कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

म्याग्दीमा बढ्यो बलात्कारको घटना

१५ वर्षे किशोरी सामूहिक बलात्कारको शिकार
घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिका-५ घर भै आफन्त भेट्न अन्नपूर्ण गाउँपालिका-६ घार पुगेकी एक १५ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । किशोरीसहित आर्थिक वर्षको पहिलो दुई महिनामा जिल्लामा ४ वटा बलात्कारका घटना सार्वजनिक भएका छन् ।

म्याग्दीमा बढ्यो बलात्कारको घटना

१२ वर्षीय भाईलाई साथी लिएर आफन्त भेट्न गएकी किशोरीलाई सोमबार राति ९ बजे अन्नपूर्ण गापा-६ घारका नविन र अर्जुन परियारले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।


अन्नपूर्ण गापा-६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालका अनुसार पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध भएपछि पैदल र पोखरेबाट ट्याक्टरमा घार पुगेका थिए । अपरिचित गाउँमा ट्याक्टरबाट ओर्लेपछि अलमल परेकी किशोरीलाई स्थानीय ३ जना युवाले लखेट्दै आधा घन्टापर खोल्सामा पुर्‍याएर बलात्कार गरेका हुन् । युवाहरुले लखेटेपछि किशोर पनि भागेर ज्यान बचाएका थिए ।


आरोपितहरुलाई प्रहरीलाई पक्राउगरी अनुसन्धान सुरु गरेको छ । पीडितको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणपछि प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलको संरक्षणमा राखिएको छ ।

‘किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । आरोपितहरु पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं,’ जिल्ला प्रहरी प्रमुख डिएसपी बीरबहादुर बुढाले भने, ‘सोधपुछ क्रममा साविति बयान गरेका छन् । पटकपटक बलात्कार गरेको देखिन्छ ।’


चालु आर्थिक वर्ष बेनी नगरपालिका-१ मा एक महिला, मंगला गाउँपालिका-१ मा एक बालिका र अर्को महिला, अन्नपूर्ण-६ मा किशोरी सामूहिक बलात्कृत भए । भदौ पहिलो साता मालिका गाउँपालिका-५ का एक ५३ वर्षीय बाबुले आफ्नै १२ वर्षीया छोरी बलात्कार गरे । छोरी बलात्कार गर्ने बाबु प्रहरी हिरासतमा छन् ।


मुलुकी अपराध संहिता ०७४ मा बाबुछोरी विच हाडनाता करणी भए जन्मकैद (२५ वर्ष) जेलसँजाय हुन्छ । बलात्कार भए छुट्टै १६-२० वर्ष कैद सँजाय हुन्छ । जिल्ला प्रहरी र न्यायाधिवक्ताको कार्यालयका अनुसार आरोपितले यस अघि पनि छोरीसँग यौनसम्पर्क राख्ने गरेको साविति बयान गरेका छन् ।


‘मुलुकी अपराध संहितामा बलात्कार भए १६-२० वर्ष र हाडनाता भित्र यदि बाबुछोरी रहेछन् भने थप आजिवन (२५ वर्ष) कैद सँजायको व्यवस्था छ,’ जिल्ला न्यायधिवक्ता कृष्णराज पन्तले भने, ‘जिल्ला नाबालिका र किशोरी बलात्कारका घटना बढी देखिएका छन् ।’


त्यसैगरी अदालतमा मंगला गाउँपालिका-१ की एक ११ वर्षीया भतिजी बलात्कार गरेको छुट्टै मुद्दा विचराधीन छ । मुद्दामा पीडक पक्षबाट बयान फेर्न बालिका र परिवारलाई दबाब दिएको पीडितकी आमाले बताएकी छन् । त्यतिमात्र होइन, बलात्कार जस्तो जघन्य अपराधमा पनि राजनीतीकरण हुने गरेको छ ।


‘वकिललाई दिने पैसा दिन्छौं । अदालतमा बयान फेर नत्र भाइसमाजबाट निकाल्छौं भन्दै दबाब दिएका छन्,’ जिल्ला न्यायाधिवक्ताको कार्यालयमा पीडित बालिकाकी आमाले भनिन्, ‘मास्टरपनि उतै लागेका छन् । गरिवले न्याय पाउने भन्दा घटना दबाउने धेरै हुने रहेछन् ।’


आर्थिक वर्ष ०७४/०७५ मा जिल्लामा एक हाडनाता करणीसहित १८ जना किशोरी र नाबालिका आफन्त र परिचितबाट बलात्कृत भए । अदालतको अभिलेख अनुसार १८ मध्य ५ वटा बलात्कारका घटनामा दोषी करार भएका छन् । ७ थान मुद्दामा प्रतिवादीले सफाई पाएका छन् । बाँकी ६ थान बलात्कारका मुद्दाका आरोपी पूर्पक्षका लागि थुनामा छन् ।


पछिल्ला ५ वर्षमा बलात्कारका घटना बढ्दै गएको छ । २०६९ मा ६ वटा, ०७० मा ८ वटा, ७१ मा १२ र ०७२ सालमा १० वटा, ०७३ मा १३ वटा बलात्कारका मुद्दा परेको अदालतको अभिलेख छ । सबै बलात्कारको घटनाका दोषी पक्राउ परेका छन् । जिल्ला अदालतको अभिलेख अनुसार १८ मध्ये १३ वटा बलात्कारका घटनामा दोषी करार भएका छन् । बाँकी ५ थान बलात्कारका मुद्दाका आरोपी पूर्पक्षका लागि थुनामा छन् ।


‘बलात्कारका घटना बर्सेनि बढ्दो छ । अधिकांश पीडित छिमेकी र चिनजानकै मान्छेबाट बलात्कृत भएका छन्,’ डिएसपी बुढाले भने, ‘पीडित अधिकांश २५ वर्ष मुनिका र आरोपितहरु ४५-५० वर्षमाथिका छन् ।’


‘धेरै बलात्कारका घटनामा रक्षक नै भक्षक भएको देखिन्छ । हेर्दा पाको उमेरको भद्र देखिने पुरुषले साविती बयान गर्छन्,’ जिल्ला न्यायाधीश राजकुमार कोइरालाले भने, ‘वयस्कहरु भने सहमतिमा यौन सम्पर्कपछि बलात्कार प्रयासको आरोप गराउने पनि छन् ।’

प्रकाशित : आश्विन २, २०७५ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?