१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

किशोरी बलात्कार र हत्या प्रकरण : एसपीसहित १६ प्रहरीमाथि छानबिन सुरु

डीआईजी बस्नेत नेतृत्वको समितिले अनुसन्धानमा संलग्न १६ जना प्रहरीलाई हेडक्वार्टर बोलाएर बयान लिन थालेको छ ।
जनकराज सापकोटा

काठमाडौँ — कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या घटना अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले आइतबार डीआईजी धिरु बस्नेतको नेतृत्वमा बनाएको छानबिन समितिले काम सुरु गरेको छ ।

किशोरी बलात्कार र हत्या प्रकरण : एसपीसहित १६ प्रहरीमाथि छानबिन सुरु

समितिले सोमबार मात्रै पन्तको बलात्कार र हत्या घटना अनुसन्धानमा संलग्न एसपी डिल्लीराज विष्टसहित नौ अधिकारीसँग प्रहरी प्रधान कार्यालयमा बयान लिएको छ । अनुसन्धानमा प्रत्यक्ष संलग्न १६ जनाको बयान लिने तयारीअनुरूप सबैलाई प्रधान कार्यालयमा बोलाइसकिएको छ । सबैजसो अधिकारीसँग अनुसन्धानमा उनीहरूको भूमिका के थियो, अनुसन्धान कसरी अगाडि बढाइयो भन्नेदेखि अनुसन्धान निष्कर्षमा पुग्न नसक्नुको कारणबारे सोधिएको छ ।


समितिले निर्मला पन्तको अनुसन्धानमा संलग्न ६ जनाको बयान लिइसकेको छ भने अन्यको पनि पालैपालो बयान लिइनेछ । प्रत्यक्ष रूपमा घटनाको अनुसन्धानमा खटिएकाहरूको पोलिग्राफ टेस्टसमेत गर्ने समितिको तयारी छ । एक सदस्यका अनुसार घटना कसरी घट्यो र दोषी को हो भन्दा पनि प्रहरीको अनुसन्धान कहाँ, कसरी र कस्तो त्रुटि भयो भन्नेमा समिति केन्द्रित भएको छ ।


यसअघि भदौ १४ मा प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा समिति गठन गरे पनि केही दिनमै उनी नियमित कार्यक्रममा सहभागी हुन चीन पुगेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनी एक सातापछि मात्रै नेपाल आइपुग्नेछन् । समितिको नेतृत्व गरेकै व्यक्ति चीन गएपछि र त्यसलगत्तै गृहले अनुसन्धानमा संलग्न अधिकारीलाई निलम्बन गरेपछि दबाबमा परेको प्रहरीले डीआईजी बस्नेतको नेतृत्वमा समिति गठन गरेको थियो ।


गृह मन्त्रालयले भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा समिति गठन गरेर अनुसन्धान अगाडि बढाएको थियो । उक्त समितिले भदौ ३० मा गृहमन्त्री रामबहादुर थापालाई प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनकै आधारमा गृह मन्त्रालयले गत शनिबार एसपी डिल्लीराज विष्टसहित पाँच जनालाई निलम्बन गरेको थियो ।


घटनालगत्तै केन्द्रीय अनुसन्धान ब्युरोले डीएसपी अंगुर जीसीको नेतृत्वमा अनुसन्धान टोली कञ्चनपुर पठाएको थियो । उक्त टोली फर्केलगत्तै केन्द्रीय अनुसन्धन ब्युरोबाटै एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वको अर्को समितिले घटनामाथि अनुसन्धान थालेको थियो ।


अबको बाटो

कञ्चनपुर घटनाको अनुसन्धान कसरी टुंगोमा पुर्‍याउने भन्नेबारे प्रहरीले कुनै निर्दिष्ट बाटो पक्रिसकेको देखिँदैन । समय लम्बिँदै जाँदा र प्रमाणहरू नष्ट भइसकेको अवस्थामा अभियुक्त पत्ता लगाउन सजिलो छैन । अनुसन्धानमा भएका त्रुटिबाट केही नयाँ तथ्य स्थापित हुने प्रहरीको आशा भए पनि बयानमा बोलाइएका धेरैजसो प्रहरीले कुनै योजना बनाएर प्रमाण नष्ट गरिएको भन्दा पनि दबाबका बीच काम गर्दा त्यस्तो हुन गएको बयान दिएका छन् ।


अनुसन्धानमा संलग्न प्रहरीका अनुसार भेजाइनल स्वाबमा भेटिएको वीर्य नै प्रहरीका निम्ति सबैभन्दा बलियो प्रमाण हो । त्यसका अलावा घटनास्थलमा सक्रिय फोन र शंकाको घेरामा तानिएका व्यक्तिहरूको फोनको विवरणलाई पनि अनुसन्धान समितिले दोहोर्‍याएर केलाउने तयारी गरेको छ ।


पूर्वडीआईजी नवराज ढकाल कञ्चनपुर घटनाले प्रहरीको सामाजिक छवि धमिल्याएको टिप्पणी गर्छन् । ढकालको अनुभवमा अब प्रहरीले तय गर्ने बाटो भनेकै सुरुदेखि नै अनुसन्धान गर्नु हो । उनले भने, ‘अनुसन्धानले बाटो बिराएपछि सुरुदेखि नै अनुसन्धान गर्नुको विकल्प छैन ।’ उनले कञ्चनपुर घटनाबाट गिरेको प्रहरीको साख उकास्न प्रहरी प्रधान कार्यालयले नै विशेष रणनीति तय गर्नुपर्ने बताए ।


प्रकाशित : आश्विन १, २०७५ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?