३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कुखुरालाई कलर !

आनन्द गौतम

फेदी, ताप्लेजुङ — माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईकामा कुखुराका २६ भाले छन् । यहाँ आउने पाहुनाका लागि पालिएका प्रत्येक कुखुरालाई शरीरको माथिल्लो भागमा हरियो रङ लगाइदिएको छ । रङकै आधारमा उनले आफ्नो र अर्काको छुट्याएर रेखदेख गर्छन् ।

कुखुरालाई कलर !

छिमेकी मादेन होटलकी मुनाले भने खुट्टामा धागो बाँधिदिएकी छन् । हरियो रङको धागो बाँधेका कुखुरामा अरूले आफ्नो दाबी गर्दैनन् । राजेन्द्र महतले भने कुनै रङ वा संकेत लगाएका छैनन् । संकेत नगरिएका उनैको भएको गाउँलेले बुझ्छन् । १६ वटा होटल रहेको यस क्षेत्रका प्रत्येकलाई कुखुराका लागि रङ छुट्याइएको छ । शिरमा, पखेटामा, पेटमा, खुट्टामा गरी आ–आफ्नो संकेत बोकेका कुखुरा देखिन्छन् ।
कहिलेकाहीँमात्र खोरमा राखिन्छ । धेरै समय बाहिरतिरै हुन्छन् ।

‘यहाँ कुखुरा थुन्ने, बाँध्ने वा कुनै पनि किसिमले नियन्त्रणमा राख्ने काम हुँदैन,’ होटल व्यवसायी घनश्याम पौडेलले भने, ‘दिन–रात खुलै हुन्छन् ।’ एकले अर्काको चोर्ने, काट्ने वा आफ्नो बनाउन नखोज्ने र जंगली जनावरको पनि खासै डर नहुँदा खुलै छाडिएको पौडेल बताउँछन् ।काट्ने बेलामा अर्काको खोरमा भए निकाल्दा ‘मेरो यहाँ आएछ लगें है’ सम्म भन्ने गरेका छौं,’ पौडेलले भने, ‘अन्यथा सबै नियन्त्रणको काम रङले नै गर्छ ।’ यहाँ स्थानीय जातको कुखुराको सुप खान सदरमुकाम फुङलिङ र पाथीभराबाट फर्किएका बस्ने गर्छन् ।

३१ सय मिटर उचाइको चिसोका कारण यहाँ कुखुरा नफस्टाउने भएकाले बाहिरबाट किनेर लगिन्छ । भाले फुरुम्बु, फावाखोला, हाङदेवा, लिंखिम र फुङलिङका गाउँबाट लाने गरिएको छ । घर पुर्‍याउनासाथ पहिलो काम रङ्गाउने हुन्छ ।एउटा कुखुराको सुरु मूल्य बस्तीमा पुर्‍याउँदा किलोको नौ सय रुपैयाँसम्म पर्छ । माग अत्यधिक भएकाले प्रत्येक होटलले पाल्न भने अनिवार्य छ । ग्राहकले १२/१३ सयमा पाउँछन् ।

पाथीभरा दर्शनका लागि जानेले अहिले बोका–पाठा कम लान थालेपछि कुखुराको खपत बढेको हो । चिसो धेरै हुने ठाउँमा कुखुराको सुप धेरैले मन पराउने होटल व्यवसायी बताउँछन् ।असोज, कात्तिक, फागुन, चैत र वैशाखमा दैनिक ५ हजारभन्दा बढी यात्रु पाथीभरा पुगेर फर्कने गर्छन् । उनीहरूले मासु खान खोज्ने गरेकाले तिनैका लागि यस्तो व्यवस्था गरिएको होटल व्यवसायी बताउँछन् ।

प्रकाशित : आश्विन ४, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?