कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

‘सार्पसुटर’ बाट स्कुल व्यवस्थापन समिति अध्यक्ष खुर्सिदको हत्या !

प्रदीप मेन्याङ्बो

सुनसरी — हरिनगार गाउँपालिका-२ स्थित भुटाहा बजारमा रहेको रोहियान नेश्नल पब्लिक स्कुलको व्यवस्थापन समितिको बैठक बिहान राखिएको थियो । बैठक सकिए लगत्तै अध्यक्ष मौलाना खुर्सिद अन्सारी चिया पिउन बजार निस्केका थिए ।

‘सार्पसुटर’ बाट स्कुल व्यवस्थापन समिति अध्यक्ष खुर्सिदको हत्या !

चिया खाएपछि मोटरसाइकल चढेर घरतिर गएको केही समयमै उनीमाथि गोली प्रहार भयो । अज्ञात समूहले गोली प्रहार गरेर अन्सारीको बाटोमै हत्या भयो ।


उनको हत्या नियोजित हुनसक्ने अनुमान गरिएको छ । अन्सारीको बायाँ छातीमा दुई र टाउकोमा एक गरी तीन गोली लागेको छ । अन्सारीलाई गोली प्रहार गर्नेहरु ‘सार्पसुटर’ भएको आशंका पुलिसको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


खुला सिमानाबाट प्रवेश गरेका भारतीय बन्दुकधारीले दिनदाहाडै गोली प्रहार गरेर आतंक मच्चाएपछि सुनसरीको सीमाक्षेत्रका बासिन्दा त्रसित र आक्रोशित बनेका छन् ।

तीन तीनवटा चेकपोष्ट कटेर भारतीय नम्बर प्लेटको एउटा पल्सर र अर्को एफजेट मोटरसाइकलमा आएर हत्या गरी तीनै चेकपोष्टमार्फत् फरार हुँदापनि प्रहरीले हत्यारा पक्राउ गर्न नसकेपछि स्थानीय बासिन्दा आक्रोशित भएका हुन् ।


हत्याराहरु सिमाना कटेर भारतीय नम्बर प्लेटका दुईटा मोटरसाइकलमा चढेर करिब १७ किलोमिटरको दुरीमा पर्ने भुटाहा बजार छिरेको देखिन्छ । भारतीय सीमा कटेर आउनु ठूलो कुरो भएन तर हत्या गरेर भूटाहा बजारको मूलबाटो हुँदै साविक बसन्तपुर गाविस भएर घुस्की कटेर सीमापारी भारतीय बजार घुर्ना छिर्न सफल कसरी भए भन्नेमा प्रश्न उब्जेको छ । उनीहरु गएको बाटोमा तीनवटा चेकपोष्ट पर्छन् । वारी घुस्की सीमामा सशस्त्र प्रहरी वेसक्याम्प नै छ ।


भुटाहा बजारमा खुर्सिदको गोली प्रहार गरी हत्या भएको खबर आगोसरी फैलिएपछि भारततिर जाने बाटोमा स्थानीय बासिन्दाहरुले पनि ती अज्ञात हत्याराहरुलाई रोक्ने प्रयास गरेका थिए । केहीले सडकमा बेन्ची राखेर रोक्ने प्रयास गरेका थिए । बीचमा लठीको भरमा बन्दुकधारीलाई रोक्न खोज्ने प्रहरी जवान शिव पौडेलको खुट्टामा गोली प्रहार गरेर सहजै भागेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।


ती स्थानीय बासिन्दाले भने, ‘प्रहरी र सीमामा बस्ने सशस्त्र प्रहरीबलले ती बन्दुकधारीलाई पक्राउ गर्न चाहेको भए ठाउँको ठाउँमै गोली हान्न सक्ने वा पक्राउ गर्न सक्थे तर किन रोकेनन् दैवले जानून् ।’


खुर्सिदको हत्या किन भयो भन्ने प्रश्नको जवाफका लागि प्रहरीले अनुमान समेत गर्न सकेको छैन । खुर्सिद कुनै डन थिएनन् । तस्कर पनि थिएनन् । अपराधिक गतिविधिमा सम्लग्न भएको देखिएको छैन । नेकपाका कार्यकर्ता थिए खुर्सिद । उनी स्थानीय भुटाहास्थित मदर्साका बोर्ड सदस्य थिए । दावत ए इस्लाम भन्ने सामाजिक संस्थाका उपाध्यक्ष र रोहियान स्कुलका व्यवस्थापन समिति अध्यक्ष थिए ।


स्थानीय बासिन्दाले उनी मुस्लिम धार्मिक संगठन मार्फत् सामाजिक काममा सक्रिय रहँदै आएको बेला सार्पसुटर प्रयोग गरी हत्या गरेको बताएका छन् । हालसम्म कुनै विवादमा नआएका खुर्सिदको हत्या मुस्लिम गतिविधिमा सक्रिय मौलाना (गुरु) भएकैले भएको हुनसक्ने बताइएको छ ।


खुर्सिदको हत्यापछि तीन/तीन ठाउँमा प्रहरी चेकपोष्ट भएपनि हत्यारा पक्राउ गर्न नसकेपछि स्थानीय बासिन्दा आक्रोशित भएर सडकमा टायर बाल्दै प्रहरी विरुद्ध नारा लगाए । यो समाचार तयार पारिन्जेलसम्म प्रहरीलाई खुर्सिदको शव सडकबाट उठाउन स्थानीय बासिन्दाले दिएका छैनन् ।

स्थानीय बासिन्दाले बन्दुकधारी हत्यारालाई पक्राउ गर्न सक्ने अवस्था हुँदाहुँदै पनि किन छाडेको ? तीनवटा चेकपोष्ट हुँदै कसरी भारत छिर्न सफल भए ? भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ नदिएसम्म कुनै समाधान ननिस्कने बताउँदै आएका छन् । उनीहरुले हत्यारालाई तत्काल पक्राउ गर्न पनि माग गरेका छन् ।


स्थानीय लस्करी अन्सारी र सुशील ठाकुरले प्रहरीको निकम्मापनले भारतीय बन्दुकधारी नेपाल प्रवेश गरेर विद्यालय सञ्चालक समिति अध्यक्ष अन्सारीको हत्या गरी फरार हुन सफल भएको बताए ।


तीन ठाउँमा प्रहरी चेकपोष्ट भएपनि हत्यारा पक्राउ गर्न नसकेपछि आक्रोशित स्थानीयलेसडकमा टायर बाल्दै प्रहरीविरुद्ध नारा लगाएका छन् । उनीहरुले हरिनगराका विभिन्न ठाउँमा टायर बालेर हत्यारा पक्राउ गर्नुपर्ने माग गरेका छन् ।


बन्दुकधारीले दाहिने खुट्टा र दाहिने कम्मरमा एक एक गोली हानेका प्रहरी जवान शिव पौडेलको इनरुवास्थित जिल्ला अस्पतालामा प्राथमिक उपचारपश्चात धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घाइते पौडेल खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।


यसैबीच नेकपा सुनसरीले प्रेस विज्ञप्ति जारी गर्दै खुर्सिदको हत्यारा पक्राउ गर्नु पर्ने, मृतकको सम्मान गर्दै परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायत माग गरेको छ । नेकपाले घटना भएको ४५ मिनेटपछि मात्र घटनास्थलमा प्रहरी पुगेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित : आश्विन ४, २०७५ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?