२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

राराको सौगात सिमी र स्याउ

राजबहादुर शाही

मुगु — रारा घुम्न आउने आन्तरिक पर्यटक ‘कोसेली’ का रूपमा सिमी र स्याउ लिएर फर्कन्छन् । पर्यटकले असोजदेखि मंसिरसम्म स्याउ र कात्तिकदेखि फागुनसम्म सिमी लैजाने गरेका हुन् । कोसेली लानेको संख्या बढेपछि स्थानीयले पनि स्याउ र सिमी उत्पादनमा जोड दिन थालेका छन् ।

राराको सौगात सिमी र स्याउ

कोसेली खोज्न पर्यटक रारा नजिकैका मुर्मा, झ्यारी, पिना, माथितुम, ताल्चालगायत गाउँमा पुग्छन् । स्थानीय बजारमा सिमी प्रतिकिलो एक सय २० र स्याउ प्रतिकिलो ३५ रुपैयाँमा बिक्री हुने गरेको ताल्चाका असल रावलले बताए । ‘यहाँको अर्गानिक सिमी र स्याउ आन्तरिक पर्यटकले धेरै रुचाएका छन्,’ उनले भने, ‘पर्यटकले लैजान थालेपछि स्थानीयको आयआर्जन पनि बढेको छ ।’ स्याउ किन्न पर्यटक गाउँमै पुग्ने गरेको उनले बताए ।

मुर्माका बिर्खबहादुर रोकायाले पर्यटकले कोसेलीका रूपमा लैजान थालेपछि स्याउ र सिमीले भाउ पाएको बताए । उनले सिमी बेचेर सिजनमा ४० हजार रुपैयाँ कमाउने गरेको बताए । उनका अनुसार माग बढेपछि मुर्मागाउँका ६५ घरधुरीले व्यावसायिक रूपमा सिमी र स्याउ उत्पादन थालेका छन् । मौसम सफा भएपछि असोजबाट रारा घुम्ने आन्तरिक पर्यटकको संख्या बढ्ने उनको भनाइ छ । सिमी स्वादिलो र पोसिलो हुने भएकाले माग बढेको हो । असोजमा रारा पुगेका पर्यटकले बारीमै पुगेर स्याउ लैजान्छन् । उनीहरू भण्डार गरेको भन्दा बोटबाटै टिपेर स्याउ लैजान रुचाउँछन् ।

जिल्लामा उत्पादन हुने डेलिसिएस गोल्डेन प्रजातिको स्याउ स्वादिलो हुने पर्यटकले जनाएका छन् । रारा आसपास क्षेत्रमा पाइने स्याउ रसिलो हुने काठमाडौंकी रोजिता अधिकारीे बताउँछिन् । समुद्र सतहदेखि २ हजार ९ सय मिटर उचाइमा रहेको रारा आसपास क्षेत्रका एक दर्जन बस्तीमा स्याउ र सिमीको राम्रो उत्पादन हुने गरेको छ ।

मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले प्याकेजिङ गरी सिमी र स्याउको बजारीकरण गर्न जरुरी रहेको बताए । यहाँका किसानले स्याउको भुजा र मदिरा उत्पादन गरेर पर्यटकलाई बिक्री गर्ने गरेका छन् । भुजा प्रतिप्याकेट ८० र रक्सी प्रतिबोतल २ सय रुपैयाँमा बिक्री हुने गरेको छ । छायानाथ रारा नगरपालिकाको कृषि शाखाका योजना अधिकृत केबी रोकायाले जिल्लामा बर्सेनि तीन हजार एक सय टन स्याउ र तीन सय २० मेट्रिक टन सिमी उत्पादन हुने गरेको बताए । उनका अनुसार जिल्लाको तीन सय ४० हेक्टर क्षेत्रफल सिमी खेती हुने गरेको छ ।

यसैगरी सडक मार्ग हुँदै रारा घुम्न आउने आन्तरिक पर्यटकले जुम्लाको सिंजाबाट मार्सी धानको चामल कोसेलीका रूपमा लैजाने गरेका छन् । गोठिज्यूलाका सार्की बुढाका अनुसार स्थानीय बजारमा मार्सी चामल प्रतिकिलो एक सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।

प्रकाशित : आश्विन ५, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?