१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फोरमले संविधान दिवसमा विरोध नगर्ने : यादव

देवनारायण साह

मोरङ — संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान दिवसको अवसरमा पार्टीले कुनै विरोधको कार्यक्रम नगर्ने बताएका छन् ।

फोरमले संविधान दिवसमा विरोध नगर्ने : यादव

विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले विगतमा संविधान निर्माण भएको समयमा हाम्रो गुनासो र फरक मतहरु यथावतै रहेको तर त्यो अब संवैधानिक प्रक्रियाबाट समाधान हुने बताएका हुन् ।


‘चुनाव अघिको हाम्रो राजनीतिक कोर्ष चुनावपछि परिवर्तन भइसकेको छ,’ उनले भने, ‘तीन तहको सरकार गठन भएर हामी संवैधानिक प्रक्रियामा पुगिसकेकाले अब संविधान संशोधन र परिमार्जनको माध्यमबाट अघि बढछौँ ।’


अहिले कानुन निर्माणको चरणमा रहेको र त्यो पूरा भएपछि संविधान संशोधनको चरणमा प्रवेश गर्ने उनले बताए । ‘मौलिक हकसम्बन्धी महत्वपूर्ण कानुनहरु बनेको छ, नागरिकतासम्बन्धी कानुन आउँदै छ र थप केही कानुनहरु बनेपछि एउटा चरण पूरा हुन्छ,’ उनले भने, ‘त्यसपछि संविधान संशोधनको चरणमा प्रवेश गर्छौँ ।

संविधान संशोधन र परिमार्जनको प्रक्रियाको संघर्षलाई निरन्तर अघि बढाउछौँ ।’ संशोधनको बाटोबाट नै अघि बढ्ने पार्टीको आधिकारीक धारणा भएको यादवले प्रष्ट पारे ।


संविधान दिवसको विरोध गर्ने भन्दै कसैले बाटोमा कुनै विज्ञप्ती निकालेर केही हुँदैन त्यो पार्टीको आधिकारिक धारणा नभएको उनले बताए ।


स्वास्थ्य क्षेत्रमा भइरहेको आन्दोलन लगायतको समस्याको बोलेर नभई काम गरेर समाधान गर्ने नीतिका साथ अघि बढी रहेको यादवको भनाई थियो । उनले स्वास्थ्य क्षेत्रका समस्या समाधान भएपछि मिडियाले बोलिहाल्छ र त्यसमा आफूलाई बोल्ने नपर्ने बताए ।


उनले सप्तरीमा देखिएको भाइरल इन्फ्लुएन्जा नियन्त्रणमा आइसकेको बताए । भाइरल इन्फ्लुएन्जा महामारिको रुपमा आउने बित्तिकै काठमाडौंबाट स्वास्थ्यकर्मीको टिम आएर काम गरिरहेको र अहिले विश्व स्वास्थ्य संगठनको समेत टिम आइसकेको उनले सुनाए ।


मुलुकमा पछिल्लो समयमा अपराधिक घटनाहरु बढेकोले यसलाई गम्भीरता पूर्वक अझै सतर्कता अपनाएर नियन्त्रण गर्नुको विकल्प नभएको यादवले बताए ।


उनले हालै स्वास्थ्य क्षेत्रमा एउटा दरबन्दी भएको ठाउँमा सात जना सम्मलाई सरुवा गरिएर अनावश्यक दु:ख दिने काम भएकोले यसको छानबिन भइरहेको बताए । ‘सरुवामा केही गल्ति भएको छ र त्यसको छानबिनको लागि मन्त्रालयले सहसचिव महेन्द्र श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ । समितिको प्रतिवेदन आएपछि दोषीमाथि कारबाहीका साथै समस्या पनि समाधान हुन्छ ।’

प्रकाशित : आश्विन २, २०७५ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?