कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपराधी जुनसुकै ओहोदाको भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री

किशोरी बलात्कार र हत्या प्रकरण
रासस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन् । 

अपराधी जुनसुकै ओहोदाको भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री

घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न साेमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका बुबाआमासहित प्रदेश ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा कुनै हिसाबले शक्तिशाली भए पनि दोषी उम्कन नसक्ने बताए ।

उनले घटना मानवतामाथिकै कलंक र जघन्य अपराधको भएकाले कडाइका साथ छानबिन र निर्ममताका साथ कारवाही गर्न आफूले शुरुदेखि गृह मन्त्रालयलाई निर्देशन दिएको भन्दै जिल्लास्थित तत्कालीन सुरक्षा अधिकारीको छानबिन र गतिविधि सन्दिग्ध भएकाले निलम्बनसमेत गरिएको र पछिल्लो समयमा प्रहरी नायब महानिरीक्षकको संयोजकत्वमा शक्तिशाली छानबिन समिति गठन गरिएको जानकारी दिए ।

'प्रारम्भिक छानबिनमा त्यहाँका प्रहरीको भरपर्दा दोषी पत्ता लगाउने काममा ढिलाइ भयो । प्रहरीका अधिकृतले गल्ती वा बदमासी गरेका हुन सक्छन् तर अनुसन्धान पूरा नभइकन आरोप लगाइहाल्न मिल्दैन ।' प्रधानमन्त्री ओलीले भने, 'त्यसैले राज्यले छानबिन गर्छ । कुनै जुलुस र धर्ना नभए पनि राज्यले कानूनी कारवाही गर्छ । दोषीलाई बचाउने कुरा सोच्न पनि सकिन्न ।'


उनले यस्ता आपराधिक घटना र मनोवृत्तिलाई सामान्य रुपमा लिन नहुने बताउँदै कुनै पनि हालतमा अपराधीले छुट नपाउने जनाए ।

कञ्चनपुरमा गत साउन १० गते निर्मलाको शव उखुबारीको पानीमा भेटिएको थियो । निर्मलाकी आमा दुर्गामायाले अपराध लुकाउन प्रमाण नष्ट गरिएको र ६० दिन बित्न लाग्दा पनि दोषीमाथि कारवाही नभएकाले बाध्य भएर प्रधानमन्त्रीसँग न्याय माग्न आएको गुनासो गर्नुभयो ।


नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले अपराधीलाई कानूनको कठघरामा ल्याउन सरकारले कुनै कदम बाँकी राख्न नहुने बताए । कांग्रेसका नेता नारायणप्रकाश साउदले कञ्चनपुरवासीलाई न्याय दिन र त्यहाँको वातावरण शान्तिपूर्ण बनाउन प्रमुख प्रतिपक्षलगायत सबै दल लागिरहेकाले सरकारले दोषी पत्ता लगाई कारवाही गर्नुपर्ने माग गरे ।

प्रकाशित : आश्विन १, २०७५ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?