कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

एसिड प्रहार गरेको आरोपमा छिमेकी पक्राउ

शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका-६ की १८ वर्षीया सम्झनाकुमारी दास र उनकी १५ वर्षीया बहिनी सुस्मिता कुमारीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ । घटनाको ६ दिनपछि सोमबार एसिड प्रहार गरेको आरोपमा कीर्तिपुर अस्पतालबाट रामबाबु पासवान पक्राउ परेका हुन् ।

एसिड प्रहार गरेको आरोपमा छिमेकी पक्राउ

उनी बिरामीको बुबा जादोलाल दाससँगै कुरुवा बस्न गएका थिए । इलाका प्रहरी चन्द्रनिगाहपुरको टोलीले पासवानलाई पक्राउ गरेको हो । पासवान दासका छिमेकी हुन् । उनको र दासको घर आमने सामने छ । प्रहरीले पक्राउ गरेकोबारे जानकारी दिएको छैन । पीडितका बुवा जादेलालले पासवानलाई पक्राउ गरेको पुष्टी गरे ।


गएको भदौ २६ गते राति करिब १२ बजे सम्झना र सुस्मिता सुत्ने कोठामा प्रवेश गरि एसिड प्रहार गरिएको थियो । एसिड परे लगत्तै दुवैजना कराउँदै बाहिर निस्केका थिए । शरीरमा फैलिएको पीडा सहन नसकेर दिदीबहिनी दौडेर आगनको धारामा रुँदै नुहाउन थालेका थिए । त्यसै बेला पासवान सहयोगको नाटक देखाउँदै पुगेका थिए । त्यसपछि बुवा जादोलाल घर आए । उनी बजारमा भाडामा लिइएको पुल हाउसमा सुत्थे । दुवै छोरी एसिड लागेर छटपटाई रहेका थिए । एम्बुलेन्स बोलाएर हतारमा अस्पताल लगे । पासवान पनि सँगै गएका थिए । छिमेकीको नाताले सहयोगी बनेका पासवान माथि कसैले शंका गर्ने आधार नै थिएन ।


एसिड प्रहार गरेको राति सबैभन्दा पहिले पासवान नै सम्झनाको घर पुगेका थिए । ‘लौ कसैले एसिड हालेछ भनेर उसैले धारामा नुहाउन लगाए छ,’जादोलालले भने,‘मलाई सुरुदेखि नै पासवान माथि शंका लागेको थियो । तर प्रमाण बिना केही भन्न सकिनँ,’ बुबा जादोलाले भने । घटना लगत्तै सम्झना र सुस्मितालाई चन्द्रपुर अस्पताल ल्याउन पासवानले नै सघाएका थिए । अस्पतालले थप उपचारका लागि भन्दै काठमाडौं रेफर गरेपछि उनी साथै गएका थिए ।


एकदिन मोबाइलको ब्याट्रीचार्ज सकिए पछि जादोलालले उनको मोबाइल मागे । दिन आनाकानी गरेपछि जदोलालको मनमा शंका पस्यो । ‘त्यस दिनदेखि पासवानमाथि निगरानी बढाउन थालेँ,’उनले भने,‘पासवानको हरेक गतिबिधि शंकास्पद थियो । म कतै गए भने बाहिरसम्म आएर हेर्थ्यो ।’ पासवानले अर्को दिन मोबाइल हराएको नाटक गरेपछि शंका गर्ने ठाउँ प्रशस्तै बढ्यो । उनी पक्राउ परेकोमा पीडित परिवारमा केही खुशी छाएको छ । जादोलालले पासवानलाई हदैसम्मको सजाय हुनु पर्ने बताए ।


अहिले विरामी दुवैको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सम्झनाको अवस्था अहिले पनि गम्भीर छ । उनको शरीरको ३५ प्रतिशत भाग जलेको छ । एसिडले उनको अनुहार, घाँटी, ढाड र छातीको भाग जलेको छ । उनलाई आईसीयूमा भर्ना गरिएको छ । भेन्टिलेटरमा राखिएको छ । चिकित्सकले उनको शल्यक्रिया गरी जलेको भाग काटेर फालिएको छ । सुस्मिताको भने अवस्था सामान्य छ । एसिडले उनको दाहिने हत्केलादेखि काखीसम्म पूरै जलेको छ । उनलाई आकस्मिक वार्डमा राखेर उपचार गरिएको छ ।


प्रकाशित : आश्विन १, २०७५ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?