विमानस्थल अध्यागमनमा ‘सेटिङ’ : पर्यटक भिसामा खाडी 

जनकराज सापकोटा

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्ली हुँदै दुबई जान लागेका तीन युवतीलाई भदौ ३० मा दिल्ली विमानस्थलस्थित अध्यागमनले फर्काइदियो ।

विमानस्थल अध्यागमनमा ‘सेटिङ’ : पर्यटक भिसामा खाडी 

एयर इन्डियामार्फत दिल्ली पुगेका विष्णु बिटालु, सुजाता कुमाल र ममता सुनवारलाई भारतीय अध्यागमनले ‘लो प्रोफाइल’ भन्दै फिर्ता पठाएको हो ।


यसअघि कुनै पनि देश नगएका, भ्रमण गर्ने आर्थिक हैसियत नभएका र दुबई भ्रमणका नाममा मानव तस्करको सन्जालमा परेको निष्कर्ष निकाल्दै दिल्ली अध्यागमनले उनीहरूलाई स्वेदश फिर्ता पठाएको थियो ।


दिल्लीबाट फर्किएका यी तीनै युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कसरी दुबई भ्रमण गर्ने भनेर सहजै दिल्ली उडे त ? यही प्रश्नमा भेटिन्छ मानव तस्करको ‘सेटिङ’ । पर्यटक भिसामा खाडी मुलुक पठाउने धन्दा र अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमनका कर्मचारीको मिलेमतो । दिल्लीबाट फर्किने तीन महिला त उदाहरण मात्रै हुन् । स्रोतका अनुसार पर्यटक भिसामा दुबई पठाउने गिरोह नै सक्रिय छ, जसको विमानस्थलभित्र ‘सेटिङ’ छ ।


साउन १ गते एयर अरेबिया र फ्लाई दुबईमार्फत पर्यटक भिसामा दुबई उड्न आँटेका ५० यात्रुलाई विमानस्थलका तत्कालीन वरिष्ठ अध्यागमन अधिकृत भीमराज पोख्रेलले अफलोड गरिदिए । अधिकांश दूरदराजको गाउँबाट आएका, कमजोर आर्थिक हैसियत भएका र पर्यटकका रूपमा दुबई जाने आर्थिक आधार नभएका ती यात्रुलाई अध्यागमनका कर्मचारीले सजिलै उडान अनुमति दिएका थिए ।


यसको भोलिपल्ट पनि पर्यटक भिसामा दुबई जान आँटेका ३५ जना यात्रुहरूलाई पोख्रेलले नै अफलोड गरिदिए । यसले गर्दा विमानस्थल अध्यागमनमा निकै होहल्ला भयो । तर, उनले अफलोड गरेका यी सबै यात्रु पोख्रेल बिदामा बसेका बेला फरकफरक मितिमा दुबई उडे ।


अनौठो त के छ भने ‘सेटिङ’मा पर्यटकको भिसामा जान लाग्दा विमानस्थलबाटै फर्काइएका यी कुनै पनि यात्रुले अध्यागमन विभागमा उजुरी गरेनन् । न उनीहरूले आफूलाई जान रोकिएको भन्दै कुनै कैफियत नै जनाए ।


अध्यागमनका एक कर्मचारी भन्छन्, ‘कसैले पनि उजुरी नगर्नुको सोझो अर्थ हो, त्यतिका धेरै यात्रु पर्यटक भिसामा दुबई पठाउने काम संगठित गिरोहले नै गरिरहेको थियो ।’ कर्मचारीकै मिलेमतोमा पर्यटक भिसामा दुबई जाने चाँजो बिग्रिएपछि अध्यागमनका केही कर्मचारीहरू रुष्ट भए । लगत्तै पोख्रेलको सरुवा मोरङ कारागारमा भयो ।


विमानस्थलका एक सुरक्षा अधिकारी पर्यटक भिसामा ‘सेटिङ’मा पठाउने काम हरेक दिन चल्दै आएको बताउँछन् । दुबईको फ्रोच्र्युन प्लाजा होटल र ग्रान्ड सेन्ट्रल होटलमा कलाकारको हैसियतमा काम गरी फर्केका बागलुङकी रेमकुमारी परियार र दोलखाकी फुरलामु शेर्पा फेरि दुबई जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे ।


अघिल्लो दुबई यात्राबाट फर्कंदा नै उनीहरूको भिसा रद्द गरिएको थाहा पाएपछि विमानस्थलका अध्यागमन अधिकारीले दुवैलाई फर्काइदिए । पासपोर्टमा उल्लेख नभए पनि अध्यागमनका अधिकारीले कम्प्युटरमा पासपोर्ट नम्बर इन्ट्री गर्दा भिसा रद्द भएको सजिलै थाहा पाउँछन् । अध्यागमन स्रोतका अनुसार यी दुवै युवती ठूलो रकम खर्च गरेर दुई दिनपछि रद्द भएको भिसामै भदौमा २० मा दुबई उडन सफल भए ।


पर्यटक भिसामा दुबईलगायत खाडी देश पुर्‍याउने र त्यहाँबाट अवैध रूपमा अन्य देश पुर्‍याउने काममा केही म्यानपावर व्यवसायी र संगठित मानव तस्करीको गिरोह नै संलग्न देखिन्छ । यसरी जानेहरूले काम नपाएपछि वा भनेजस्तो नभएर अलपत्र पर्नेक्रम बढेपछि अध्यागमनले पर्यटक भिसामा जानेलाई कडाइ गर्ने नीति लिएको छ ।


पर्यटकका रूपमा जान खोज्नेको आर्थिक हैसियत, उसको ट्राभल रेकर्ड, पर्यटकका रूपमा घुम्न आवश्यक पर्ने डलर, उसको काम र शैक्षिक हैसियत जस्ता विषयमा अध्यागमन अधिकारीहरूले सोध्न सक्छन् । तर, पछिल्ला दिनमा कर्मचारीकै ‘सेटिङ’मा दूरदराजबाट काठमाडौं आएकाहरूलाई वैदेशिक रोजगारी र मानव तस्करको गिरोहले पर्यटक भिसामा दुबई लगायतका देशमा पठाउँदै आएका छन् । अध्यागनका एक कर्मचारीका अनुसार पर्यटक भिसामा ‘सेटिङ’मा दुबई जाने महिलाबाट प्रतिव्यक्ति ५० हजार र पुरुषबाट २० हजार रुपैयाँ औसतमा असुल्ने गरिन्छ ।


अध्यागमनका एक सुरक्षा अधिकारीले कर्मचारी र गिरोहको मिलेमतोमा सामान्य हैसियतका नेपालीलाई राम्रो काम खोजिदिने आश्वासनमा पर्यटक भिसामा दुबई लगायतका देश पठाउने धन्दा निर्बाध चलेको छ । ती अधिकारीले भने, ‘पर्यटक भिसामा कामको खोजीमा भौंतारिएकाहरूलाई विदेश पठाएर ठूलो समूहले कमाउ धन्दा चलाइरहेको छ ।’


तारन्तार हाकिमहरूको अदलीबदली

कास्कीको प्रमुख जिल्ला अधिकारी रहेका सहसचिव तारानाथ अधिकारी साउन २० गते विमानस्थल अध्यागनमा सरुवा भए । कार्यभार सम्हालेको १५ दिन पनि नबित्दै भदौ १५ मा उनी सरुवा भएर प्रहरी किताबखाना पुगे । उनी सरुवा भएलगत्तै विमानस्थल अध्यागमनको नेतृत्व निमित्त प्रमुख लक्ष्मणविक्रम थापाले सम्हाले । थापाले निमित्त सम्हालेको १५ दिनपछि नै अध्यागमन प्रमुखका रूपमा राजेश पौडेल आइपुगे ।


विमानस्थल अध्यागमनका प्रमुखहरूको तारन्तार हुने अदलीबदलीको यो घटना नयाँ भने होइन । यसअघि पनि अध्यागमन प्रमुखहरू डेढ वर्षभन्दा लामो समय बसेको इतिहास छैन । २०७३ असार १६ गते अध्यागमन प्रमुख भएर आएर यज्ञराज कोइराला दुई महिनापछि नै भदौ १५ मा सरुवामा परे । उनी पछि प्रमुख भएर आएका उद्धवप्रसाद भट्टराईले झन्डै चार महिना कायममुकायम र १३ महिना प्रमुख भएर कार्यभार सम्हाले । २०७४ वैशाख २५ गते प्रमुख भएर आएका होमनाथ थपालियाले पनि १४ महिना मात्रै अध्यागमन प्रमुखको हैसियतमा कार्यभार सम्हाले ।


अध्यागमन प्रमुखहरूको तारन्तारको सरुवा र केही कर्मचारीहरूको वर्षौंसम्म सरुवा नहुने प्रवृत्तिका कारण विमानस्थलभित्र ‘सेटिङ’को धन्दा फस्टाइरहेको छ । अध्यागमनका एक कर्मचारीले भने, ‘मिलेमतो गर्न सक्ने सधैं टिकिरहन्छन् । मिल्न नसक्नेहरू सरुवामा परिहाल्छन् ।’


प्रकाशित : आश्विन ३, २०७५ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?