२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

पप्पुद्वारा कन्काईमा पनि ढिलाइ

विकास निर्माणमा लापरबाही
अर्जुन राजवंशी

महाभारा, झापा — पप्पु कन्स्ट्रक्सनले ४ वर्षमा निर्माण सक्नुपर्ने गरी ठेक्का लिएको कन्काई नदीको पुल ७ वर्ष पुग्दा आधा काम पनि भएको छैन । समयमै पुल नबन्दा जिल्लाका दक्षिण भेकका जनता नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

पप्पुद्वारा कन्काईमा पनि ढिलाइ

पुल निर्माणको ठेक्का सम्झौता ०६८ जेठमा भएको हो । ०७२ जेठ मसान्तमा निर्माण सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म ४० प्रतिशत मात्र काम भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले
जनाएको छ ।

ठेकेदार कम्पनीको ढिलाइले निर्माणमा आशातित प्रगति नभएको कार्यालयका इन्जिनियर नन्दकुमार गुप्ताले बताए । उनले पुल निर्माणमा भएको ढिलाइबारे पटकपटक ताकेता गर्दा पनि सुनुवाइ नगरेको बताए । निर्धारित मितिमा काम पूरा नभएपछि ०७२ मा २ वर्ष म्याद थपिएको उनले बताए ।

थप भएको मितिले ०७४ असार मसान्तमा पुल निर्माण सक्नुपर्ने थियो । ‘तर, पप्पुले उक्त मितिमा पनि पुल निर्माण सम्पन्न गर्नेबारे कुनै तदारुकता देखाएन,’ उनले भने । म्याद थप्दा पनि काम पूरा नगरेपछि अहिले म्याद नथपेको इन्जिनियर गुप्ताको भनाइ छ । ‘पटकपटक ताकेता गर्दा र म्याद थप्दासमेत काम पूरा नगरेपछि फेरि थपिएको छैन,’ उनले भने ।

निर्देशनालयअन्तर्गत ३० करोड ४० लाख ९० हजार रुपैयाँमा ठेक्का लागेको हो । ७ सय २४ मिटर लम्बाइको पुल निर्माण सम्पन्न भए सर्वसाधारणलाई आउजाउमा सहज हुने थियो । यो पुल निर्माणमा ढिलाइ भएकै कारण राजगढदेखि मोरङको सिमानासम्मको हुलाकी सडक निर्माण प्रक्रिया अघि बढाउन नसकिएको निर्देशनालयले जनाएको छ । राजगढदेखि भद्रपुरसम्मको हुलाकी सडकमा भने कालोपत्रेको काम भइरहेको छ ।

‘यही जुनीमा यो पुलमा हिँड्न पाइएला जस्तो लाग्या छैन,’ स्थानीय ७० वर्षीय गेदुराम राजवंशीले भने, ‘निर्माण थालेकै ७ वर्ष भइसक्यो । अझैसम्म पिलरहरू नै सबै बनेका छैनन् ।’ उनले निर्माण कम्पनीको ढिलासुस्तीका कारण आफूहरूलाई दु:ख भएको बताए ।उनले १० मिनेटमा वारपार गर्न सकिने नदीमा पुल नहुँदा ५० किमि यात्रा गर्नुपरेको बताए । ‘यस क्षेत्रका बासिन्दाका लागि सीमावर्ती बजार डिघलबैंक प्रमुख बजार हो । तर, नदीमा पुल नभएकाले २२ किमि टाढा सुरुंगा पुगेर फेरि २२ किमि दक्षिण झापा बजार झर्नुपर्ने बाध्यता छ,’ स्थानीय भागलाल राजवंशीले भने, ‘पुल बने हामी केही मिनेटमै झापा बजार पुग्न सक्छौं ।’

ठेकेदार कम्पनीले नियमित काम नगरेको उनको गुनासो छ । सरोकारवाला निकायले कडाइ नगर्दा पुल निर्माणमा ढिलाइ भएको स्थानीय सुरेश साह बताउँछन् । उनले पुल निर्माणमा ढिलाइ हुँदा व्यापारीहरूले ढुवानीमा चर्को मूल्य तिर्नुपरेको बताए । कन्काई जिल्लाकै ठूलो नदी हो ।

ठेकेदार कम्पनीले पुल निर्माण समयमै नगरिँदिँदा यहाँका सर्वसाधारण काठको डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । नदीमा बाढी आएको दिन डुंगा सञ्चालन हुँदैन । तर, अत्यावश्यक काममा डुंगा सञ्चालनको विकल्प नरहेको स्थानीय बताउँछन् । ‘जोखिम मोलेर डुंगाबाट खोला तर्नुपर्छ,’ स्थानीय तीर्थलाल राजवंशीले भने, ‘कैयौंपटक पौडिएर खोला तर्नुपरेको छ ।’

उनले जोखिम भए पनि काठको डुंगाबाट नदी तर्दा प्रतिव्यक्ति २५ रुपैयाँ तिर्नुपरिरहेको बताए । ‘अहिले जतिपटक आउजाउ गरिन्छ । २५ रुपैयाँका दरले त्यति नै पटक शुल्क तिर्नुपर्छ,’ उनले भने, ‘तर, पुल बनेको भए नदी वारपार गर्दा पैंसा तिर्नु पर्दैनथ्यो । गरिबले राहत पाउँथे ।’

प्रकाशित : आश्विन ५, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?