कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कागती र खुर्सानी घरघरै

जितेन्द्र साह

विराटनगर — बिहान ५ बजे एक हँसिला व्यक्ति सेतो छडीको भरमा व्यापार गर्न निस्कन्छन् । घरपसलमा धागोमा उनेर कागती/खुर्सानी बेच्छन् । ११ बजे डेरा फर्केर खाना खान्छन्, एक क्षण आरामपछि सार्वजनिक सवारी चढेर करिब ४ किमि टाढाको सीमावर्ती जोगवनी पुग्छन् । त्यहाँबाट उनले कपडा ल्याएर विराटनगरका बजारमा बेच्छन् ।

कागती र खुर्सानी घरघरै

बाल्यकालदेखि नै दृष्टिविहीन विराटनगर ६, सरोचियाका ४० वर्षीय चिरञ्जीवी शर्माको दैनिकी यसैगरी चलेको छ । उनी २ छोराछोरी र पत्नीसाथ डेरामा बस्छन् । परिचित होऊन् वा अपरिचित, अद्भूत मुस्कानसाथ संवाद थाल्छन् । शिष्टाचार र सम्मानमा कमी राख्दैनन् ।

‘कामले घर चलेकै छ,’ उनले भने, ‘अहिलेसम्मको जीवनलाई सन्तोष नै भन्नुपर्‍यो ।’ १५ वर्षअघि मुढा र कुचो बनाउने तालिम लिए पनि व्यावहारिक कठिनाइले नसकेको उनले बताए । ‘कोसिस त गरेँ तर सकिएन, अहिलेको पेसामा लागेँ,’ उनले भने । कसैको आँखा नलागोस् विश्वाससाथ महानगरवासीले उहिलेदेखि शनिबार र मंगलबार बिहान मूलढोकामा उनेको खुर्सानी र कागती झुन्ड्याउने चलन छ ।

बिहानीको डुलाइले शरीर स्वस्थ रहने र आम्दानी पनि हुने भएकाले स्वविवेकले छनोट
गरेको उनको यो व्यवसायले पनि १२ वर्ष पूरा गरेको छ । ‘हुन त हामी यस्ता कुरालाई अन्धविश्वास भन्छौं,’ तीनपैनी चोकका व्यवसायी सन्तोष थापाले भने, ‘तर यो व्यापारले शर्माजीलाई छाक टार्न सहज भएको छ ।’ चियाखाजा व्यवसायी उनी शर्माको कागतीखुर्सानीका नियमित ग्राहक पनि हुन् ।

स्थानीयले राम्रो साइतका लागि छनोट गरेका दिन श्निबार र मंगलबार मात्र शर्मा यी सामग्री बेच्छन् । शर्माले भने, ‘लगानी काटेर दैनिक ३ सय रुपैयाँ जति बचत हुन्छ ।’ यो सहज काम होइन । बिहान ५ बजे घरबाट निस्केका उनी ६ घण्टापछि फर्कन्छन् ।‘नगद र उधारोमा बरोबरी कारोबार हुन्छ, ग्राहक आफैं सम्झेर दिन्छन्,’ उनले भने, उनकी पत्नी किरणले घरमै सिलाइबुनाइ गर्छिन् । शर्मा परिवारले ७ हजार रुपैयाँ कोठा भाडा तिर्छन् । २ छोराछोरीको पढाइमा मासिक ४ हजार रुपैयाँ खर्चिन्छन् । शर्मा दम्पतीका छोरा ओमप्रकाश १० र छोरी सुस्मिता कक्षा ८ मा पढ्छन् ।

‘महँगीमा खर्च टार्न कठिन छ, दिनभरि घरमा बसेर हुन्न,’ उनले सुनाए । समय बचे शनिबार र मंगलबार पनि तथा साताका अन्य ५ दिन त अनिवार्य रूपले जोगवनी बजारबाट कपडा ल्याएर विराटनगरमा बिक्री गर्छन् । बूढाबूढीले मासिक कमाउने औसत २५ हजार रुपैयाँ घरायसी खर्चमै सकिन्छ ।

बाआमाको श्रमले छोराछोरी र समाज पनि दंग छन् । ‘बुबा आँखा देख्नेहरूभन्दा कम हुनुुहुन्न, एकसरो लुगा र चप्पलमा दिनरात मिहिनेत गर्नुहुन्छ,’ सुस्मिताले भनिन्, ‘एउटा बाआमाले दिने सबथोक पाएका छौं, उहाँहरूमाथि गर्व छ ।’ २०५८ मा बिहे भएका शर्मा दम्पती सामान्य लेखपढ मात्र जाने पनि स्वाभिमानसाथ बाँचेकोमा खुसी लागेको छिमेकी बताउँछन् ।

८ जनाले पाउनुपर्ने ठाउँमा एक जनाले मात्र सहयोग सामग्री पाइरहेको राष्ट्रिय अपांग महासंघ प्रदेश १ का अध्यक्ष राम कार्की बताउँछन् । महानगर, नगर, गाउँपालिका वा अपांगसँग सम्बन्धित संस्थाको सिफारिस र परिचयपत्रसहित आउनेलाई सेतो छडी उपलब्ध गराइने विराटनगरस्थित क्षेत्रीय मेडिकल स्टोरका प्रमुख
भरत शाहले बताए । सरकारले पहिलोपटक यसपटक स्टोरमा ५० सेतो छडी पठाएको हो । संघसंस्थाको मागअनुरूप मोरङ र पाँचथरमा २० सेतो छडी वितरण गरिएको शाहले बताए ।

विराटनगर आँखा अस्पतालले पनि समुदायमा आधारित पुन:स्थापना कार्यक्रमअन्तर्गत सन् २०१३ देखि बर्सेनि १० दृष्टिविहीनलाई प्राविधिक एवं आर्थिक सहयोग गर्दै आएको छ । मुख्य त गाउँपालिका क्षेत्रबाट वास्तविक दृष्टिविहीन पहिचान गरी उनीहरूको पारिवारिक पृष्ठभूमि बुझेर सहयोग गर्दै आएको अस्पतालका प्रबन्धक कुमार पृथु बताउँछन् । ‘सहज जीवनयापनका लागि छडीसँगै आत्मनिर्भर तालिम तथा व्यवसाय सुरु गर्न निब्र्याजी ऋण दिन्छौं,’ उनले भने । दृष्टिविहीनहरू परिवारमाथि भार नबनुन् भनेर दिइने यो नि:शुल्क तालिममा सबैभन्दा पहिले सामान्य ढंगले नित्य कर्म र दैनिक काम गर्न सिकाइन्छ ।

प्रकाशित : आश्विन ५, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?