१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्कुल लाइसेन्स लिन १ लाख घूस

भूषण यादव

जनकपुर — निजी विद्यालयलाई प्रदान गरिने लाइसेन्स (इजाजतपत्र) का लागि १ लाख रुपैयाँ घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाको शिक्षा शाखा प्रमुखसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

स्कुल लाइसेन्स लिन १ लाख घूस

अख्तियारको हेटौंडास्थित कार्यालयबाट आएको टोलीले बिहीबार अपराह्न महानगरपालिका ६, लाठगल्लीमा बिस्मिलाह होटलमा घूस लिने क्रममा अरुण साह कानुलाई पक्राउ गरेको थियो । उनी महानगरपालिकाको शिक्षा शाखामा कार्यरत नायब सुब्बा शशिभूषण साह कानुका भान्जा हुन् ।

विद्यालय सञ्चालक एकबाल हैदरसँग १ लाख रुपैयाँ लिँदालिँदै पक्राउ परेका कानुको बयानका आधारमा अख्तियारले महानगरपालिका शिक्षा शाखा प्रमुख मन्जुर आलम र शशिभूषणलाई पनि पक्राउ गरेको हो ।

सञ्चालकका अनुसार गत आवमा वडाध्यक्षले शिशु कक्षा सञ्चालनको अनुमति दिएका थिए । ‘यस वर्षदेखि कक्षा ५ सम्मको सबै पूर्वाधार निर्माण गरी अनुमतिका लागि निवेदन दिएको थिएँ,’ हैदरले कान्तिपुरसँग भने, ‘जायज छ भनी अनुमति प्रदान गरिदिन अनेक ठाउँबाट भनसुनसमेत गराएँ, तर कुनै चासो लिएनन् ।’

उनका अनुसार गत साता प्रतिकक्षा १ लाख रुपैयाँ दिए अनुमति प्रदान गरिने शिक्षाका कर्मचारीले मुख खोलेका थिए । ‘मोलमोलाइ गर्दा ५ कक्षाका लागि १ लाख रुपैयाँमा कुरा मिलाएको थिएँ,’ वीरगन्ज महानगरपालिका १४ का हैदर भन्छन्, ‘बुधबार इजाजतपत्र दिए, बिहीबार पैसा लिन भान्जो पठाए ।’

हैदरका अनुसार महानगरपालिकाका केही कर्मचारीलाई मैले अख्तियार बोलाउँछु भन्ने थाहा पाएर होला इजाजतपत्र दिने बेला पैसा लिन मानेनन् । जायज कामका लागि पनि कर्मचारीले अनेक दु:ख दिने र अन्त्यमा पैसा बार्गेनिङ गरी काम गर्ने प्रवृत्ति अन्त्यका लागि अख्तियारको सहयोग लिएको हैदरले खुलाए ।

‘मेरा अरू २ साथीले पनि घूस खुवाएरै स्कुलको इजाजत लिएका छन्,’ उनले भने, ‘यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ ।’ झन्डै २ दशकपछि स्थानीय तहमा जनप्रतिनिधि आए पनि आर्थिक अनियमितता न्यून नभई झन् मौलाउँदै गएको छ । महानगरपालिका कार्यालयको राजस्व, शिक्षा, लेखा, योजना, नक्सालगायत शाखामा अत्यधिक भ्रष्टाचार हुने गरेको सेवाग्राहीको गुनासो छ ।

जनप्रतिनिधि बढी सेवा सुविधा लिनतर्फ लागेकाले कर्मचारीलाई कडाइ गर्न नसकेको रानीघाटका प्रवीण राउत बताउँछन् । ‘जनताको सेवाभन्दा पनि आफ्नै सेवा सुविधा र कमिसनमा बढी केन्द्रित छन्,’ उनले भने, ‘कमिसनमा डुबेको जनप्रतिनिधिले कर्मचारीलाई भ्रष्टाचार नगर भन्न सक्दैन ।’

वीरगन्ज १४ स्थित बहुअरीमा फुर्कान इन्टरनेसनल एकेडेमी चलाउँदै आएका हैदरले सबै प्रक्रिया पूरा छ भने इजाजतपत्र प्रदान गराइदिन वीरगन्जका मेयरदेखि लिएर प्रदेश सांसदलाई समेत सिफारिस गर्न लगाएका थिए । ‘जसले भन्दा पनि कर्मचारीले चासो देखाएका थिएनन्,’ उनले भने, ‘पैसा लिएर मात्र काम गर्ने परिपाटी बसेको रहेछ ।’

प्रकाशित : आश्विन ५, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?