१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वन सुन्दरी, वन्यजन्तु गहना

रमेशकुमार पौडेल

चितवन — वन संरक्षण किन ? वन र वन्यजन्तुको सम्बन्ध के हो ? वातावरण विज्ञान पढिरहेका एक हूल विद्यार्थीले आइतबार माडीमा भेटे संरक्षणकर्मीमाझ चर्चित ५५ वर्षीय भदै थारू । विद्यार्थीसहित ४५ जना युवा भेला भएका ठाउँमा उनी यिनै जिज्ञासाको जवाफ राख्दै थिए ।

वन सुन्दरी, वन्यजन्तु गहना

यी पाका संरक्षणकर्मीले त्यहाँ भेला भएका युवालाई आफ्नै पारामा संरक्षणको महत्त्व र आवश्यकताबारे जिज्ञासा मेटाउँदै थिए ।

‘वनलाई सुन्दरीका रूपमा बुझ्नुस् । वन्यजन्तुचाहिँ गहना’, रमाइलो पाराले भदैले संरक्षणबारे बोल्न थाले, ‘एकजना सुन्दर युवती त्यसै त राम्रो हुन्छ । उसले गहना लगाए आहा झनै कति सुन्दर ।’ बर्दिया मधुवन नगरपालिका ३ खाताका थारू संरक्षणका कुरा सिकाउँदै देशका कुनाकाप्चा चहार्ने क्रममा माडी आएका थिए । बाघले आक्रमण गरेर देब्रे आँखा गुमाउँदा पनि यिनले संरक्षणप्रतिको आफ्नो लगावमा कमी आउन दिएनन् । वन जोगाए प्रकृति जोगिन्छ, प्रकृति जोगिए जीवन सधैँ हरियाली हुन्छ भन्दै उनी संरक्षण अभियानमा लामो समयदेखि लागिपरेका छन् ।

‘वनको संरक्षण नगर्दा वन्यजन्तुलाई मात्र हानि हुँदैन । त्यसको असर मानवीय जीवनमै पर्छ’, उनले युवामाझ आफ्नो लामो अनुभव सुनाए, ‘यो कुरा पहिले हामीले बुझ्न जरुरी छ । त्यसपछि मात्र समाजलाई बुझाउन सकिन्छ ।’ उनका कुरा सुन्न चितवनसहित नवलपरासी, मकवानपुर, बारा र पर्साका संरक्षणमा चासो राख्ने युवा त्यहाँ भेला भएका थिए ।

थारुको साहसी अभियानबाट प्रेरित भई बेलायती अभिनेत्री मेन्सी पायल र टाइटेनिक सिनेमाका हिरो लियोनार्दोले उनलाई बर्दियास्थित गाउँमै गई भेटेका थिए । बाघले आक्रमण गरेर बाँचे पनि संरक्षण कार्य नछोडेको हिरोका रूपमा उनको कथा सुनेपछि विश्व सिने संसारका यी सेलिब्रेटी उनको गाउँ नै पुगेका थिए । कुनै बेला कमैया बसेका र एक कक्षा मात्र पढेका थारू संरक्षणबारे रसिलो पाराले
कुरा बुझाउँछन् ।

माडीमा पनि आफ्नै पाराले युवालाई बुझाउन थाले । वनलाई सुन्दर युवतीसँग तुलना गर्दा सहभागीमा हाँसो पनि छायो । उनले संरक्षणकर्मीलाई हिरोको रूपमा उभ्याए । ‘तपाईंले एउटा सिनेमा हेर्दा राम्री हिरोइन देख्नुहुन्छ । उसलाई दु:ख दिने गुन्डाहरू हुन्छन् । र बचाउने हिरो हुन्छ’, थारूले भन्दै गए, ‘वन, वन्यजन्तु सिनेमाका हिरोइनजस्ता हुन् । तस्कर त गुन्डा भइहाले । गुन्डालाई पिट्ने हिरो हुन्छ ।’ हिरो हारेको सिनेमा नराम्रो लागेजस्तै संरक्षणकर्मीहरू पनि सधैं जित्ने ध्याउन्नले काम गर्न उनले सुझाए ।चोरीसिकारविरुद्ध जागरणमा आबद्ध युवा, वन, वातावरण अध्ययन गर्दै गरेका विद्यार्थी सहभागी थिए ।

संरक्षण काममा लाग्दै गर्दा उनलाई २०६० साल पुस २२ गते बाघले जंगलमा आक्रमण गरेको थियो । कसरी ? सहभागी एक युवाले कौतुहलता राखे । जवाफ पनि उनले आफ्नै शैलीमा दिए । ‘बाघ र मेरो जम्का भेट भयो । खान्छु भन्दै आएको त हैन नि’, जंगल उसको घर भएकाले त्यहाँ जाँदा होस् नपुर्‍याएकै कारण बाघले आक्रमण गरेको जवाफ दिए ।

जंगल बाघको घर भएकाले त्यहाँ गएका बेलामा आक्रमण गर्नुलाई उनले बाघको अपराध ठानेनन् । ‘हामी सारा जंगल मासेर घर बनाएका छौं । भएको जंगलमा पनि उसलाई शान्तिसँग बस्न दिँदैनौं । गल्ती उसको थिएन,’ उनले भने । बाघको पञ्जाले भेटेपछि उनी तिर्मिराएका थिए । स्वर्ग पुगें कि नर्क पुगें भन्ने भयो रे । डेढ महिना अस्पताल बस्दा खान पिउन अप्ठयारो हुन्थ्यो । ‘मर्ने भएँ कि जस्तो लागेको थियो । अस्पतालबाट घर आए पनि तीन वर्षसम्म केही गर्न सकिनँ । पछि फेरि अभियान थालें’, थारूले भने ।

विश्व संरक्षण कोषले संरक्षणबारे समाजलाई सचेतना जगाउने क्रममा उक्त भेट गराएको थियो । ‘हामीले किताबी ज्ञान त लियौं । तर, यस्ता अनुभव कथाले झन् धेरै सिकायो’, वातावरण विज्ञानमा स्नातक पढ्दै गरेकी सहभागी सन्ध्या पौडेलले भनिन् ।

प्रकाशित : आश्विन २, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?