१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

राजापाद्वारा सरकारी कार्यालयमा कालोझण्डा

अवधेशकुमार झा

राजविराज — राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बुधबार सप्तरी जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरुमा कालोझण्डा गाडेका छन् ।

राजापाद्वारा सरकारी कार्यालयमा कालोझण्डा

मधेशी जनतालाई दमन गरी २०७२ साल असोज ३ गते संविधान जारी गरिएको भन्दै राजपाले असोज ३ गते कालो दिन मनाउने कार्यक्रम अन्तरगत सरकारी कार्यालयहरुमा कालो झण्डा गाडेको राजपाका सह महामन्त्री गजेन्द्र मण्डलले बताए ।


बुधबार बिहानैदेखि सदरमुकाम राजविराज सहितका जिल्ला प्रमुख बजारहरुमा राजपाका नेता कार्यकर्ताहरु कालोझण्डासहित प्रर्दशन गरेका छन् । प्रदर्शन र सरकारी कार्यालयहरुमा कालोझण्डा गाड्ने कार्यक्रममा राजपाबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु समेत सामेल छन् ।


उनीहरुले विभिन्न स्थानीय तहको कार्यालयमा समेत कालो झण्डा गाडेका छन् । राजपाले दिउँसो राजविराजमा बृहत विरोध कार्यक्रम गर्ने तयारी गरेको छ । विरोध सभालाई प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


राजपाले कालो झण्डा सहित प्रदर्शन गरिरहँदा जिल्लामा सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । अघिल्ला दिनहरु भन्दा बजार र ग्रामिण क्षेत्रमा सुरक्षाकर्मीहरुको उपस्थिती बाक्लो छ ।

प्रकाशित : आश्विन ३, २०७५ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?