कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिजुली विस्तार गर्न रुख ढालिँदै

सोलु — सोलु करिडोर १ सय ३२ केभी विद्युत् प्रसारण लाइन विस्तारका लागि यहाँको १४ सामुदायिक वनका ३ हजार ५ सय ९ रुख काटिने भएको छ । जम्मा १५ वटा वनक्षेत्र परे पनि एक वन समूहको क्षेत्रमा कुनै पनि रुख काटिने छैन ।

बिजुली विस्तार गर्न रुख ढालिँदै

१३ सेन्टिमिटरभन्दा माथि गोलाइका ती रुख काट्न लागिएको हो । रुख काटिने कुल वनक्षेत्र १२.८६७ हेक्टर छ । ती रुख काटिँदा ९ हजार ८ सय ६९ क्युबिक फिट हुने अनुमान गरिएको छ । दाउरा भने ४५.८८ चट्टा उत्पादन हुने अनुमान छ ।

सबैभन्दा बढी रुख काटिनेमा भुसुने सामुदायिक वन सिद्धिचरण नगरपालिका ८ परेको छ । भुसुनेबाट ७ सय ८१ रुख काटिनेछन् । सबैभन्दा कम टक्सार सामुदायिक वनको परेको छ । जम्मा ३५ रुखमात्र टक्सारमा काटिने उल्लेख छ ।

वनक्षेत्र कटानका लागि जिल्ला वनले अन्तिम लगत तथा राय टिप्पणी लेखेर विभागमा पठाइसकेको छ । विभागले अनुमति दिनेबित्तिकै आयोजनाले कटान सुरु गर्नेछ । राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका लागि वनक्षेत्र प्रयोग गर्ने कार्यविधि २०७४ अनुसार १० सेन्टिमिटर व्यासका एक रुख बराबर २५ वटाको अनुपातले वृक्षरोपण गर्नुपर्ने उल्लेख छ ।

ऊर्जा मन्त्रालयले पठाएको पत्रमा भने १ रुख बराबर २ वटाको अनुपातले वृक्षरोपण गर्न परिपत्र गरिएको छ । कार्यविधिअनुसार रुख रोप्ने हो भने यहाँको १४ वन समूह क्षेत्रभित्र ८७ हजार ७ सय २५ रुख रोपिनुपर्छ । तर मन्त्रालयले कार्यविधि मिचेर पठाएको पत्र कार्यान्वयन भएमा ७ हजार १८ मात्र रोपिनेछन् ।

जिल्ला वन अधिकृत वीरेन्द्र साहले भने कार्यविधिअनुसार कार्यान्वयन गर्न वन विभाग र मन्त्रालयमा पत्राचार गरेको बताए । आयोजनाले उदयपुरमा भने वन कटान सुरु गरिसकेको छ । सोलुखुम्बु, ओखलढुंगा, उदयपुर र सिरहाका वन क्षेत्र कटान हुने भएको छ । साबिकका २२ गाविसका दर्जनौं सामुदायिक वनका रुख काटिने
भएको हो ।

करिडोर लाइन विस्तारका लागि १८ मिटर चौडा हुने गरी वनका रुख काटिनेछन् । कार्यविधिमा लाइन विस्तार क्रममा बनेका स्थायी संरचना (पोल) ले ओगटेको क्षेत्रफलको जग्गासमेत आयोजनाले सट्टा भर्ना गर्नुपर्ने हुन्छ । तार टाँगिनुअघि नै जग्गा सट्टा भर्ना र वृक्षरोपण आयोजनाले सामुदायिक वन समूहलाई गर्दिनुपर्ने प्रावधान छ । कटान गरिएका रुखका काठ र दाउरा सामुदायिक वनको सम्पत्तिका रूपमा प्रयोग गर्न पाउने व्यवस्था छ ।

प्रकाशित : आश्विन ३, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?