि लाठी बर्सायो,’ मञ्जुले भनिन्, ‘सबैभन्दा आगाडि म नै थिएँ, प्रहरीले मेरो कपाल समातेर धेरै कुट्यो, त्यसपछि नालीमा फालिदियो ।’

मञ्जु नालीमा फालिएपछि केहीबेर बेहोस भइन् । जब त्यहाँ अश्रुग्यास प्रहार हुन थाल्यो, तब होस खुल्यो तर भाग्न सकिनन् । जेनतेत घस्रिँदै सडकमा पुगिन् । त्यतिबेला प्रहरी र आन्दोलनकारी केही टाढा पुगिसकेका थिए । उनलाई एकजना महिलाले उठाएर केही तलसम्म पुर्‍याइदिइन् । ‘घरमा नबताएर आन्दोलनमा आएका कारण अस्पताल जानुभन्दा जसोतसो घर पुगेर चोट लुकाउने कोसिस गरेकी थिएँ,’ उनले भनिन्, ‘तर पछि त बसेको ठाउँबाट उठ्नै सकिनँ ।’ उनको हातखुट्टा, कम्मर र छातीमा चोट लागेको थियो ।

त्यहाँबाट आन्दोलनमै रहेका महिलाहरूले उनलाई महाकाली अञ्चल अस्पताल पुर्‍याए । केहीबेर जाँच गरेपछि उनी बेहोस भइन् । राति नै उनलाई धनगढीस्थित सेती अञ्चल अस्पताल पुर्‍याइयो । एक्सरेमा उनलाई भित्री चोट नरहेको देखियो तर मांसपेशीमा चोट भएकाले बेड रेस्ट गर्नुपर्ने भनेपछि दोस्रो दिन औषधि ल्याएर मञ्जु घर फर्किइन् । ‘त्यति बेलादेखि अहिलेसम्म रेस्टमै छु,’ उनले भनिन्, ‘अहिले पनि हिँड्न सक्ने अवस्था छैन ।’ उनको टाउकामा पनि चोट छ । दुख्ने र रिंगटा लाग्ने भइरहन्छ ।


‘हामी त बलात्कारीलाई कारबाही होस् भनेर आन्दोलनमा गएका हौं,’ मञ्जुले भनिन्, ‘तर प्रहरीले हामीलाई नै अपराधी सरह व्यवहार गरेर कुट्यो ।’ उनी अहिले पनि घरका काम गर्न सक्ने अवस्थामा छैनन् । उनी अहिले पनि औषधि सेवन गरिरहेकी छन् । सरकारले आन्दोलन क्रममा घाइते भएकाहरूको उपचार खर्च बेहोर्ने भने पनि उनले केही पाएकी छैनन् ।


निम्बुखेडाकै तुलाराम उपाध्याय पनि घटना भएकै दिनदेखि अपराधी पत्ता लगाउनुपर्ने माग गर्दै आन्दोलनमा छन् । सुरुदेखि उनी आमा समूहसँगै निर्मलाको न्यायका लागि लडिरहेका छन् । न्याय दिनुपर्ने ठाउँमा उनलाई पनि प्रहरीले घाउ र चोट दियो ।

भदौ ८ गते तुलाराम जिल्ला प्रशासनअगाडि थिए । प्रहरीको गोली लागेर मृत्यु भएका सनी खुनाको शव हेर्न जाँदा उनीमाथि जिल्ला अदालतअगाडि प्रहरीले लाठी बर्सायो । उनी एक्लै महाकाली अञ्चल अस्पतालबाट जिल्ला प्रशासनतर्फ जाँदै थिए । झाडीमा लुकेर बसेका प्रहरीले उनलाई घेराभित्र हालेर कुटे । ‘मलाई नहान्नुस्, मेरो केही गल्ती छैन भन्दै थिएँ,’ उनले भने, ‘तर प्रहरीले तंै होस् ढुंगा हान्ने भन्दै चैन बनाएर कुट्यो ।’ प्रहरीको कुटाइबाट तुलाराम बाटामै बेहोस भए । त्यसपछि उनलाई स्थानीयले उपचारका लागि महाकाली अञ्चल अस्पताल पुर्‍याए ।

उनको शरीरभरि लाठीले हानेका घाउहरू अझै छन् । टाउकामा पनि चोट छ । टाउको दुख्ने र रिंगटा लाग्ने तथा कोही बोले रिस उठ्ने समस्या देखिएको छ । तुलारामले अहिले पनि हातमा पट्टी बाँधेका छन् । हड्डी नभाँचिए पनि मांसपेशीमा चोट लागेका कारण दुखिरहने भएकाले पट्टी लगाइराख्नुपरेको उनले बताए । अटो रिक्सा चलाएर परिवार पाल्ने उनले २० दिनसम्म काम गर्नै सकेनन् ।

भर्खर उनी अटो चलाउन थालेका छन् । ‘२० दिनसम्म मैले उधारो गरी परिवार पालेको छु,’ उनले भने, ‘यसको क्षतिपूर्ति कसले दिन्छ मलाई ।’तुलारामलाई सिनेमामा पनि सुरुमा अत्याचार हुने र पछि न्याय पाइने देखिने भएकाले निर्मला घटनामा पनि वास्तविक दोषी कानुनी कठघरामा हुने आशा जीवितै छ तर उनलाई न्याय माग्दा कुटपिट गर्ने र लाठी बर्साउने काम भने ठीक नभएको लाग्छ । ‘हामीले ठूलो चिज केही मागेका छैनौं,’ उनले भने, ‘अपराधी पत्ता लगाउनुस् भनेका हौं, यो त प्रहरी प्रशासनको डयुटी पनि हो ।’ सही ढंगले डयुटी गरिदिए अपराधी पत्ता लाग्ने उनले बताए ।

प्रकाशित : आश्विन १, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?