कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

टक्सार घर अब मुद्रण संग्रहालय

राजेन्द्र मानन्धर

दोलखा — नेपालमा पहिलो मुद्रा छाप्ने राज्य दोलखा । यो राज्य अहिले अस्तित्वमा छैन तर झन्डै ५ सय वर्षअघिको टक्सार घर त्यसको साक्षी छ ।

टक्सार घर अब मुद्रण संग्रहालय

भीमेश्वर नगरको दोलखा स्वयम्भू थाननजिकै डाँडाथोकमा रहेको टक्सारघर जीर्ण छ । वि.सं. १६०५ अघि नै टक छाप्न र भण्डारण गर्न राजा जयइन्द्रसिंह देवले यो घर बनाएको इतिहास छ ।


यो ऐतिहासिक घर अब मुद्रण संग्रहालयमा परिणत हुँदै छ । पाँच जनाको स्वामित्वमा रहेको टक्सारघर अधिग्रहण गर्न ३ नम्बर प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ ।


टक्सारघर अधिग्रहणका लागि भीमेश्वर नगरपालिकाले काम थाल्ने मेयर भरत केसीले बताए । प्रदेश सरकारको बजेट र नगरको लगानीमा टक्सारघर संरक्षण र संग्रहालय निर्माण गरिने उनले जनाए ।


दोलखा राज्यको मुद्रालाई सन् १९८९ मा लन्डनबाट प्रकाशित पुस्तक ‘क्वाइनेज अफ नेपाल’ ले तत्कालीन हिन्दु राज्यकै पहिलो सिक्का दाबी गरेको छ । तीन जना बेलायतीले संकलन गरेको तथ्यसहितको उक्त पुस्तकको ७६ र ७७ पृष्ठमा राजा जयइन्द्रसिंह देवले चल्तीमा ल्याएको सिक्का तिब्बतमा भेटिएको दाबी छ । मुद्रा संग्रह क्रममा तिब्बतमा पनि उक्त टकको खोजी गरिने दोलखा क्षेत्र २ का प्रदेशसभा सदस्य पशुपति चौलागाईंले बताए ।


जयइन्द्रसिंह वि.सं. १५९१ देखि १६०५ सम्म दोलखाका राजा थिए । २०२८ सालमा साझा प्रकाशनद्वारा प्रकाशित मोहनप्रसाद खनालको पुस्तक ‘अभिलेख संकलन’ मा भनिएको छ, ‘उक्त शासनकालमा प्रकाशित टक वि.सं. १६१२ पछि कान्तिपुरका राजा भएका महीन्द्र मल्लका चाँदीका मोहरभन्दा अगाडिका हुन् ।’


मन्दिर र मूर्तिहरूले भरिएको दोलखा बजारका प्राचीनकालीन अवशेष समाप्त हुने क्रममा छन् । जयइन्द्रसिंहको दरबार पनि भत्किसकेको छ । नगरपालिकाले दरबार उत्खननको तयारी पनि गरेको छ ।


दोलखाको इतिहास नलेखीकन नेपालको इतिहास पूरा हुँदैन भन्ने इतिहास शिरोमणि बाबुराम आचार्यले पनि दोलखा राज्यकालीन सिक्काको चर्चा गरेका छन् । उनैको भनाइका आधारमा लेखक मोहनप्रसाद खनालले ‘पूर्णिमा’ पत्रिकाको अंक ३ मा ‘राजा जयनारायणले वि.सं. १६११ लेखेको शिलालेखमा आमा विजयालक्ष्मी र बाबु जयइन्द्रसिंह अंकित टकको चर्चा गरिएको’ उल्लेख गरेका छन् ।


दोलखावासीले इतिहासको ज्युँदो प्रमाण मान्दै आएको राजा जयइन्द्रसिंह देवको मूर्ति वि.सं. २०५३ चौथी पर्वको राति हरायो । उक्त मूर्ति स्थानीय सहदेव सिंहको घरमा थियो ।


दोलखाको ऐतिहासिक पुस्तक ‘खोतलखातल’ मा उल्लेख भएअनुसार रानी विजयालक्ष्मीको मूर्ति पनि त्यसको केही वर्ष पहिले नै हराएको थियो । हाल मूर्तिको नक्कल गरी पर्यटनकर्मी वैकुण्ठनारायण प्रधानको सक्रियतामा दोलखा पाखालतीमा एक उद्यान निर्माण गरिएको छ ।

प्रकाशित : आश्विन ४, २०७५ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?