३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बिनाप्रतिस्पर्धा ३५ प्राध्यापक

काठमाडौँ — नेपाल संस्कृत विश्वविद्यालयका विभिन्न आंगिक क्याम्पसमा बिनाप्रतिस्पर्धा प्राध्यापक नियुक्त गरिएका छन् । प्राध्यापक र कर्मचारी छनोट गर्न विश्वविद्यालय सेवा आयोग हुँदाहुँदै प्रक्रिया मिचेर ३५ प्राध्यापकलाई सिधै नियुक्ति दिइएको छ । ११ जना नियुक्तिको प्रक्रियामा छन् ।

बिनाप्रतिस्पर्धा ३५ प्राध्यापक

याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीमा १६, केन्द्रीय विद्यापीठ बेलझुन्डीमा ६ र शारदा विद्यापीठ महेन्द्रनगरमा ६ जना नियुक्त गरिएको छ । बीपी कोइराला संस्कृत विद्यापीठ सोलुखुम्बुमा ३ जना नियुक्त भएका छन् । ७ जना प्रक्रियामा छन् । वाल्मीकि विद्यापीठ काठमाडाैंमा ४ प्राध्यापकलाई नियुक्ति दिइएको छ ।

वाल्मीकिमा १० जना राख्ने तयारी गरिएकामा भागबन्डा नमिलेपछि रोकिएको छ । प्रक्रिया मिचेर प्राध्यापक नियुक्त गरिएको भन्दै नेविसंघ र अखिल क्रान्तिकारीले शुक्रबारदेखि विद्यापीठमा तालाबन्दी गरेका छन् । उनीहरूले नियुक्ति प्रक्रिया छानबिन गर्न माग पनि गरेका छन् ।

नियुक्तिमा मुख्य राजनीतिक दल र विश्वविद्यालयका पदाधिकारीले भागबन्डा गरेको र आर्थिक चलखेलसमेत भएको आरोप छ । विद्यार्थी कम भएर कार्यरत प्राध्यापकलाई समेत कार्यभार नपुगिरहेका बेला बिनाप्रतिस्पर्धा नयाँ नियुक्ति गरिएको भन्दै विरोध भइरहेको छ । उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको मिलेमतोमा विद्यापीठका प्राचार्यमार्फत आआफ्ना मानिसलाई सिधै नियुक्ति दिइएको स्रोतको भनाइ छ । अन्य विषयमा राजनीतिक खिचातानी र विवादमा उत्रने पदाधिकारी प्राध्यापक तथा कर्मचारी नियुक्तिमा एकमत हुने गरेका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयलाई अख्तियारले लेखेको पत्र । तस्बिर : कान्तिपुर


बिनाप्रतिस्पर्धा नियुक्तिबारे ध्यानाकर्षण गराउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २२ गते पत्र लेखी त्यस्ता काम रोक्न निर्देशन दिएको थियो । विश्वविद्यालयमा शिक्षक, कर्मचारी आवश्यक परे सेवा आयोगलाई स्थायी पदपूर्तिका लागि पठाउने र आयोगबाट पदपूर्ति नहुँदासम्मलाई नियमअनुसार
अस्थायी/करारमा भर्ना गर्न सकिने प्रावधान लागू गर्न अख्तियारले पत्र लेखेको थियो । तर यसपटक सेवा आयोगमा विज्ञापनै नगरी प्राध्यापक नियुक्त गरिएको छ ।

आयोगमा अहिले कुनै विज्ञापन माग नभएको अध्यक्ष वेणीमाधव ढकालले बताए । ‘प्रक्रियाअनुसार आयोगमा विज्ञापनका लागि माग नभई कुनै अस्थायी शिक्षक, कर्मचारी राख्न पाइँदैन,’ उनले भने, ‘अहिले आयोगमा कुनै पनि पदमा विज्ञापन माग भई आएको छैन । माग नभई विद्यापीठमा सिधै नियुक्ति दिइएको सुनिन्छ । यो गलत हो । यस्तो गर्न मिल्दैन ।’ सेवा आयोगले नियमित रूपमा विज्ञापन गरी शिक्षक, कर्मचारी छनोटको काम पनि गरिरहेको छ ।

पछिल्लो १ वर्षमा मात्रै तीनपटक विज्ञापन गरी पर्याप्त स्थायी शिक्षक, कर्मचारी नियुक्त भइसकेका छन् । तर आंशिक शिक्षकका नाममा आफ्ना व्यक्ति भर्ती गरिएको भन्दै विद्यार्थीले विरोध गरेका छन् । अनावश्यक शिक्षक, कर्मचारीको भार विश्वविद्यालयले धान्न नसक्ने उनीहरूको भनाइ छ ।

विश्वविद्यालयका पदाधिकारी भने सम्बन्धित विद्यापीठलाई दोष लगाएर उम्कने गरेका छन् । विद्यापीठहरूले विज्ञापनबिना पदपूर्ति गर्नु गलत भएको विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले बताए । प्रक्रिया नपुर्‍याएर गरिएका नियुक्ति बदर गरी विज्ञापन खोलेर मात्र पदपूर्ति गर्न पत्र लेखिसकिएको उनले बताए । ‘केही विद्यापीठमा विज्ञापनै नगरी नियुक्ति दिएको जानकारी पाएपछि तत्काल पत्र लेखी रोक्न निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘विज्ञापन गरी केन्द्रीय कार्यालयबाट तोकिएका विज्ञहरूबाट मात्रै छनोट गर्न भनेका छौं ।’

केन्द्रीय कार्यालयबाट पत्र लेखिए पनि नियुक्त गरिएका प्राध्यापकहरूले भने काम गर्न छोडेका छैनन् । अझै पनि छुट्टै हाजिरी रजिस्टर बनाएर काममा लगाइएको छ । शिक्षाध्यक्ष ढकालले भने हाजिर गराए पनि त्यसले मान्यता नपाउने दाबी गरे ।

विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले पनि विद्यापीठहरूले प्रक्रिया मिचेको बताए । गलत तरिकाले भएका काम रोक्न निर्देशन दिइसकेको उनको भनाइ छ । ‘कार्यकारी परिषद्बाट आवश्यक परेका विद्यापीठमा आंशिक शिक्षक राख्न सकिने निर्णय भएको थियो,’ उनले भने, ‘तर, अहिले परिषद्लाई थाहै नदिई नियुक्ति भएको रहेछ । त्यसलाई रोकेर प्रक्रियाअनुसारै काम गर्दै छौं ।’

प्रकाशित : आश्विन ५, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?