त्रिपालको छानो बनाएर सुत्छन् कैदीबन्दी

रासस

कञ्चनपुर — वर्षौँ पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागार कञ्चनपुरका कैदीबन्दी त्रिपालको छाना बनाएर बस्न बाध्य भएका छन् । पुराना भवन मर्मत सम्भारको कार्य नहुँदा छानाबाट पानी चुहिने भएकाले त्रिपाल राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् । 

त्रिपालको छानो बनाएर सुत्छन् कैदीबन्दी

भवनमा वर्षौँ पहिले लगाइएका इँटासमेत खिइएर झर्न थालेका छन् । पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दीले बताएका छन् ।


आर्थिक अभावले कारागारका जीर्ण भवन मर्मत सम्भारको कार्य हुन नसकेको कारागारका प्रमुख श्यामराज भट्टले बताए ।


भवन निकै पुराना भएकाले छत चुहिन्छ उनले भने,'फर्स तलबाटसमेत पानी आउने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।' 'उत्तर पूर्वतर्फको बुर्जाघरमा चट्याङ परेर भत्केको धेरै भयो । मर्मत गर्ने पैसा नहुँदा त्यतिकै रहेको छ । महिला कैदीबन्दी बस्दै आएको भवनको भान्सा घरको छानासमेत खस्ने अवस्थामा छ' उनले भने ।


कारागार विभागबाट थोरै बजेट आउँदा कैदीबन्दीको स्वास्थ्योपचार र खाना खर्चका लागि समेत सो रकमले नपुग्दा अन्य मर्मत सम्भार र निर्माणका कार्य हुन नसकेको भट्टको भनाइ छ ।


कारागारमा पुरुष कैदीबन्दी ७५ र महिला कैदीबन्दी २० गरी ९५ जना राख्ने क्षमता रहेकोमा अहिले कारागारमा पुरुष कैदीबन्दी २ सय ७७ र महिला कैदीबन्दी १८ गरी २ सय ९५ कैदीबन्दी राखिएका छन् । कैदीबन्दीलाई सुत्नका लागि व्यवस्था नहुँदा ग्यालरी र टिनसेटमा सुत्ने गरेका छन् ।


खानेपानी र शौचालयमा जानका लागि समेत कैदीबन्दीले पालो पखर्नुपर्ने अवस्था रहेको छ । कैदीबन्दी भन्छन्, 'निकै कष्ट सहेर बाँच्नुपरेको छ । सहजरुपमा बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गरिनुपर्छ ।'


कैद मुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने कैदीबन्दीको भनाइ छ । विसं २०३२ मा स्थापना भएको कारागार पाँच बिगाहा क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित : आश्विन ४, २०७५ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?