१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

प्रकोप नियन्त्रणमा रकम अभाव

अवधेशकुमार झा

राजविराज — स्वाइनफ्लु, हङकङफ्लु र भाइरल ज्वरोको प्रकोप फैलिएको क्षेत्रमा मास्क र रकम अभावले उपचार सेवा प्रभावित भएको छ । सप्तरीको कञ्चनरूप र हनुमाननगर कंकालिनी नगरपालिकामा उक्त प्रकोप तीन सातादेखि देखिएको छ ।

प्रकोप नियन्त्रणमा रकम अभाव

चार जनाको मृत्यु र २ हजार पाँच सय जनाभन्दा बढी बिरामी भइसक्दा पनि रकम नभएर उपचार सेवा प्रभावित भइरहेको जिल्ला जनस्वास्थ्यले जनाएको छ । बिरामीको चाप अत्यधिक बढ्दै गएपछि विशेषज्ञ चिकित्सक अभावमा उपचार सेवा प्रभावित भइरहेका बेला रकम नहुँदा स्वास्थ्यकर्मीको थप व्यवस्थापन गर्न नसकिइरहेको जिल्ला जनस्वास्थ्य प्रमुख नीरञ्जन यादवले बताए ।

उनका अनुसार प्रकोप फैलिएको क्षेत्रमा स्थानीयस्तरमा रहेका स्वास्थ्यकर्मीबाट मात्र उपचार सेवा सम्भव नरहेकाले जिल्ला जनस्वास्थ्यले अन्य स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा परिचालन गरे पनि ती स्वास्थ्यकर्मीलाई खाना र खाजा खुवाउनसमेत रकम छैन ।

‘संघीय सरकारको स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारमा लिखित र मौखिक रूपमा मास्क र रकमका लागि माग गर्दागर्दै थाकेँ,’ जनस्वास्थ्य प्रमुख यादवले भने, ‘कुनै टेरपुच्छर लगाएका छैनन् ।’ उनले प्रकोप फैलिएको सुरुवाती चरणमै मन्त्रालयसित स्वास्थ्यकर्मीका लागि पुग्ने गरी मास्क पठाइदिन लिखित रूपमा पत्राचार गरे पनि सुनुवाइ नगरेको गुनासो गरे ।

प्रकोप फैलिएको कञ्चनरूप नगरपालिकाले आफ्नो स्तरबाट खटाएका स्वास्थ्यकर्मीको व्यवस्थापन भने आफैंले गर्दै आएको छ । ‘स्वास्थ्यकर्मीले आफ्नै ज्यान जोखिममा पारेर कसरी अरूको उपचार गर्न जानु ?’ यादवले भने, ‘स्वास्थ्यकर्मीलाई मास्कसम्म दिन नसक्ने अनि प्रकोप जसरी पनि नियन्त्रण गर्नु भन्ने कसरी हुन्छ त ?’ उनले प्रकोप प्रभावित जिल्लास्तरबाट खटाइएका स्वास्थ्यकर्मीलाई खाना र खाजा खुवाउन रकम नरहेको बताए ।

‘रकम अभावबारे पटकपटक मन्त्रालय र प्रदेश सरकारमा लिखित आग्रह गरिसकेका छौं तर एक रुपैयाँ आएको छैन,’ यादवले भने । कञ्चनरूप नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सिअहेब डम्बरप्रसाद गुप्ताले ज्वरोका बिरामी अझै थपिँदै गएको जनाए । उनका अनुसार आइतबार स्वास्थ्य शिविरमा ४ सय २८ ज्वरोका बिरामी आएका थिए ।

अहिले बढी बिरामी देखिएका वडामा शिविर सञ्चालन गरिएको कञ्चनरूप नगरपालिका प्रमुख वसन्त मिश्रले बताए । केन्द्रीय स्तरबाट विशेषज्ञ चिकित्सक नआउँदा प्रकोप नियन्त्रण गर्न मुस्किल भइरहेको नगरप्रमुख मिश्रले बताए । ‘हामी हाम्रोस्तरबाट सबै शक्ति प्रयोग गरी प्रकोप नियन्त्रण कार्यमा जुटेका छौं,’ नगरप्रमुख मिश्रले भने, ‘तर विशेषज्ञ चिकित्सक छैन, यही कारण नियन्त्रणमा समस्या छ ।’

प्रकाशित : आश्विन २, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?