कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'बच्चा रुन थालेपछि पानी हो भनेर २ थोपा एसिड खुवाएकी हुँ'

हत्या अभियोगमा पक्राउ परेकी जानकी बयकको बयान
मेनुका ढुंगाना

अछाम — तुर्माखाद गाउँपालिका-४ चिसिका ६ महिनाका बालक मुस्कान बयक हत्या अभियोगमा पक्राउ परेकी जानकी बयकले पारिवारिक रिसिइबीले एसिड (कोरोसिभ केमिकल) खुवाएको बताएकी छन् । बुधबार पक्राउ परेकी जानकीले प्रहरीसँगको बयानमा पारिवारिक झगडा भइरहेने गरेको जनाउँदै त्यसैको रिसिइबीमा बच्चालाई केमिकल खुवाएको बताएकी छन् ।

'बच्चा रुन थालेपछि पानी हो भनेर २ थोपा एसिड खुवाएकी हुँ'

जानकीले प्रहरीलाई दिएको बयानमा भनेकी छन् ,‘बच्चा रुन थालेपछि पानी हो भनेर २ थोपा एसिड खुवाएकी हुँ ।’ एउटै घरमा दुई भान्सा गरेर बस्दै आएका जानकी र मृतककी आमाबीच बेलाबेलामा झगडा भइराख्ने र २९ गते पनि लेनदेनको विषयमा भनाभन भएको स्विकार जानकीले प्रहरी समक्ष गरेकी छन् ।


मृतक बयककी आमा र हत्या अभियोगमा पक्राउ परेकी जानकी घरका जेठानी र देउरानी मात्रै होइनन् सहोदर दिदीबहिनी समेत हुन् । मृतक ६ महिने बालकका बुवा महाबीर बयकले दिदीबहिनीबीच घरमा बराम्बार झगडा भइरहेने बताए । ‘मेरो छोरा गर्भमा हुँदा जानकीले छोरा जन्मिए ज्यूँदो नराख्ने धम्की दिएकी थिइन्,' महाबीरले भने, ‘मेरी श्रीमतीले उनलाई २५० रुपैयाँ तिर्नु पर्ने थियो । पैसा तिर्न अलि ढिलो भएपछि उनले भदौ २९ गते झगडा गरेकी थिइन् । त्यसैदिन अबको दुई दिनपछि तेरो देखाई दिन्छु समेत भनेकी थिइन् । नभन्दै २ गते छोरामाथि यस्तो घटना घट्यो ।’


विवाह नहुँदा माइतीघरमा पनि छुट्टाछुट्टै बसेका उनीहरु जेठानी र देउरानी हुँदा समेत बोलेनन् । मृतक बालकका बुवा बयकका अनुसार उनका भाइको र पक्राउ परेकी जानकीको भागी बिहे भएको थियो । ‘मेरो भाइको र मेरो सम्बन्ध अहिले पनि उत्तिकै राम्रो छ । हामी काठ चिर्ने कामसँगै गर्छौं,’ महाबीर भने, ‘मेरो छोरा जन्मिएदेखि उनी झन् बढी झगडा गर्थिन् । तेरो क्रिया मेरो छोराले गर्नुपर्नेछ भनेर जहिल्यै धम्की दिन्थिन् ।’


महाबीरका अब २ छोरी छन् भने जानकीका २ छोरा छन् । उनी अहिले १ वर्षीय छोरा सहित जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा छन् । माइतीले भने हालसम्म कुनै छोरीको पक्षमा नबोलेको महाबीरले बताए ।


प्रहरी बयानमा जानकीले एसिड खुवाएकी बताएपनि बालकको अनुहार र घाँटीमा समेत एसिड छ्यापेको देखिएको छ । प्रहारीका अनुसार बालकको अनुहार र घाँटी पोलेको थियो ।


घरमा सुताइराखेको अवस्थामा मंगलबार बिहान ११ बजेतिर एसिड जस्तै ‘कोरोसिभ केमिकल’ अनुहारमा फ्याँकिएको थियो । अवस्था गम्भीर बनेका बालकको थप उपचारका लैजाने क्रममा मंगलबार साँझ सुर्खेतमा मृत्यु भएको भएको थियो । घटनाबारे जानकारी पाए लगत्तै पीडितको घरमा पुगेको प्रहरी टोलीले मृतक बालकका काकी २५ वर्षीया जानकी बयकलाई बुधबार उनकै घरबाट पक्राउ गरेको थियो ।


'प्रारम्भिक अनुसन्धानबाट उनकै सानिमाले एसिड प्रहार गरेको पाइयो,’ अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले भने, 'थप अनुसन्धान अघि बढाएर कानुनी प्रक्रियामा जान्छौं ।’ हत्या अभियोगमा पक्राउ परेकी जानकीको थप बयान लिन र घटनाको थप अनुसन्धान गर्न जिल्ला अदालत अछामले बिहबार ७ दिनको म्याद थप गरेको छ ।

प्रकाशित : आश्विन ४, २०७५ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?