नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र महाप्रबन्धकले हात मिलाउँदै भने- 'मिलेर संस्थालाई उचाइमा पुर्‍याउँ'

काठमाडौँ — ध्वाजबहाक कम्पनी नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले सरकारले नियुक्त गरेका कार्यकारी अध्यक्ष मदन खरेलसँग मिलेर निगमलाई उचाईमा पुर्‍याउने बताएका छन् । 

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र महाप्रबन्धकले हात मिलाउँदै भने- 'मिलेर संस्थालाई उचाइमा पुर्‍याउँ'

सोमबार कार्यकारी अध्यक्ष खरेललाई निगमको केन्द्रीय कार्यालयमा स्वागत गर्दै उनले आफ्नो बाँकी साढे ८ महिनाको कार्यकालमा प्रमुख सल्लाहकारको भूमिका निर्वाह गर्ने बताए । ‘नेपाल सरकारको निर्णय हो । हामीले पालाना गर्नैपर्छ,’ कंसाकारले स्वागत समारोहमा आफूले बोलेको मन्तव्यबारे कान्तिपुरसँग भने, ‘जे निर्णय भएको छ राम्रैका लागि भएको होला पालना गर्नुपर्छ ।’

शुक्रबार निगमको सञ्चालक समिति सदस्यका रुपमा नियुक्त गरिएका खरेललाई मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । खरेललाई महानिर्देशकका सबै अधिकार दिइएको छ । कंसाकारलाई सरकारले ०७२ जेठमा ४ वर्षकालागि महाप्रबन्धकमा नियुक्त गरेको थियो । उनको कार्यकाल आगामी जेठमा सकिँदै छ । कंसाकारअघि निगममा खुला प्रतिस्पर्धाबाट ०६९ मंसिरमा खरेल महाप्रबन्धकमा छानिएका थिए । तत्कालीन सरकारले निगमको सञ्चालक समितिको अध्यक्षमा शिवशरण न्यौपानेलाई नियुक्ति गरेपछि महाप्रबन्धक र अध्यक्षबीच असमझदारी बढ्दै गएको थियो ।


०७३ मंसिरसम्म कार्यकाल रहेका खरेलले आफ्नै सञ्चालक समितिका अध्यक्ष लगायतबाट काम गर्न नसकिने भएपछि ०७१ चैतमा २९ महिनामै राजीनामा दिएका थिए । उनको कार्यकालमा दुईटा न्यरोबडी एयरबस ३२० र दुईटा चिनियाँ जहाज भित्र्याइएको थियो । उनी हटेपछि सरकारले ०७२ जेठ मा सुगतरत्न कंसाकारलाई महाप्रबन्धकमा नियुक्त गरेको थियो । निगममा कंसाकारको यो तेस्रो नियुक्ति थियो । तेस्रोपटको नियुक्तिसम्म आइपुग्दा उनले १० वटा पर्यटनमन्त्रीसँग काम गरेको बताए । हिसिला यमी पर्यटन मन्त्री हुँदा कंसाकार पहिलोपटक निगममा ०६५ कात्तिकमा महाप्रबन्धकमा रुपमा प्रवेश गरेका थिए । यो उनको सातौं राजनीतिक नियुक्ति थियो ।


कंसाकारले पछिल्लोपटक नेपाल वायुसेवा निगममा २३ अर्ब ऋणमा दुईटा वाइडबडी विमान ल्याएका छन् । यी विमानसँग जोडिएका थुप्रै विषयमा काम बाँकी नै रहेकाले उनले आफूले निगमबाट राजीनामा नदिने बताए । ‘जहाज ल्याइयो तर, जहाजको खरिद प्रक्रियाका विषयमा संसदीय समिति, अख्तियार, सरकारको चासो भएकाले यी विषय टुंग्याउन म निगम छाड्दिनँ,’ कंसाकारले भने, ‘केही तत्वहरु निगमलाई धराशायी बनाउन लागिपरेका छन् तर म कार्यकारी अध्यक्षसँगै मिलेर काम गर्ने छु ।’


‘महाप्रबन्धकको सबै अधिकार कार्यकारी अध्यक्षलाई दिइएको छ । म अब फुर्सदिलो भएँ,’ कंसाकारले भने, ‘यदि कार्यकारी अध्यक्षले मलाई बाइपास गर्दै काम गरेपनि मेरो कुनै आपत्ती रहने छैन ।’


आइतबार सरकारको निर्णयपछि सोमबार बिहान आफूले खरेललाई फोनबाट बधाई दिँदै उनलाई लिन गाडी पठाइदिएको बताउँदै भने, ‘पहिले लिम्बूको पालामा जस्तो झिनामसिना विषयमा अब निगममा विवाद उठ्दैन । पर्यटन क्षेत्र नै नेपालको मुहार फेर्न तुलनात्मक लाभ भएको वस्तु भएकाले निगमलाई थप उचाईमा पुर्‍याउन लागिरहने छु ।’ यसअघि ०६६ सालमा लिम्बू र कंसाकारबीच द्वन्द्व हुँदा कार्यकक्ष, क्षेत्राधिकार, गाडी आदि विषयमा विवाद भएको थियो ।

यसैबीच कार्यकारी अध्यक्ष खरेलले कार्यकारी विवादको कुरा टुंगिएको बताउँदै कंसाकारसँग मिलेर अघि बढ्ने बताए । ‘कार्यकारी विवाद बेकारको हौवा हो,’ खरेलले कान्तिपुरसँग भने, ‘निगम नियम कानुनले चलेको संस्था हो । समय धेरै परिवर्तन भइसकेको छ हामी नयाँ स्प्रिटका साथ निगमको हितमा अघि बढ्ने छौं ।’ उनले कंसाकारले ल्याएका वाइडबडी विमानको रुट, बजार विस्तार गर्दै भएका जहाजको अधिकतम सदुपयोग गरिने बताए । निगमको ऐनले कार्यकारी अध्यक्ष, महाप्रबन्धक, निर्देशक, प्रबन्धक आदि सबैको काम कर्तव्यबारे उल्लेख भएको जनाउँदै निगमलाई थप उचाईमा आफू लाग्ने बताए ।

प्रकाशित : आश्विन १, २०७५ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?