कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सागका ठाउँमा निगुरो

दैनिक हजार बढी कमाइ
प्रकाश बराल

बागलुङ — लगातारको वर्षाले किसानका बारीमा साग उम्रिएको छैन । तर जंगल र डाँडापाखामा निगुरो फस्टाएको छ । अहिले हरियो तरकारीको मागलाई निगुरो संकलन गरेर बजार पुर्‍याउनेले धानेका छन् ।तीन महिनादेखि गुठीकी विष्णुमाया किसानको दैनिकी निगुरो व्यापार भएको छ ।

सागका ठाउँमा निगुरो

उनले दैनिक सय मुठासम्म निगुरो बिक्री गर्छिन् । हरेक मुठामा १० रुपैयाँसम्म नाफा लिँदा दैनिक हजार रुपैयाँ कमाइ हुने उनले बताइन् । मासिक ३० हजार रुपैयाँसम्म कमाएको उनी बताउँछिन् । हिउँदमा प्लास्टिकका टनेलमा फलाउने तरकारी बेच्ने उनी असारदेखि कात्तिकसम्म हरियो तरकारी बेच्ने गर्छिन् । निगुरो बेच्ने किसान एक्ली होइनन् ।

सिजनको तरकारी भएकाले बागलुङ बजारमा निगुरो व्यापार राम्रो छ । जुका लाग्ने भएकाले संकलन गरेर ल्याउन सजिलो नभए पनि बजारमा हातहातै बिक्छ ।


किसानजस्तै बजारमा धेरैको दैनिकी निगुरोसहितका हरियो तरकारीले धानिएको छ । संकलन गरेर ल्याइने निगुरोबाहेक अधिकांश तरकारी गाउँमा उत्पादित हुन् । असारदेखि छिटपुटबाहेक हरियो तरकारी बाहिरबाट नआएको कृषि प्राविधिक राजु शर्माले बताए ।

बागलुङसहित म्याग्दीका गाउँगाउँबाट संकलन भएको निगुरो अहिले बजारको मुख्य आकर्षण भएको छ । ‘एक मुठाको ४५ देखि ६० रुपैयाँसम्ममा बिक्री हुन्छ,’ किसानले भनिन्, ‘साथी पाएको दिन आफैं टिप्न जान्छौं, नभए थोकमा खरिद गरेर घरघर पुर्‍याउँछु ।’ आफंैले टिपेर ल्याएको दिन उनको खर्च कटाएर तीन हजारसम्म कमाइ हुन्छ ।

बजारमा निगुरो दुई प्रकारका बिक्री भइरहेका छन् । कालो रङको निगुरोको बढी माग हुने गर्छ । वर्षायाममा रायो सागको उत्पादन कम हुने भएकाले उपभोक्ताले निगुरो माग गर्छन् । ‘साग भएकै दिन पनि निगुरो पाएसम्म पकाउने गर्छु,’ होटल सञ्चालक तालबहादुर भण्डारीले भने, ‘पाहुनालाई दुई/तीन थरी हरियो तरकारी पस्कन पाउँदा खुसी लाग्छ ।’ रैथाने हरियो सागपात नपाएर तराईबाट ल्याइएका खानुपर्ने बाध्यता हटेको उनले बताए ।

सदरमुकाम आसपासका किसानले दैनिक सयौं केजी तरकारी डोकोमा बोकेर ल्याउन थालेपछि हरियो तरकारीको माग बढेको व्यवसायी बताउँछन् । बानपा ३ का नरबहादुर थापा र नारायणप्रसाद शर्मा पनि दैनिक डोकोमा तरकारी लगेर होटल र चोकमा बिक्री गर्ने खुद्रा व्यवसायीलाई छाडेर आउँछन् । उनीहरूले दैनिक दूधसमेत बिक्री गर्दै आएका छन् ।

यसरी बिक्री गर्दा मासिक ३० देखि ५० हजारसम्म कमाइ बढेको शर्माले बताए । बारीमा लगाएको तरकारीबाहेक पाखामा पाइने निगुरोले आयातित तरकारी रोक्न सघाएको थोक व्यवसायी गंगा केसीले बताइन् । ‘यतिबेला प्याज र लसुनबाहेक हरियो तरकारी बाहिरबाट आएको छैन,’ उनी भन्छिन्, ‘फलाइयो भने सजिलै बिक्री हुन्छ भन्ने विश्वास बढेको छ ।’ किसान आफ्ना उपज आफैं बजार पुर्‍याउँदा बिचौलियाले मौका पाउँदैन ।

किसानले कृषि फसल डोकोमा ल्याउँदा तुलनात्मक कम मूल्यमा तरकारी खान पाएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । ‘अनुगमनका क्रममा कुहिएको वस्तु भेटिन छाडेकाले स्वस्थ खाने अवसर मिलेको छ,’ उनले भने, ‘स्थानीय उत्पादनका लागि किसानलाई बीउ र प्राविधिक सहयोग बढाउनुपर्छ ।’

सुक्खा मौसममा भने बागलुङ बजारको मागअनुसार झन्डै ४० प्रतिशत तरकारी बाहिरबाटै भित्रिन्छ । दूध, कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाउने प्रयास भएको छ । अण्डा र कुखुराको मासु छिटपुटबाहेक ल्याउन पर्दैन ।

प्रकाशित : आश्विन ४, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?