गोली हानेर विद्यालय व्यवस्थापन समिति अध्यक्षको हत्या

बाटो छेक्ने प्रहरी माथि पनि गोली प्रहार

सुनसरी — भारतीय सिमानामा पर्ने सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहा बजारमा बिहीबार बिहान एक विद्यालयका ब्यवस्थापन समिति अध्यक्षकाे गाेली प्रहार गरी हत्या गरिएकाे छ । बिहान सवा ११ बजेतिर माेटरसाइकलमा अाएका दुईजनाकाे समूहले रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेका हुन् । 

गोली हानेर विद्यालय व्यवस्थापन समिति अध्यक्षको हत्या

विद्यालयको बैठक सकेर घर फर्कनेक्रममा भारतीय नम्बर प्लेटको अपाचे मोटरसाइकलमा आएका दुई भारतीय नागरिकहरुले खर्सिदको टाउको र छातीमा गोली प्रहार गरेका थिए । उनलाई गोली प्रहार गरेकाे स्थान स्कुलबाट एक सय मिटर टाढा पर्छ । बाटोमा हिँडिरहेका बेला खुर्सिदलाई छाती र टाउकोमा गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

खुर्सिदलाई गोली हानेर भारतीय सिमानातर्फ भागिरहेका बेला घुस्कीमा पुगेपछि प्रहरीले बाटो छेकेका थिए । बाटो छेकिरहेका मध्ये प्रहरी जवान शिव पौडेलको हात र खुट्टामा गोली हानेर उनीहरु फरार भएका छन् । घुस्कीबाट तीन किलोमिटरको दुरीमा रहेको खुला सिमाना हुँदै ती दुई भारतीय नागरिक फरार भएका हुन । गोली प्रहारको कारण बारे केही खुलेको छैन ।

मृतक अन्सारीको शव आफन्तलाई जिम्मा दिने तयारी गरेको छ भने घाइते प्रहरी पौडेललाई उपचारकालागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । खुला सिमानाबाट प्रवेश गरेका भारतीय नागरिकहरुले दिनदाहाडै गोली प्रहार गरेर आतंक मचाएपछि सुनसरीको सीमा क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।

हत्यारा समात्न जिल्ला प्रशासनले सिमाना सिल गर्ने बताए पनि उनीहरु भारततिर भागिसकेको बताइएको छ ।

प्रकाशित : आश्विन ४, २०७५ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?