१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अपराध रोक्न सीमामा गस्ती

सशस्त्र र एसएसबी सँगै

कञ्चनपुर — सीमा क्षेत्रमा स्थानीयबीच बेलाबेला विवाद भइरहन्छ । कुनै बेला यसले ठूलै रूप लिइदिन्छ । स्थानीयको विवाद दुवै क्षेत्रका सुरक्षाकर्मीसम्म पुग्छ । त्यस्तै समस्या समाधानका लागि यतिबेला सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त गस्ती गरिरहेका छन् ।

अपराध रोक्न सीमामा गस्ती

उनीहरूले कञ्चनपुरको डोके बजारदेखि खल्लामसेट्टीसम्म विभिन्न टोली बनाएर गस्ती गरेका हुन् ।

सशस्त्रले सीमा क्षेत्रमा गरिरहेका फोर्स मार्चअन्तर्गत एसएसबीसँग संयुक्त गस्ती गरिरहेको सशस्त्र प्रहरीको ३५ नं. गण प्रमुख एसपी विनोदराज श्रेष्ठले बताए । उनले भदौ २७ देखि सुरु फोर्स मार्च मंगलबार सकिएको जानकारी दिए । ‘फोर्स मार्चकै अवधिमा एसएसबीसँग संयुक्त गस्ती गरिएको हो,’ उनले भने, ‘यसले दुवैतर्फका सुरक्षाकर्मीबीच समन्वय र सहकार्यको विकास हुन्छ ।’

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, चोर तस्करी नियन्त्रण र भारतबाट चाडपर्वका लागि घर फर्किनेमाथि हुने दुव्र्यवहार न्यूनीकरणका लागि पनि समन्वय भएको श्रेष्ठ बताउँछन् । स्थानीय पुनर्वास, बेलौरी, बेलडाँडी, दोधाराचाँदनी, गड्डाचौकी र ब्रह्मदेव क्षेत्रमा संयुक्त गस्ती भएको उनले जनाए ।

उक्त क्षेत्रमा सशस्त्रले ३ वटा टोली बनाएर फोर्स मार्च गरेको छ । एक टोलीमा ३१ सहभागी थिए । सीमा क्षेत्रमा अतिक्रमणको अवस्था, सीमा स्तम्भलगायतको अध्ययन गर्न जेठ अन्तिम सातादेखि उक्त अभियान सुरु गरिएको थियो । यससँगै सुरक्षाकर्मीबीच सहकार्य बढाउन संयुक्त गस्ती सुरु गरिएको उनले बताए । ‘सुरक्षा निकायको उपस्थिति नभएका ठाउँका बासिन्दालाई सुरक्षाको प्रत्याभूति पनि हुन्छ,’ उनले भने, ‘यस अवधिमा चोरी तस्करीबाट आयात भएको मालसामान पनि बरामद गरिएको छ ।’

सीमा स्तम्भको अवस्थाबारे भने पूर्ण विवरण तयार भइसकेको छैन । नयाँ ढलेका वा भत्केका स्तम्भ नभएको पाइएको छ । यसको पूर्ण विवरण एक/दुई दिनमै तयार हुने एसपी श्रेष्ठले बताए । अघिल्ला वर्षमा खोलानाला र नदीले भत्काएको पाइए पनि यस वर्ष त्यस्तो क्षति भएको छैन ।

गत वर्ष संयुक्त सीमा सर्भे टोलीले गरेको रेकीका क्रममा आधाभन्दा बढी सीमा स्तम्भ हराएका र जीर्ण अवस्थामा भेटिएका थिए । जीर्णको मर्मत सम्भार कैलालीबाट सुरु गरिएको छ । वर्षातका कारण बीचमा संयुक्त टोलीले काम रोकेको र अब फेरि सुरु हुनेछ । अधिकांश ठाउँमा सीमा अतिक्रमण भएको, स्तम्भ हराएका समस्याले बेलाबेला दुवैतर्फका नागरिकबीच विवाद हुँदै आएको छ ।

दुई वर्षअघि पुनर्वासको गोविन्द बजारमा सीमा विवादमा भारतीय सुरक्षाकर्मीको गोलीबाट एकजनाको मृत्यु भएको थियो । गत वर्ष पनि पुनर्वासको बीचफाँटामा वन्यजन्तु नियन्त्रणका लागि स्थानीयले विद्युतीय तारबार जडान गर्न खोज्दा एसएसबीसँग ठूलै विवाद भएको थियो । उक्त योजना अहिले अलपत्र अवस्थामा छ ।

त्यस क्षेत्रमा हात्ती र अन्य वन्यजन्तुले खेतीपाती खाने समस्या भएकाले स्थानीयले विद्युतीय तारबार लगाउन थालेका हुन् ।

प्रकाशित : आश्विन ५, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?