रुद्राक्ष पहरामा सीसी क्यामरा

भोजपुर — रुद्राक्ष फल्ने बेला रूखको फेदमा बसेर सुरक्षा दिँदै आएका किसान यो वर्ष ढुक्कै छन् । रुद्राक्ष हराउला भन्ने चिन्ता छैन । निगरानी गर्न जडिएको छ, सीसी क्यामरा । दिङ्ला रुद्राक्षको ‘पकेट क्षेत्र’ हो ।

रुद्राक्ष पहरामा सीसी क्यामरा

‘एउटै रूखबाट लाखौं आम्दानी हुने भएकाले बगैंचामा सीसी क्यामरा राखेका छौं,’ षडानन्द नगरपालिका ५ का मनुराज राईले भने, ‘घरैमा बसेर टीभी र मोबाइलबाट निगरानी गर्न सकिने भएको छ ।’

जागिर र व्यापारभन्दा रुद्राक्ष आम्दानीको राम्रो स्रोत बनेको भारतको चण्डीगढ कुरुक्षेत्र विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ गरेका रोशन भण्डारीले बताए । पाले राख्दा पनि सुरक्षा नभएपछि प्राय: सबैले जडान गरेका छन् ।दिङ्ला बजारमा २ मुखेदेखि २६ मुखे रुद्राक्षको बढी बिक्री हुँदै आएको छ ।

एक कृषकले वार्षिक न्यूनतम १० लाखदेखि बढीमा २ करोड रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । रुद्राक्षको निकासी पहिले भारतमा मात्रै हुने गरेकामा पछिल्लो समय चीनमा झन् माग बढेको साल्पासिलिछो ५ खाटाम्माका गोपाल राईले बताए । ‘चिनियाँले रुद्राक्षको गुणस्तर र बनोट हेरेर लाने गरेका छन्,’ उनले भने, ‘एकपटकमा झन्डै १० करोडभन्दा बढीको रुद्राक्ष उठाउँछन् । सुरक्षामा चुनौती थपिएपछि सीसी क्यामरा प्रयोग गरिएको हो ।’

षडानन्द नगरपालिका र उत्तरी भेगमा पछिल्लो समय रुद्राक्षलाई व्यावसायिक रूपमै खेती गर्न थालिएको छ । राम्रो फलेको बोटमा सुरक्षा दिन बसेकाहरू नै असुरक्षित हुने भएकाले पनि सीसी क्यामरा जडान गर्नुपरेको किसान बताउँछन् । जिल्लाका उत्तरी भेगसँगै अधिकांश क्षेत्रमा रुद्राक्ष विस्तार गर्न थालिएको छ । रुद्राक्षलाई पछिल्लो समय करको दायरामा समेत ल्याइएको छ ।

सीसी क्यामरा राखेर निगरानी गरेपछि आफूहरूलाई सहज भएको कृषक रमेश कठेतले बताए । ‘फलेका बेला चोरी हुने डर हटेपछि सहज भएको छ,’ व्यापारी तुलसी बस्नेतले भने, ‘सीसी क्यामरा जडान गरेपछि कृषकहरू घरमै सुत्न थालेका छन् ।’ केही वर्षयता मूल्य पाउन थालेपछि धेरैजसोले सयौं मुरी धान फल्ने खेतबारीमा रुद्राक्ष लगाएका छन् । कतिले अरूको जग्गा भाडामा लिएर खेती गरेका छन् ।


रुद्राक्ष खेतीलाई अब व्यावसायीकरण गर्ने सोच रहेको षडानन्द नगरपालिकाकी उपप्रमुख मेरिका राईले बताइन् । ‘आगामी नगरसभाले नयाँ नीति बनाएर नगरपालिकालाई व्यवस्थित नर्सरी पकेट क्षेत्रका रूपमा विकसित गर्ने योजना ल्याउनेछ’ उनले भनिन् ।

प्रकाशित : आश्विन ५, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?