१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बलात्कार मानसिक रोग

बेलैमा ल्याए उपचार सम्भव : मनोचिकित्सक
जितेन्द्र साह

विराटनगर — पूर्वनियोजित ढंगले बलात्कार गर्नेलाई विज्ञले मानसिक रोगी बताएका छन् । निराशा, एक्लोपन, बाआमाले नारीप्रति सम्मानको संस्कार नसिकाउनु, अभिभावककै नैतिकहीन आचरण वा गलत संगतले यौनको लतमा परेर मानसिक रूपले विक्षिप्त भएकाहरू यस्तो घृणित कार्यमा संलग्न देखिएका छन् ।

बलात्कार मानसिक रोग

‘घरभित्र वा समाजमा यस्ता बिरामीको पहिचान गर्न सकिएमा उपचार सम्भव छ,’ डा. रोशन पोखरेलले भने । उनी महानगर विराटनगरस्थित कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) एवं वरिष्ठ मानसिक रोग विशेषज्ञ हुन् । वर्षमा औसत यस्ता ४ बिरामीको उपचार गर्दै आएको उनले सुनाए ।

परिचित वा अपरिचित महिलालाई घुरेर हेर्नु, मौका पाउनबित्तिकै यौन दुव्र्यवहार गर्न खोज्नु र असामान्य ढंगले आफ्नै गोप्य अंग खेलाइराख्नु यसका केही संकेत भएको उनको भनाइ छ । ‘सचेत अभिभावक वा परिवारका जिम्मेवार सदस्यले थाहा पाएर उपचारका लागि ल्याउँछन्, नबुझ्नेले यसलाई स्वाभाविक रूपमा लिन्छन् वा बेवास्ता गर्छन्,’ उनले भने, ‘यहींबाट समस्या उत्पन्न हुन्छ ।’

अस्पतालमा वार्षिक औसत १५ बलात्कार आरोपीलाई प्रहरीले मानसिक जाँचका लागि ल्याउने गरेको रेकर्डबाट खुल्छ । उनीहरू प्रदेश १ का विभिन्न जिल्लाबाट ल्याइएका हुन्छन् । जाँच टोलीका एक चिकित्सकका अनुसार यसमा बढीजसो आवेशमा आएर बलात्कार गर्ने एकल निराश पुरुष र असीमित यौन चाहनाले ग्रस्त भएकाहरू हुने गर्छन् ।

आवेशमा आएर बलात्कार गर्नेहरूलाई मानसिक रोगीमा नराखिने गरिएको उनले बताए । ती चिकित्सकले भने, ‘तर एउटैले पटकपटक त्यस्तो गरे मानसिक रोग मानिन्छ ।’ उनका अनुसार केही महिला र पुरुषमा असीमित यौन चाहनासम्बन्धी मानसिक समस्या हुन्छ जसको उपचार औषधि सेवनबाट हुन्छ ।

‘महिलाले बलात्कार वा पुरुषलाई यौन संसर्गका लागि दबाब दिएको घटना यो अस्पतालमा आएको छैन,’ उनले भने, ‘बढी यौन चाहना जाग्ने गरेको समस्या लिएर आउँछन्, खानपिन र वातावरणअनुरूप व्यक्तिपिच्छै यौन इच्छा फरक भएकाले यसलाई स्वाभाविक मान्छौं ।’ यौन अपराधीको संकेत बुझ्न सकिए जबरजस्ती करणीबाट बच्न सकिने डा. पोखरेलले बताए । ‘अत्यधिक आत्मविश्वास वा प्रलोभनले पनि अपराधीको जालझेलमा परिन्छ,’ उनले भने, ‘एकान्त/नौलो थलोमा एक्लै जानुभएन, आफ्नो वरिपरि बस्नेको मनसाय पनि बुझ्न सक्नुपर्छ ।’

यो वा त्यो उमेर समूहका यौन दुव्र्यवहारमा बढी संलग्न हुन्छन् भन्ने अस्पतालको तथ्यांकले देखाउँदैन । सबै उमेरका बलात्कार जस्तो जघन्य अपराधमा संलग्न देखिन्छन् । डा. पोखरेलका अनुसार १४ देखि १९ वर्ष उमेर समूहकामा गलत यौन शिक्षा बलात्कारको कारक तत्त्व हुन् ।

‘यो उमेरमा सेक्सबारे बुझ्दै जाँदा अनुभव गर्ने चाहना हुन्छ तर यो समागमका लागि उचित उमेर होइन,’ उनले भने, ‘यसको समाधान छ, त्यसका लागि सरकारी अस्पतालमा सञ्चालित किशोर–किशोरी क्लिनिक वा मनोचिकित्सकहाँ सम्पर्क गर्नुपर्छ ।’ उक्त अस्पतालमा दैनिक २/३ जना यौनसम्बन्धी शारीरिक एवं मानसिक समस्याबारे बुझ्न आउँछन् । मानसिक, शारीरिक एवं सामाजिक स्वास्थ्यमा समेत असर नपर्ने गरी जानकारी दिने गरिएको पोखरेलले बताए ।

विज्ञहरूका अनुसार किशोर उमेरकामा अचानक स्वभाव परिवर्तन भई रिसाउने, झोक्किने, इन्टरनेटमा बढी झुम्मिने र फिल्म हेर्ने बानी देखिए चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ । शान्त स्वभावका बच्चा कहिलेकाहीं रिसाउनु स्वाभाविक भए पनि पटकपटक त्यस्तो हुन थाले मानसिक रोग मानिने उनीहरूले बताए ।

यौनको लत लाग्दा फरकफरक अनुभव बटुल्ने चाहनाले कम उमेरका पुरुषले पनि बलात्कार गरेको उक्त अस्पतालको अध्ययनले देखाउँछ । ‘उनीहरूलाई सही समयमा यौनको उचित शिक्षा र ऐनबारे जानकारी दिनसके अपराध गर्दैनन्,’ डा. सुधीर श्रेष्ठले भने । कुलतमा परी उपचारका लागि आफूकहाँ दिनहुँ १/२ जना आउने गरेको उनले सुनाए । उनले भने, ‘अधिकांश लागूऔषधका लतमा परेका हुन्छन् । मासिक आउने औसत ३० जनामा ५ जना मदिरा र चुरोटको लत लागेका किशोरी छन् ।’ व्यवहारमा अचानक आएको परिवर्तन बुझ्न सके बढी परामर्श र थोरै औषधिबाटै समस्या समाधान हुने डा. पोखरेलको सुझाव छ ।

प्रकाशित : आश्विन २, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?