सामूहिक बलात्कारको आरोपमा ३ युवक समातिए
काठमाडौँ — २१ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुबाट खटिएका प्रहरीले सोमबार राति भीमढुंगाबाट अर्जुन लामा, रामकृष्ण नगरकोटी र सूर्य लामालाई पक्राउ गरेको हो ।
सोमबार अपरान्ह खाजा खान जाउँ भन्दै सामान्य चिनजानका अर्जुन लामाले स्युचाटार बस्दै आएकी २१ वर्षीया युवतीलाई भीमढुंगा लगेका थिए । लामाले भीमढुंगा पुगेपछि यही खाजा खाउँ भन्दै रामकृष्ण नगरकोटीको चिया/खाजा पसलमा युवतीलाई राखेका थिए ।
पसलमा नै अर्जुन, रामकृष्ण र सूर्यले सामूहिक बलात्कार गरेका थिए ।
परिवारसँगै बस्दै आएकी युवती राति अबेरसम्म पनि घर नफर्किएपछि परिवारले छोरी हराएको भन्दै प्रहरीलाई उजुरी गरेको थियो । उजुरीपछि प्रहरीले युवती खोज्ने क्रममा युवतीसहित तीनजना युवकलाई सोमबार राति सोही चिया पसलबाट पक्राउ गरेको थियो ।
पक्राउपछि आरोपित तीनसहित युवतीलाई महिला सेल, कालिमाटीमा राखिएको छ । काठमाडौं परिसरका एसपी रामदत्त जोशीका अनुसार घटनाबारे छानविन भइरहेको छ । युवतीलाई परामर्श दिने काम भइरहेको छ । उनले भने, 'ती युवतीको स्वास्थ्य परीक्षण भइसकेको छ । अरु थप अनुसन्धान जारी राखेका छौं ।'
प्रकाशित : आश्विन २, २०७५ १४:४२