कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किशोरी बलात्कार र हत्या प्रकरण : मामाको शंकास्पद भूमिका

कञ्चनपुर — साउन १२ गते निर्मलाको शव भेटिएको भोलिपल्ट जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारका आफन्त र सुरक्षा निकायका प्रमुखबीच छलफल चलिरहेको थियो । यथाशीघ्र दोषी पहिचान गरी कारबाही र पीडित परिवारलाई राहत दिने विषयमा छलफल भइरहेको थियो ।

किशोरी बलात्कार र हत्या प्रकरण : मामाको शंकास्पद भूमिका

भीमदत्तकै २ र १८ वडाबाट ५/५ लाख पीडित परिवारलाई राहतस्वरूप दिने विषयमा कुराकानी हुँदै गर्दा निर्मलाका मामा तीर्थ भण्डारी भित्र छिरे । ‘५/५ लाख दिएर मेरी भान्जीको अन्तिम संस्कार गर्ने को हो ?’ भण्डारीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी निर्मलाका दाइ लक्ष्मी पन्तले सुनाए, ‘यस्तो जघन्य अपराध भएको छ, बा–आमालाई नसोधीकनै सहमति गर्ने कोसिस हुँदै छ ।’

अन्य सहभागीले कुरा बुझेर मात्रै बोल्न भनेपछि उनी केही समय रोकिए । तत्कालीन एसपी डिल्लीराज विष्टले छलफलमा भएका सहमति र अन्य विषयमा जानकारी गराएपछि उनी शान्त भए । एकछिनपछि तिनै तीर्थराज निर्मलाका आमा–बुवासहित घरका सबैलाई लिएर जिल्ला प्रशासन कार्यालय पुगे र भोलिपल्ट बिहानै निर्मलाको दाहसंस्कार गर्ने मौखिक सहमति गरेर फर्किए ।

शव भेटिएको तेस्रो दिन बिहान प्रहरी–प्रशासनको दबाबमा निर्मलाको दाहसंस्कार गर्न तयारी सुरु भयो । महाकाली अञ्चल अस्पतालमा कपडासहित अन्य सामग्रीको व्यवस्था गरिँदै थियो । त्यहीबेला प्रदर्शनकारीले अस्पतालभित्र पसेर दाहसंस्कार नगर्न दबाब दिए । आमाबुबा पनि पोस्टमार्टम रिपोर्ट नआई छोरीको दाहसंस्कार नगर्ने निष्कर्षमा पुगेका थिए ।

त्यही बेला भण्डारी अघि सरे । म निर्मलाको मामा हुँ, दाहसंस्कार गर्न दिनुपर्छ, म नै दाहसंस्कार गर्छु भने,’ लक्ष्मीले सुनाए, ‘विरोधका बाबजुद उनी अगाडि आएपछि निर्मलाका आमाबुवा त्यहाँबाट निस्किए ।’ त्यही साँझ जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुख र राजनीतिक दलका नेताहरूले दाहसंस्कारका लागि सबै पक्षसँग सहयोगको अपिल गर्ने सहमति गरे ।

तत्कालीन प्रजिअ कुमारबहादुर खड्का, एसपी विष्ट, सशस्त्र प्रहरीका एसपी विनोदराज श्रेष्ठ र नेकपाका रणबहादुर महरा, नेपाली कांग्रेसका दिवाकर पाण्डेय र राजपाकी प्रेमवती राना छलफलमा सहभागी थिए । राति साढे १० बजे पीडित परिवार र स्थानीय प्रशासनबीच दाहसंस्कार गर्ने लिखित सहमति भएको लक्ष्मीले बताए । सहमतिमा तीर्थ भण्डारीको पनि हस्ताक्षर छ ।

त्यहाँ प्रदेशसभाका सदस्य प्रकाश रावल, प्रमुख जिल्ला अधिकारी खड्का, एसपी विष्ट, नेपाली सेनाका प्रतिनिधिसँगै भीमदत्त र बेदकोट नगरपालिकाका प्रमुखलगायत उपस्थित थिए । ‘साढे ६ बजे नै दाहसंस्कार गर्ने सहमति भएको हो,’ लक्ष्मीले भने, ‘त्यसैअनुसार दोस्रो दिन बिहानै दाहसंस्कार गरियो ।’

छलफलमा तत्कालीन एसपी विष्टले आन्दोलनका कारण अनुसन्धान गर्न गाह्रो भएकाले चौथो दिन पनि दाहसंस्कार नगरिए कफ्र्यु लगाएर दाहसंस्कार गराउने चेतावनी दिएको उनले बताए । निर्मलाका बुवा यज्ञराजले पनि प्रहरीले पटक–पटक दबाब र धम्की दिएको बताउँदै आएका छन् । उनले प्रहरीकै दबाबमा दाहसंस्कार भएको बताएका छन् ।

शव भेटिएको चौथो दिन निर्मलाको दाहसंस्कार गरिएपछि मामा तीर्थराज सम्पर्कमा छैनन् । उनी मलामी पनि गएनन् । त्यही बेलादेखि उनी सम्पर्कमा नहुँदा अनेक शंका–उपशंका उब्जिएका छन् । निर्मलाका बुवा यज्ञराजले पनि यही गुनासो गरिरहेका छन् । तीर्थ आफ्नै मामा भने होइनन् । निर्मलाका आफ्नै मामा केशव भने शव भेटिएकै दिनदेखि सँगै थिए । डोटीको बुडरमा बस्ने उनी दोस्रो दिन आएका हुन् ।

(लक्ष्मी पन्तसँगको कुराकानीका आधारमा)

प्रकाशित : आश्विन १, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?