कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खरको छानोलाई प्रोत्साहन

हरि गौतम

रुकुम पूर्व — दुर्गम क्षेत्रका स्थानीय तहबीच खरका छाना हटाएर जस्ताले छाउने होड चलेको छ । धेरै जनप्रतिनिधिले त्यसैलाई मुख्य लक्ष्य बनाएका छन् । यहाँस्थित सिस्ने गाउँपालिकाले भने ठीक उल्टो निर्णय गरेको छ ।

खरको छानोलाई प्रोत्साहन

परम्परा कायम राख्न खरको छाना हाल्नेलाई प्रोत्साहन भत्ता व्यवस्था गरेको छ । गाउँपालिकाको नीतिमा रहेर घर निर्माण गर्नेले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् । त्यसका लागि गाउँपालिकाले खरको छानो हुनैपर्ने मापदण्ड तोकेको छ ।

‘खरको छानो घरको’ अभियान सफल बनाउन यस्तो नीति बनाइएको गाउँपालिकाले जनाएको छ । ‘परम्परागत चिज लोप भइसके, कतिपय लोप हुने अवस्थामा छन्, त्यसको संरक्षणका लागि यो निर्णय गरिएको हो,’ गाउँपालिका अध्यक्ष कुमारी बरालले भनिन्, ‘पुराना संरचना बचाइराख्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।’


पुराना निर्माण सामग्री केही न केही बाँकी रहुन् भनेर यस्तो निर्णय गरेको उनले बताइन् । नयाँ निर्माण हुने घर खरले छाउन छाडिएको छ । कतै–कतैमात्र यस्ता घर देखिन्छन् । त्यसैले खरका छाना भएका घर जोगाउन नीतिगत रूपमै यस्तो निर्णय गरिएको अध्यक्ष बरालले बताइन् ।

अहिले गाउँपालिकाका आठवटै वडामा कि पक्की घर बनाइन्छ, कि जस्ताको छानो हालिन्छ । खरको छानो हराउँदै गएको थियो । त्यसपछि गाउँपालिकाको केही बस्तीमा खरको छाना भएका घर होऊन् भनेर यस्तो निर्णय गरियो । ‘हामीले भावी पुस्तालाई के देखाउने ? पुरानो अवस्थिति कस्तो थियो, जीवनशैली कसरी चलेको थियो, घर, गोठ र टहरा कस्ता थिए भन्ने देखाउन पनि अभियान जरुरी छ,’ अध्यक्ष बरालले भनिन् । यसरी मिल्ने नगदले एउटा घरको छानो हाल्न नपुग्ने भए पनि प्रोत्साहनबापत उपलब्ध गराउने निर्णय भएको उनले सुनाइन् ।

प्रोत्साहन भत्ता पाउन खरको छाना हालेकाले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन्छन् । प्राप्त निवेदनका आधारमा वडाका जनप्रतिनिधि तथा कर्मचारीले घरको अनुगमन गर्नेछन् । नयाँ घरमा खरको छानो हालिएको पाइए प्रोत्साहन भत्ताका लागि गाउँपालिकामा सिफारिस गर्नेछन् । वडा कार्यालयले गरेको सिफारिसका आधारमा गाउँपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउनेछ । विशेषगरी पर्यटकीय गाउँ बनाउने अभियानलाई सघाउन ‘घरको छानो खरको’ अभियानको अवधारणा अघि सारिएको प्रवक्ता जीवन केसीले बताए ।

‘कुनै पनि गाउँ अर्गानिक होस्, त्यहाँ पाइने सबै वस्तु एकदमै स्थानीय र पौराणिक झल्कने होऊन् भन्ने उद्देश्य सरकारले राखेको छ,’ प्रवक्ता केसीले भने, ‘अहिले ठाउँ विशेषभन्दा सबै ठाउँमा त्यस्ता घर बनुन् भन्ने नै हो ।’ उनले कुनै ठाउँ विशेषलाई नभई आठवटै वडामा बन्ने नयाँमध्ये कुनै न कुनैमा खरको छानो हालियोस् भन्नेतर्फ ध्यान दिइएको बताए । धेरै घर खरको छानाका भएपछि त्यसलाई पर्यटनका लागि विशेष क्षेत्र घोषणा गरेर अरू विकास निर्माणका कार्य अघि बढाउने नीति बनाइएको छ ।

प्रकाशित : आश्विन ५, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?