कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

डराउँछन् निर्मलाका साथी

भवानी भट्ट

कञ्चनपुर — निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लाग्यो । घटनापछि उनका सहपाठीसमेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरू बताउँछन् ।

डराउँछन् निर्मलाका साथी

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् ।

‘हामी सानैदेखि सँगै पढ्थ्यौं, सँगै खेल्थ्यौं,’ ९ कक्षामै अध्ययनरत जानकी भट्टले भनिन्, ‘उनी नहुँदा पढ्न मनै लागिरहेको छैन, स्कुल पनि नआउँm जस्तो लाग्छ ।’ जानकी र निर्मला एउटै बेन्चमा बस्ने २ कक्षादेखिका साथी हुन् । कक्षाकोठा अगाडि निर्मलाले बनाएका केही चित्र छन् । भित्र पस्नेबित्तिकै ती चित्र देख्दा उनकै यादले सताउने सहपाठीको भनाइ छ । निर्मला र जानकीले शिक्षिका वा नर्स बन्ने सोच बनाएका थिए । त्यही भएर उनीहरू दुवैको कुरा मिल्थ्यो ।

कतिपय विद्यार्थी निर्मलाको शव भेटिएको उखुबारी छेउको बाटो हिँड्नै डराउँछन् । ‘त्यहाँ पुग्नेबित्तिकै झसंग भइन्छ,’ भीमदत्त नगरपालिका–१८ भगतपुरबाट त्यही बाटो स्कुल आउने लक्ष्मी बडुले भनिन्, ‘एक्लै आउन डर लागेर साथीहरू समूहमा मात्रै आउँछौं ।’ निर्मला मिलनसार थिइन् । शिक्षकमाझ पनि उनी अनुशासित र लगनशील विद्यार्थी थिइन् । ‘एक महिनासम्म त सरहरूले पढाउनै सक्नुभएन,’ लक्ष्मीले भनिन्, ‘जतिबेला पनि त्यही झल्को आएर उत्तरपुस्तिकासमेत जाँच गर्न सक्नुभएन ।’

कक्षा ९ मा ६४ विद्यार्थी छन् । छात्र र छात्राको संख्या आधा–आधा छ । छात्रभन्दा पनि छात्रामा यो घटनाले बढी असर पारेको शिक्षिका तृप्ति विष्ट बताउँछिन् । उनका अनुसार विद्यार्थीमा एक किसिमको त्रास कायमै छ । ‘एक/दुई जना छात्रा त सधैं ढिला हुन्छन्,’ उनले भनिन्, ‘बिहान एक्लै आउन डर लागेर अलि ढिला आउने गरेको कुरा खुल्यो ।’ अहिले विद्यालय ७ बजे लाग्ने गरेको छ ।

घटना भएको डेढ महिनाभन्दा बढी बितिसक्यो । अझै पनि वास्तविक अपराधी पत्ता नलाग्दा छात्रछात्रा त्रासमा रहेको शिक्षिका विष्टले बताइन् । अनुसन्धानका क्रममा प्रहरीले छात्रछात्रालाई पटकपटक बोलाउँदा उनीहरूमा मनोवैज्ञानिक असर परेको उनको भनाइ छ । ‘हामीलाई पनि विद्यालयबाट ड्रेसमै प्रहरीसँग विद्यार्थी पठाउन निकै समस्या हुन्छ,’ उनले भनिन्, ‘अभिभावकसँग कुरा गरेर मात्रै पठाउने गरेका छौं ।’ एक जनालाई प्रहरीले लगेपछि अरू विद्यार्थी पनि आफ्नो पालो आउने डरले विद्यालय नै नआउने समस्या बढेको छ ।

अनुसन्धानका लागि भन्दै प्रहरी पटकपटक विद्यालयमा आउँदा पढाइको वातावरण बिग्रिएको शिक्षकहरू बताउँछन् । चाँडो अनुसन्धान सके समस्या समाधान हुने उनीहरूको बुझाइ छ । ‘दोषी पत्ता लागेर कारबाही नहुँदासम्म निर्धक्क भएर छात्रछात्रालाई सम्हाल्न सकिने अवस्था छैन,’ प्रधानाध्यापक जगन्नाथ पाण्डेयले भने, ‘२५ प्रतिशत विद्यार्थी त्यही बाटो भएर स्कुल आउजाउ गर्छन् ।’ उनले घटनायता बालबालिकालाई कसरी त्रासबाट मुक्त गराउने भन्ने चिन्ता रहेको बताए ।

प्रकाशित : आश्विन ४, २०७५ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?