१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

संगठित मानव तस्करी : सहयोगी थुनिन्छन्, मुख्य अभियुक्त बाहिरको बाहिरै

जनकराज सापकाेटा

काठमाडौँ — महानगरीय प्रहरी अपराध महाशाखाले संगठित मानव तस्करीमाथि कारबाही सुरु गरेको तीन महिना भइसक्दा पनि विस्तृत अनुसन्धान अगाडि बढाएको छैन । महाशाखाले तस्करी घटनामा जोडिएका सहायक पात्रलाई पक्राउ गरेर मुद्दा चलाएको दुई महिना भइसकेको छ तर मुख्य व्यक्ति अझै समातिएका छैनन् ।

संगठित मानव तस्करी : सहयोगी थुनिन्छन्, मुख्य अभियुक्त बाहिरको बाहिरै

अमेरिका र क्यानाडामा बसेर संगठित मानव तस्करीको गिरोह सञ्चालन गरेको आरोप लागेका सुदर्शन गौतमको आश्वासनमा रकम फसाएकाहरू पक्राउ परे पनि रकम उठाउन निर्देशन दिने र जिम्मा पाएकाहरू पक्राउ परेका छैनन् ।

महाशाखाले असार पहिलो साता बाग्लुङ रिगाका सागर श्रीस, ओखलढुंगाका अनिल बानियाँ, काठमाडौंका सुरज काफ्ले र म्याग्दी निस्कोटका लेकबहादुर पुनलाई पक्रेको थियो । तीमध्ये सागर श्रीस यसअघि पनि मानव तस्करीको मुद्दामा पक्राउ परेर छुटेका हुन् भने लेक, अनिल र सुरज मानव तस्करी घटनामा प्रत्यक्ष संग्लन देखिँदैनन् ।

भारतको ऋषिकेशमा कफी सप चलाउने बाबुले भनेअनुसार रकम बुझ्ने काम गरेकै आरोपमा अनिल पक्राउ परेका हुन् । अनिलका बाबुले अमेरिका जान भन्दै हिँडेका दुई युवतीलाई ऋषिकेशमा भेटेपछि भारु साटिदिएका थिए । बाबुले रकम साटेपछि त्यसको सोधभर्नाबापत रकम बुझेकै आरोपमा अनिल एक महिनाभन्दा लामो समयदेखि पुर्पक्षका लागि सुनधारास्थित केन्द्रीय कारागारमा थुनामा छन् । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार अनिलको सोझो सम्बन्ध मानव तस्करीमा देखिँदैन । मानव तस्करीका मुख्य व्यक्ति भनिएका सुदर्शन गौतमसँग पनि उनको साइनो भेटिएको छैन ।

थुनामा रहेका अर्का व्यक्ति हुन्, सुरज काफ्ले । उनी अमेरिका जाने क्रममा क्यारेबियन समुद्रमा अकालमा मृत्युवरण गरेकी सुमित्रा काफ्लेका बैनीज्वाइँ हुन् । सुदर्शनको निर्देशनमा अमेरिका हिँडेका दुई युवतीले सुरजको खातामा हैटीबाट पाँच लाख रुपैयाँ डिपोजिट गरिदिएकै भरमा उनी पक्राउ परेका हुन् । मानव तस्करीमा उनको भूमिका र सुदर्शनसँगको सम्बन्धबारे प्रहरीले अझै ठोस आधार भेटाउन सकेको छैन ।

म्याग्दी निस्कोटका पुनको मुख्य दोष सुदर्शनको भनाइमा विश्वास गर्नु हो । उनले सुदर्शनले भनेअनुसार रकम उठाएर उनैले भनेका मान्छेका खातामा रकम हालिदिएका थिए । वाचा गरेअनुसार आफ्ना मान्छे अमेरिका नपठाएपछि र रकम फसेपछि पीडित बनेका लेकले सुदर्शनसँग रकम फिर्ताका लागि पहल गरिरहेका बेला अमेरिका जान भन्दै हैटी पुगेका दुई युवतीले सुदर्शनको आदेशमा उनका खातामा रकम हालिदिन्छन् । हैटीबाट खातामा रकम आउनु नै लेकका निम्ति गलपासो भइदियो ।

फसेको ६० लाखमध्ये दस लाख उठाउन बाँकी रहेका बेला लेक असार १२ गते पक्राउ परेका थिए । लेकका दाइ लील पुनले भने, ‘खातामा रकम आएकै अभियोगमा दाइ पक्राउ परे । न उनी मानव तस्करीका सहयोगकर्ता हुन्, न कसैको पैसा उठाएर खाएको अभियोग नै छ ।’ उनी झन्डै दुई महिनादेखि केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा छन् । सुदर्शनका निम्ति पैसा संकलन गर्ने काम पाएका व्यक्ति भने महाशाखाको दायरामा आएका छैनन् । रकम उठाउनेहरूको विवरण महाशाखासँग भए पनि कारबाही दायरामा तानिइसकेका छैनन् ।

काठमाडौं बस्ने लेकका दाइ लीलले सुदर्शनले अमेरिकाबाट भनेअनुसार विभिन्न व्यक्तिका खातामा ४० लाख ५० हजार रुपैयाँ डिपोजिट गरिदिएको देखिन्छ । लीलले २६ जुन २०१६ मा नबिल बैंकमा रहेको सञ्जीव थापाको खातामा १० लाख, नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको राजकुमार प्रधानको खातामा २८ जुन २०१६ मा ५ लाख र सोम ओम शिव फिल्मसको कुमारी बैंकको खातामा २२ जुलाई र २२ अगस्टमा १२ र ५ लाख रुपैयाँ डिपोजिट गरेको देखिन्छ । महाशाखाले अहिलेसम्म लेकले रकम जम्मा गरेका खातावाला को हुन् र उनीहरूले किन सुदर्शनको पैसा बुझे भन्नेबारे अनुसन्धान गरेको देखिँदैन ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भए पनि सोम ओम शिव फिल्मसको अस्तित्व न चलचित्र विकास बोर्डमा देखिन्छ, न चलचित्र निर्माता संघ नै यसबारे जानकार छ । स्रोतका अनुसार सोम ओम शिव फिल्मसको ब्यानर देखाएरै सुदर्शनले अमेरिका र क्यानाडामा कलाकारका नाममा मानव तस्करीको धन्दा चलाएका थिए ।

यस्तो थियो घटना
नौ महिनाअघि भारतको नयाँदिल्लीबाट तीन नेपाली महिला रूसको राजधानी मस्को, कोलम्बियाको राजधानी बोगटा हुँदै टापु राष्ट्र डोमिनिक र त्यहाँबाट हैटीको राजधानी पोर्ट औं प्रिन्स पुगे । संगठित मानव तस्करले हैटीमा छायांकन गरिने ‘संस्कार’ नामक फिल्ममा अभिनय गर्ने भन्दै बनाइदिएको कागजातका भरमा उनीहरू त्यहाँ पुगेका थिए ।

२३ जनवरी २०१७ मा हैटी फिल्मसले सुमित्रा कुँवरसहितका दुई महिलालाई आमन्त्रण गरेको देखिन्छ । पत्रअनुसार सुमित्रा प्रोडक्सन असिस्टेन्ट म्यानेजर र अन्य कलाकारको हैसियतमा गएका हुन् । तीनै जनालाई महिनौं एक अपार्टमेन्टमा राखेर मानव तस्करले पोर्ट औं प्रिन्सबाट क्यारेबियन सी हुँदै अवैध रूपमा अमेरिका लैजान खोज्दा पानीजहाज हराएपछि मानव तस्करीको अन्तरदेशीय सञ्जालबारे खुलेको थियो ।

हैटीबाट अमेरिका हिँडेको पानीजहाज समुद्रमा दिशाहीन भएर हराएपछि पानी र खानेकुरा सकिएर सुमित्रा कुँवरको मृत्यु भएको थियो । मानव तस्करका एजेन्टले शव गन्हाउने र तस्करीको घटना बाहिर आउने भन्दै सुमित्रालाई समुद्रमै मिल्काइदिए । दिशाहीन जहाजलाई टापु राष्ट्र बहमासका जल सेनाले उद्धार गरेपछि सुमित्रासँगै हिँडेका दुई नेपाली युवतीको उद्धार सम्भव भयो ।

उद्धारपछि अमेरिकास्थित नेपाली दूतावासले उनीहरूलाई क्युबा हुँदै नेपाल पठायो । अमेरिका छिर्ने सपनामा ६० लाख रुपैयाँ गुमाएका र नौ महिना लामो अप्ठ्यारो यात्रा छिचोलेर नेपाल फर्केका युवतीले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएपछि संगठित मानव तस्करीको अनुसन्धान अगाडि बढेको थियो ।

रेडकर्नर नोटिस जारी गरिँदै
संगठित मानव तस्करीमा संलग्न भएको भन्दै महाशाखाले सुदर्शनविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मार्फत रेडकर्नर नोटिस जारी गर्ने प्रक्रिया अगाडि बढाए पनि त्यसले पूर्णता पाएको छैन । प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार झन्डै महिना दिनअघि प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले सुदर्शनविरुद्ध रेडकर्नर नोटिस जारी गर्न इन्टरपोल हेडक्वार्टरमा पत्राचार गरेको थियो ।

इन्टरपोलले रेडकर्नर नोटिस जारी गर्नका निम्ति थप आवश्यक कागजात मागेपछि प्रहरी प्रधान कार्यालयले अपराध महाशाखासँग मुद्दासम्बन्धी थप कागजात झिकाएको छ । प्रवक्ता थापाले भने, ‘महाशाखाबाट थप कागजात आइसकेको छ । अब छिट्टै इन्टरपोल हेडक्वार्टरमा पठाउँछौं ।’

प्रकाशित : आश्विन २, २०७५ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?