२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

भूगोलका कारण पनि नेपाल भारतबाट टाढा हुन सक्दैन – भारतीय सेना प्रमुख

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय सेना प्रमुख विपिन रावतले ‘भौगोलिक बाध्यता’ कारण नेपाल र भुटानले चाहेर पनि भारतबाट टाढा जान नसक्ने बताएका छन् । उनले भूगोलकै कारण यी दुई मुलुकले चीनतर्फ ढल्किन नसक्ने दाबी समेत गरेका छन् ।  

भूगोलका कारण पनि नेपाल भारतबाट टाढा हुन सक्दैन – भारतीय सेना प्रमुख

पुनेमा भएको बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास ‘माइलेक्स–१८’ को आइतबारको समापन समारोहपछि आयोजित पत्रकारहरुसँगको अन्तक्रियामा नेपाल सहभागी नभएको सन्दर्भमा रावतले त्यस्तो भनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सैन्य अभ्यासमा सहभागी नहुने नेपालको निर्णयबाट भारत सरकार असन्तुष्ट रहेको चर्चा चलिरहेको बेला रावतको उक्त भनाईलाई अर्थपूर्ण ठानिएको छ ।

‘उनीहरु भारतबाट टाढा जान सक्दैन । नेपाल र भुटानजस्ता मुलुकहरुले भूगोलका कारण स्वाभाविक रुपमा भारतर्फ झुकाव राख्नुपर्छ । भूगोलका कारण नै चीनतर्फ भन्दा भारततर्फ झुकाव राख्न अनुकूल छ, । हाम्रो नेतृत्वले पनि छिमेकी पहिले र पूर्व हेर नीति लिएको छ । बिमस्टेक पनि त्यही नीति अन्तर्गत पर्छ । त्यसैले हामीहरु छिमेकीसँगको सम्बन्ध सुदृढ पार्न प्रयासरत छौं । ठूलो मुलुक भएकाले हामीहरुले अग्रसरता देखायौं भने त्यसलाई अन्य मुलुकले अनुसरण गर्नेछन्,’ रावतलाई उद्धृत गर्दै भारतीय अंग्रेजी दैनिक द इण्डियन एक्सप्रेसले भनेको छ ।

तर सोही कार्यक्रममा भारतीय रक्षा राज्यमन्त्री सुभाष भाम्रेले भने नेपालमा सैन्य नेतृत्व भर्खरै परिवर्तन भएको हुँदा सैन्य भाग नलिने निर्णयलाई अन्य कोणबाट हेर्न नहुने बताएका छन् ।

साताव्यापी उक्त सैन्य अभ्यासमा नेपाल र थाइल्याण्ड औपचारिक रुपमा सहभागी भएनन् । दुवै मुलुकले पर्यवेक्षकका रुपमा मात्र सहभागिता जनाएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनमा प्रस्ताव गरेको संयुक्त सैन्य अभ्यास नेपालले अन्तिम समयमा भाग नलिने निर्णय गरेको थियो ।

पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा भाग नलिन नेपाली सेनालाई निर्देशन दिएका थिए । नेपालले चीनको प्रभावमा परेर उक्त निर्णय लिएको र त्यसबाट भारत असन्तुष्ट भएको दाबी भारतीय सञ्चारमाध्यमहरुले गरेका थिए ।

साथै नेपालले एकातिर भारतको प्रस्तावलाई अस्वीकार गरेको र अर्कोतर्फ आजबाट चीनसँगको बढ्दो निकटता परिणाम स्वरुप छेंग्दुमा सुरु हुने ‘सगरमाथा फ्रेन्डसीप–२’ नाम दिइएको नेपाल–चीन संयुक्त सैन्य अभ्यासमा सहभागी हुन लागेको समेत भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए । जबकि चीनसँगको सैन्य अभ्यास पूर्वनिर्धारित कार्यक्रमअनुसार नै हुन लागेको हो ।

भारतीय सेना प्रमुख रावतले चीनले पनि भारतले जस्तै बजार खोजिरहेको, त्यसमा दुवैबीच प्रतिस्पर्धा रहेको हुँदा जसले राम्रो गर्न सक्यो उसैले जित हासिल गर्ने समेत बताएको द इण्डियन एक्सप्रेस ले लेखेको छ । त्यसैगरी पुनेमा गरिएको जस्तै सैन्य अभ्यास भविष्यमा पनि जारी रहन्छ भन्ने प्रश्नमा रावतले भारतले पहल गरेको तर, यसलाई भविष्यमा कसरी र कहाँ निरन्तरता दिने सम्बन्धमा निक्र्यौल हुन बाँकी रहेको बताएका छन् ।

त्यसैगरी सोमबारदेखि बैंककमा सुरु हुने बिमस्टेक राष्ट्रका उच्च अधिकारीहरुको बैठकमा कनेक्टिभिटी मास्टर प्लानलगायतका एजेण्डामा छलफल हुने बताइएको छ । तीन साता अघि काठमाडौंमा सम्पन्न शिखर सम्मेलनले मास्टर प्लानलाई चाँडै टुंगोमा पुऱ्याउने निर्णय गरेको थियो ।

प्रकाशित : आश्विन १, २०७५ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?