कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

म पनि निर्मलाको अभिभावक हुँ, दोषी उम्किँदैन : प्रधानमन्त्री

निर्मलाका बाबुआमाले प्रधानमन्त्री भेटे

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रारम्भिक छानबिनमा कमजोरी भएको स्विकार्दै दोषी पत्ता लगाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

म पनि निर्मलाको अभिभावक हुँ, दोषी उम्किँदैन : प्रधानमन्त्री

दोषी पत्ता लगाई कारबाहीको माग राखी राजधानी आएका पन्तका बाबु यज्ञराज र आमा दुर्गादेवीलाई सोमबार भेटेर प्रधानमन्त्री ओलीले जुनसुकै ओहदाको भए पनि दोषीलाई कारबाही गरिने बताए । ‘म पनि निर्मलाको अभिभावक हुँ । यस्तो पाशविक हत्यामा संलग्न व्यक्ति जतिसुकै बलियो र जुनसुकै ओहदाको भए पनि छाडिँदैन,’ ओलीले भने, ‘प्रारम्भिक छानबिनमा भएको कमजोरीका कारण अपराधी पत्ता लगाउन केही समय लागे पनि अपराधी पत्ता लगाई कडा कारबाही गरिनेछ ।’

घटना छानबिनका लागि दुईवटा समितिले चित्तबुझ्दो काम नगरेपछि सरकारले डीआईजी धिरु बस्नेतको संयोजकत्वमा अर्को समिति बनाएको छ । प्रधानमन्त्री ओलीले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेकपा र कांग्रेसका नेता, सांसद र मन्त्रीसहितको टोलीसँग झन्डै आधा घण्टा कुराकानी गरेका थिए । उनले यो जघन्य अपराध भएकाले दोषी जो भए पनि कारबाहीमा पर्ने बताए । ‘कुनै पनि हालतमा कसैले पनि अपराधमा छुट पाउँदैन,’ उनले भने, ‘यो घटनबाट तपाईंहरू जत्तिकै म पनि दु:खी छु ।’

उनले राज्यका संयन्त्रबाटै कारबाही अघि बढाउनुपर्ने भएकाले स्थानीय प्रहरीले छानबिन थालेको तर त्यसमा कमजोरी देखिएकाले निलम्बन गरी नयाँ छानबिन सुरु भएको जानकारी दिए । ‘सुुरुदेखि नै म गम्भीर छु । कुनै घटना भयो भने पहिले त्यहीँकै प्रहरीले छानबिन अघि बढाउने हो तर त्यो छानबिनमा कमजोरी देखिएकाले अर्को टोली पठाइयो । त्यसमा पनि समस्या छ भनेर अहिले अर्को टोली पठाइएको छ,’ उनले भने, ‘धन, बल र ओहदाको ठूलो जोसुकै होस्, दोषी उम्किँदैन ।’

प्रधानमन्त्रीसँगको भेटमा निर्मलाकी आमा दुर्गादेवीले घटनाको विवरण प्रधानमन्त्रीसमक्ष राखेकी थिइन् । उनीसँग गएको टोलीले प्रधानमन्त्रीलाई छिटो दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेका थिए । नेकपाका नेता भीम रावलले जघन्य अपराध भएकाले दोषी नउम्किने गरी छिटो छानबिन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । कांग्रेस नेता एनपी साउदले यो घटना मानवताविरुद्धकै अपराध भएकाले यसलाई राजनीतिक रूपमा नबुझ्न प्रधानमन्त्रीलाई आग्रह गरे । ‘अपराधी कुनै पार्टीका हुँदैनन्, त्यसैले अपराधीलाई छिटो कारबाही दायरामा ल्याउनुपर्‍यो,’ साउदले भने ।

प्रकाशित : आश्विन १, २०७५ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?